काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेनजी’ आन्दोलनका अगुवाले राख्नुभएका विषयलाई सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताउनुभएको छ । उहाँले कतिपय सवाल सम्बोधन गर्न पहलकदमी लिइने बताउनुभयो ।
आज गृह मन्त्रालयमा ‘जेनजी’ अगुवासहित भएको छलफलमा मन्त्री अर्यालले आन्दोलनको जगमा बनेको सरकारले ‘जेनजी’ को भावना प्रतिकूल हुने कुनै निर्णयबारे सोच्नसमेत नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “जेनजी भाइबहिनीले उठाउनुभएका मागमा हाम्रो ध्यानाकर्षण भइरहेकै छ । मन्त्रालय र मातहतका निकाय अझै बढी जिम्मेवार र सजग ढङ्गबाट प्रस्तुत भइरहेको छ । जायज माग सम्बोधन गर्न हामी सधैँ तयार नै छौँ ।”
मन्त्री अर्यालले भदौ २३ र २४ गतेका घटनालाई सरकारले एउटा ‘लेन्स’बाट मात्र नहेरेको भन्दै सबै पक्षको आवाजअनुसार निष्पक्ष रूपमा काम गरिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सरकारले एकपक्षीय रूपमा मात्रै सुन्नुहुँदैन । सबैका जायज कुरा सुनिरहेका छौँ । सबै नवपुस्तालाई मेरो आग्रह पनि छ, आफूले गल्ती नगरेको भए प्रहरी प्रशासनलाई अनुसन्धानमा सघाएर अघि बढौँ । पक्राउ परेकाहरूका विषयमा सरकारले आवश्यक अनुसन्धान गर्दैछ । त्यसमा को कति निर्दोष छ भन्ने विषयमा अझै सत्यतथ्य बुझेर थप निष्कर्षमा पुग्नेछौँ ।”
‘जेनजी’ युवाहरूले देशैभर आन्दोलनमा उत्रेका कतिपयलाई पक्राउ गरिएको र कतिपयलाई मुद्दा लगाएर जेल चलान गरिएको भन्दै आन्दोलनकर्मीलाई अपराधीकरण नगर्न आग्रह गरेका थिए ।
छलफलमा ‘जेनजी’ अगुवाको तर्फबाट १० जना प्रतिनिधि, महान्यायाधिवक्ता सविता भण्डारी, गृह सचिव रामेश्वर दङ्गाल तथा नेपाल प्रहरी प्रमुख दानबहादुर कार्की र मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका पदाधिकारीको उपस्थिति रहेको थियो । रासस










