गण्डकी। नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले इजरायल नेपालसँग श्रम सहकार्य विस्तारका लागि इच्छुक रहेको बताउनुभएको छ ।
पोखरामा आज सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा उहाँले इजरायल र नेपाल सरकारबीच थप श्रम समझदारीका विषयमा छलफल भइरहेको बताउनुभयो ।
राजदूत बासले ‘केयर गिभिङ’, कृषिलगायतका क्षेत्रमा नेपालीलाई थप रोजगारीका अवसर उपलब्ध गराउन पहल भइरहेको बताउनुभयो । ‘केयर गिभर’का रुपमा नेपाली श्रमिकले इजरायलमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उहाँको भनाइ थियो । राजदूत बासले श्रम, रोजगारीसँगै कृषि, पर्यटन, सूचना–प्रविधिलगायत क्षेत्रमा दुई देशबीचको सहकार्यमा जोड दिनुभयो ।
सन् २००१ देखि सञ्चालनमा रहेको ‘सिक्दै, कमाउँदै’ कार्यक्रमअन्तर्गत कृषि विषयमा अध्ययनरत नेपाली विद्यार्थीले व्यावहारिक र सीपमूलक प्रशिक्षणको अवसर पाइरहको उहाँले बताउनुभयो । उक्त कार्यक्रममार्फत विद्यार्थीले केवल सैद्धान्तिक ज्ञान मात्र नभई आधुनिक कृषि प्रविधिको प्रत्यक्ष अनुभवसमेत प्राप्त गर्ने गरेको उहाँको भनाइ थियो । उक्त कार्यक्रममार्फत इजरायल पुगेका नेपाली युवाहरूले कृषि क्षेत्रमा ज्ञान, सीप र अनुभव हासिल गर्दै उल्लेखनीय प्रगति गरिरहेको राजदूत बासले बताउनुभयो ।
इजरायलले आफ्नो प्रविधि र अनुभव विकासशील देशहरूसँग साझेदारी गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको राजदूत बासले बताउनुभयो । उहाँले पर्यटन क्षेत्रमा पनि नेपाल–इजरायलबीच सहकार्य भइरहेको बताउनुभयो । पछिल्लो समय नेपाल भ्रमणमा आउने इजरायली पर्यटकको सङ्ख्या वृद्धि भएको उल्लेख गर्दै राजदूत बासले पोखरा–दुबई सिधा उडान सुरु भएपछि पर्यटक आगमनमा थप वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल र इजरायलबीच सिधा हवाई उडान सेवा सञ्चालनको सम्भावनाबारे पनि छलफल भइरहेको राजदूत बासले बताउनुभयो । प्रकृति र संस्कृतिले धनी रहेको नेपालले इजरायली पर्यटकलाई आकर्षित गरिरहेको उहाँले बताउनुभयो । उहाँले आफूपनि यसअघि पाँच पटकसम्म पोखराको भ्रमणमा आएको सुनाउनुभयो । रासस











