१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल



अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार, प्रमुख राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा प्रमुखहरूको संयुक्त बैठकले निर्वाचनको वातावरण थप बलियो बनेको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सर्वपक्षीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले संयुक्त बैठक उपलब्धिपूर्ण रहेको र यसले निर्वाचनको माहोल तयार गरेको उल्लेख गर्नुभयो ।

सञ्चारमन्त्री खरेलले भन्नुभयो, “संयुक्त बैठकपछि निर्वाचनमा जाने बाटो अझ बलियो बनेको छ । निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने वातावरणको सुनिश्चित भएको छ ।”

यसअघिका बैठकहरू द्विपक्षीय र त्रिपक्षीय हुँदै आएकामा निर्वाचनसँग सरोकार भएका सबै सरोकारवालासँग एकै थलोमा भएको बैठक र छलफलले निर्वाचनको माहोल बनेको उहाँको भनाइ छ ।

मन्त्री खरेलले सरकारका तर्फबाट खासगरी संयुक्त सुरक्षाको कार्ययोजना र रणनीति तयार गरी कार्यान्वयनको चरणमा रहेको जानकारी दिँदै यसैमा केन्द्रित रहेर सम्भावित सुरक्षा चुनौती र व्यवस्थापकीय सरोकारबारे गहन ढङ्गले छलफल भएको बताउनुभयो ।

“विगतका निर्वाचनहरूमा जेजस्ता चुनौतीहरू देखिएका थिए, ‘फेक न्यूज’, ‘मिस इन्फरमेसन’, ‘डिसइन्फरमेसन’बारे खुलेर कुराकानी भएको छ”, उहाँले भन्नुभयो, “यी सवालमा सुरक्षा निकायका प्रमुखहरूले सुरक्षा चुनौतीको सामना गर्ने तयारी तथा निर्वाचनको सुरक्षाको सम्पूर्ण वातावरण बनाउन सरकारको प्रतिबद्धता पनि आएको छ । केही दलले सुरक्षालगायतको वातावरण बनाउन चासो देखाएका छन्, सरकार त्यसप्रति सचेत छ ।”

मन्त्री खरेलले पछिल्लो समय सरकारले निर्वाचनको वातावरणका लागि संवादलाई निरन्तरता दिएको, जनता उत्साहित भएको र राजनीतिक दलहरू पनि निर्वाचनको माहोल बनाउन केन्द्रित रहेको बताउनुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारले जेनजी सहिद र घाइते परिवारको सरोकारका विषयलाई विशेष प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।

फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको सन्दर्भमा आज सरकार, प्रमुख राजनीतिक दलहरू, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूबीच संयुक्त बैठक भएको हो । रासस