६ असार २०८३, शनिबार
,
Latest
पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन



अ+ अ-

धनुषा। मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।

नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुवैले मधेस प्रदेशमा सरकारको नेतृत्वमा दाबी नछाडेपछि सात राजनीतिक दलबीच सहमति कायम हुन नसकेको हो ।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको बैठक बसे पनि सहमति जुट्न नसकेको हो ।

जनकपुधामस्थित प्रदेशसभा सचिवालयमा भएको बैठकमा सात दलका नेता तथा प्रदेशसभा सदस्यहरूको उपस्थित रहेको लोसापाका सांसद उपेन्द्र महतोले जानकारी दिनुभयो । मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनल मुख्य दाबेदार देखिनुभएको छ । यादव र सोनल दुवैले विभिन्न दलहरूसँग संवाद पनि अघि बढाउनुभएको छ ।

मधेस प्रदेश कांग्रेस संसदीय दलका प्रमुख सचेतक कुँवरकान्त झाले अन्य सबै दलले सरकारको नेतृत्व सम्हालिसकेकाले अब कांग्रेसको दाबी स्वाभाविक भएको बताउनुभयो । “प्रदेश प्रमुखले आह्वान गर्नुभएपछि अब सातै दल बसेर नेतृत्वको विषयमा टुङ्गोमा पुग्ने छौँ, कांग्रेसको नेतृत्वमा अब खासै विवाद नहोला,” झाले भन्नुभयो ।

लोसपाका सोनलले यसअघि माओवादी केन्द्र र जनमत पार्टीको चलखेलका कारण आफूले विश्वासको मत प्राप्त नगरेको भन्दै अब सबै मिलेर पुनः आफूलाई मौका दिनुपर्ने बताउनुभयो ।

जसपा नेपालका मधेस प्रदेश प्रमुख सचेतक रामआशिष यादवले मुख्यमन्त्रीमा कसलाई समर्थन गर्ने भन्नेमा औपचारिक सहमति नभएको बताउनुभयो । जसपाका प्रमुख सचेतक यादव पाँच वर्षमा पाँच जना मुख्यमन्त्री बनाउँदा धेरै नकारात्मक सन्देश जाने भएकाले अब सरकार बनाउँदा सात दल एक हुनुपर्ने धारणा राख्नुभयो ।

लोसपाकी नेत्री एवं प्रदेशसभा सदस्य रानी शर्मा तिवारी भने लोसपा नेतृत्वमा बनेको सरकारले विश्वासको मत पाउन नसकेर ढलेका कारण अहिलेको नयाँ कोर्स त्यहीँबाट सुरु हुनुपर्ने बताउनुहुन्छ ।

दलहरूबीच सहमति जुट्न नसक्दा बैठक बिना निष्कर्ष टुङ्गिएको जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवले जानकारी दिनुभयो । यादवले कांग्रेस र लोसपालाई छुट्टै बसेर सहमति गर्न समय दिएको बताउनुभयो । उहाँले आजै अबेर राति भए पनि सात दलको बैठक बस्ने जानकारी दिनुभयो ।

प्रदेश प्रमुख सुरेन्द्र लाभले संविधानको धारा, १६८ को २ बमोजिम शुक्रबार ५ बजेसम्म सरकारका लागि दाबी पेस गर्न समयसीमा निर्धारण गर्नुभएको छ । प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभा बैठकमा  राजीनामा दिनुभएको थियो ।रासस