१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’

पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’
फाइल फोटो
अ अ+ अ-

पोखरा। तीन दशकअघि मङ्सिर-पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने नेपालीमा खासै घुम्ने बानीको विकास भइसकेको थिएन ।

जाडोको मौसम व्यवसायीले ‘अफ सिजन’ भन्दै अन्त घुम्न जाने सोच बनाउँथे । कोही गोवा पुग्थे त कोही थाइल्याण्ड, तर अचेल समय बदलिएको छ । उही जाडो मौसम हो, तर अचेल यहाँको अवस्था भने नितान्त फरक छ । पर्यटन व्यवसायीलाई पात्रोमा अङ्ग्रेजी नयाँ वर्ष थपिँदा उत्साह पनि थपिन्छ । त्यसमा पोखरा सडक महोत्सवले रौनक थप्छ ।

यस वर्ष उक्त महोसत्वको २७ औँ संस्करण हुँदैछ । आगामी २०८२ पुस १३ देखि १७ गतेसम्म (डिसेम्बर २८–जनवरी १) आयोजना हुने महोत्सवको तयारीमा रेष्टुरेण्ट एण्ड बार एसोसियसन नेपाल (रेवान) जुटीसकेको छ । विगतमा झै यस संस्करणको सडक महोत्सवले पनि पोखरालाई ‘गुल्जार’ बनाउँदै छ ।

आयोजकले महोत्सवलाई सभ्य, भव्य र व्यवस्थित बनाउन सरोकार भएकाहरूसँगको परामर्शलाई तीव्र बनाएका छन् । २७ वर्षअघि यस्तो महोत्सवको परिकल्पना गर्ने अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई भने आफ्नो पहलको निरन्तरताले मख्ख हुनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “तीन दशकअघिसम्म जब डिसेम्बर लाग्थ्यो, विदेशीहरू क्रिसमस मनाउन घर फर्कन्थे र पोखराको लेकसाइड सुनसान हुन्थ्यो । त्यो समयमा ‘अफ सिजन’ भन्दै सटर तानेर हामी व्यवसायी पनि भारतको गोवा वा थाइल्याण्ड जाने प्रचलन थियो ।”

भट्टराई मनस्पटलमा अझै एउटा घटना ताजै छ । “सन् १९९६ मा तत्कालीन राजा वीरेन्द्रले जाडोको समय लेकसाइडको सुनसानप्रति देखाएको चासो र गोवामा देखेको त्यो ‘फुड एण्ड कल्चर’ को महोत्सवले मेरो धारणा बदल्यो । जसको फलस्वरूप हामीले सन् १९९८ मा बसुन्धरा पार्कबाट वेटर रेस र हस्तकला प्रदर्शनीसहित एउटा प्रयासको थालनी ग¥यौंँ । त्यो प्रयास २७औँ संस्करणमा आइपुग्दा पोखराको ‘ब्रान्ड’ बनेको छ ।”

उहाँ सडक महोत्सवले विदेश जाने पर्यटकलाई पोखरामै रोकेर नयाँ वर्ष मनाउने वातावरण बनाएको र विदेशीसँगै नेपालीमा पनि घुम्ने बानीको विकास गराएको बताउनुहुन्छ । परिवर्तित समयसँगै महोत्सवलाई केवल नाचगान र खानपानमा सीमित नराखी जाति, धर्म संस्कृतिबीचको सहिष्णुता र सद्भावलाई विकास गर्दै कृषि, हस्तकला, प्रविधि र मौलिक उत्पादनलाई महोत्सवसँग जोडेर बृहत ‘एक्स्पो’ का रूपमा रूपान्तरण गर्नुपर्ने भट्टराईको धारणा छ ।

“महोत्सव भनेपछि मनोरञ्जन भन्ने कुरा ठान्ने गरिन्छ, तर हामीले विगतदेखि नै यसलाई बदल्ने प्रयास गरिरहेका छौँ । स्थानीय उत्पादनदेखि विदेश निर्यात गर्ने सामग्रीलाई महोत्सवबाट प्रवर्द्धन गर्न सकिने र यसले समग्र राष्ट्रिय अर्थतन्त्रलाई नै चलायमान बनाउने हाम्रो विश्वास छ”, उहाँले भन्नुभयो, “सडक महोत्सव केवल रमाइलो मेला मात्र होइन, यो पोखराका पर्यटन व्यवसायीको सामूहिक एकता, दूरदर्शीता र अथक प्रयासको जीवित इतिहास हो ।”

रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल पर्यटनमा सङ्कट आउने अवस्थामा यस महोत्सवले ‘सञ्जीवनी’ को काम गरेको बताउनुहुन्छ । “सशस्त्र द्वन्द्व, भूकम्प, कोरोना महामारी र पछिल्लो समयको जेनजी आन्दोलन होस् वा आर्थिक मन्दी, हामीले हरेक विषम परिस्थितिमा पनि महोत्सव रोकेनौँ । यसले ‘पोखरा सुरक्षित छ र बाह्रैमहिना खुला छ’ भन्ने सन्देश विश्वभर प्रवाह गर्न सफल भयौँ । यसपटक पनि दिगो पर्यटनको परिकल्पनासहित तीन दशमलव पाँच किलोमिटर सडकलाई उत्सवमय बनाउँदै छौँ”, उहाँले भन्नुभयो ।

महोत्सवका संयोजक तथा रेवानका प्रथम उपाध्यक्ष वसन्त गौतमले पोखरालाई एउटा खुला सङ्ग्रहालयको रूपमा प्रस्तुत गर्ने प्रयासलाई थप प्रभावकारी बनाउन तयारी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो,“फिस्टेल गेटदेखि जरेवरसम्मको सडकमा सवारी निषेध गरी सडकमै राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिकारको स्वाद लिन पाइनेछ । सडकमा देखाइने लोपोन्मुख सांस्कृतिक झाँकी र मौलिक नाचले पर्यटकलाई नेपालका विभिन्न संस्कृति बुझ्ने अवसर मिल्नेछ । महोत्सवलाई अङ्ग्रेजी नयाँ वर्ष गन्तव्यको रूपमा स्थापित गर्न सक्दो प्रयास गरिरहेका छौँ ।”

रेवान महासचिव वीरेन्द्र शेरचन महोत्सव केवल रमाइलोका लागि मात्र नभइ ग्रामीण अर्थतन्त्र उकास्ने माध्यम पनि बनेको बताउनुहुन्छ । “गाउँमा उत्पादन हुने कृषिउपज, सुन्तला र हस्तकलाका सामग्रीले महोत्सवमा बजार पाउँछन् । पर्यटन चलायमान भए देशकै अर्थतन्त्र चलायमान हुन्छ ।”

शेरचनका अनुसार महोत्सवमा नेपालका विभिन्न जातजातिका लोपोन्मुख झाँकी, वेषभूषा र नृत्य, चर्चित राष्ट्रिय कलाकारहरूको लाइभ कन्सर्ट, लोक दोहोरी, बोट रेस, वेटर रेस, टग अफ वार र पर्यटक लक्षित खेल र पोखराको पर्यटनका अवसर र चुनौतीबारे विज्ञहरूसँग विमर्श र वृत्तचित्र प्रदर्शनी हुनेछन् ।