२७ भाद्र २०८३, शनिबार
,
Latest
भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत भोटेकोशी बाढीः जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी देशका समस्या र जनताका एजेण्डाले अग्रगामी मोर्चा बन्योः जनार्दन शर्मा सरकारको गलत काम रोक्न नयाँ राजनीतिक मोर्चाः प्रभु साह अनलाइनबाटै अदालत शुल्क तिर्न सकिने लामो सैद्धान्तिक बहसभन्दा निर्णयउन्मुख बहस आवश्यकः प्रधानन्यायाधीश शर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तराईमा होलीको माहोल



अ+ अ-

जलेश्वर । मिथिलाञ्चलको महाकुम्भको रुपमा चर्चित १५ दिने माध्यमिकी परिक्रमाका यात्रुले कञ्चनवनमा स्नान गरेर रङअबिर खेलेसँगै मिथिलाञ्चलमा आजदेखि विधिवत् होली शुरु भएको छ । त्रेतायुगमा रामसीताले कञ्चनवन पुगेर रङअबिर खेलेका विश्वासमा यात्रीले फागु पर्वको शुरुवात गर्ने परम्परा छ । हिजो कञ्चनवन आएको परिक्रमाका यात्रीले आज बिहान कञ्चनवनमा स्नान गरेर रङअबिर खेलेसँगै मिथिलाञ्चलमा आजदेखि विधिवत् रुपमा होली शुरु भएको मानिन्छ ।

१५ दिने माध्यमिकी परिक्रमाअन्तर्गत सातौँ दिनको बासस्थान कञ्चनवनमा भगवान रामचन्द्र र माता सीताको डोला र मूर्तिलाई एकापसमा रङ र अबीरले होली खेलाइएको छ भने परिक्रमामा सहभागी हजारौँ साधुसन्त महात्मा र गृहस्थ परिवार गरी सम्पूर्ण परिक्रमा यात्रीसमेतले एकापसमा रङ अबीर साटासाट गर्दै होली पर्वको शुरुआत गरेको हो । भगवान् तथा साधुसन्त र महात्माले होली पर्वको शुरुआत गरिसकेको कुरालाई लिएर आज बिहानै मिथिलाञ्चलको गाउँगाउँ तथा घरघरमा पनि रङ अबीरको प्रयोग शुरु भएको छ ।

यसैगरी होलीको आगमनसँगै प्रत्येक वर्षझैं यस वर्ष पनि आजै बेलुकादेखि मिथिलाञ्चलको गाउँगाउँमा होलीका गीत नाच, गान, हाँसो ठट्टा र ब्यङ्गात्मक कविता तथा चुटकिला गाउने, देखाउने र प्रस्तुत गर्ने कार्यको समेत शुभारम्भ हुनेछ । परापूर्वकालमा भगवान् रामचन्द्र र माता जानकी वनवास गएको दिनमा महोत्तरीको कञ्चनवनमा नै होली पर्व मनाएको बेला सो ठाउँको माटो रातो भएको र सोही ठाउँ भएर बग्ने नदीको पानी पनि रातो भएको जनविश्वास छ ।

मिथिलाञ्चलका साधुसन्त महात्मा र गृहस्थ परिवार भगवानले वनवास गएको दिनलाई सम्झिँदै १५ दिने परिक्रमा गर्दछन् भने परिक्रममा कै क्रममा भगवानले होली पर्व खेलेको सम्झिँदै सम्पूर्ण परिक्रमा यात्री पनि होली पर्व मनाएका छन् । धनुषाको हनुमानगढीमा गत आइतबार परिक्रमाका लागि भगवान् रामचन्द्र र माता जानकीको डोला र परिक्रमायात्री जम्मा भई आजदेखि भारतको कलार्णेश्वरबाट शुरु भएको परिक्रमा यात्रा १५ दिनमा जनकपुरमा पुगी समाप्त हुनेछ ।

महोत्तरीको कञ्चनवनमा सातौँ दिनको बासा त्याग गरेर आज बिहान होली मनाउँदै सम्पूर्ण परिक्रमायात्री आठौँ दिनको बासका लागि धनुषाको पर्वता पुग्ने भएका छन् ।