२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने



अ+ अ-

मलेखु (धादिङ), २२ मङ्सिर : नागढुङ्गा–मलेखु सडक खण्ड एक साताको लागि आंशिक बन्द हुने भएको छ । सडक कालोपत्र गरी स्तरोन्नति गर्ने कामलाई गति दिन नागढुङ्गा–मुग्लिन सडक आयोजनाले यही मङ्सिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म दैनिक पाँच घण्टा यातायात आवतजावत बन्द गर्न लागिएको हो ।

सडक आयोजनाले निकालेको सूचना अनुसार नागढुङ्गाबाट पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा बिहान १०ः३० बजेदेखि दिउँसो ३ः३० बजेसम्म आवागमन बन्द हुनेछ । यो समयमा वैकल्पिक सडक प्रयोग गरिदिन र यात्रा समयलाई यो समयभन्दा अगाडि वा पछाडि व्यवस्थापन गर्न सडक आयोजनाले आग्रह गरेको छ ।

त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे सडकखण्ड कालोपत्र गरी स्तरोन्नति सम्पन्न हुने चरणमा छ । काठमाडौँ जिल्ला भित्रपर्ने नागढुङ्गा पिप्लामोड खण्ड कालोपत्र उच्च प्राथमिकतामा राखिएको छ । यसैगरी धादिङको गल्छी–गजुरी खण्ड पनि साँघुरो र जोखिमपूर्ण रहेकाले पोखरेभिर क्षेत्रमा सडक चौडा गर्नुपर्ने आयोजनाले जनाएको छ । एकै पटकमा धेरै गह्रौँ उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने र त्यसबेला दुर्घटनाको जोखिम बढ्ने भएकाले आंशिक रूपमा सडक बन्द गरेर काम गर्न लागिएको नागढुङ्गा मुग्लिङ सडक आयोजनाका इन्जिनियर केशव ओझाले जानकारी दिनुभयो ।

यो समयमा नागढुङ्गा–पिपलामोड खण्डको लागि काठमाडौँतर्फबाट आउने सवारीलाई नागढुङ्गा चेकपोस्टमा र गल्छीबाट काठमाडौँतर्फ जाने सवारीलाई खानीखोला र जुँगेखोलामा रोकिनेछ । गल्छी–गजुरी खण्डको लागि नौबिसेतर्फबाट आउने सवारीलाई गल्छी बैरेनी, मासटार र मुग्लिनतबाट नौबिसेतर्फ आउने सवारीलाई मलेखु क्षेत्रमा रोकिने सडक आयोजनाले जारी गरेको सूचनामा उल्लेख छ ।

अत्यावश्यक अवस्थामा साना तथा मझौला गाडीले सीतापाइला–भिमढुङ्गा–रामकोट–धार्केको सडक प्रयोग गर्न सक्नेछन् । सामाखुसी–टोखा–छहरे हुँदै गल्छी निस्कने र जरेखेतबाट त्रिशूलीको पूल तरेर घाटबेसीको पूल निस्कने वैकल्पिक बाटो पनि प्रयोग गर्न सक्नेछन् । एम्बुलेन्स, सुरक्षा निकायका गाडी, दमकल, शव वाहनजस्ता अत्यावश्यक गाडी भने ट्राफिक प्रहरीको सहजीकरणमा चल्न सक्नेछ ।रासस