काठमाडौं। नेपाल प्रीमियर लिग(एनपीएल)को २२ औं खेलमा लुम्बिनी लायन्सले जित निकालेको छ ।
भर्खरै सम्पन्न खेलमा लुम्बिनीले विराटनगर किङ्सलाई ५ विकेटले हराएको हो। १४५ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो ।
उसका लागि डी’आर्की शर्टले अर्धशतकीय इनिङ्स खेले । उनले सर्वाधिक ५७ रनको योगदान दिए । यस्तै, सन्दीप जोराले २४, निरोशन डिकवेलाले अविजित २९ रन बनाउँदा दिलिप नाथले १४ रन जोडे ।
वलिङतर्फ विराटनगरका सन्दीप लामिछाने र सुवाश भण्डारीले दुई-दुई तथा बसिर अहमदले एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको विराटनगरले २० ओभरमा ८ विकेटको क्षतिमा १४४ रन जोड्यो । उसका लागि लोकेश बमले ३५, बसिर अहमदले २८, साम हिजलेटले २७, फाफ डु प्लेसिसले १२ रन जोडे ।
वलिङतर्फ लुम्बिनीका शेर मल्लले तीन तथा जोनाथन स्मित, अभिशेष गौतम र रुबेन ट्रम्पलमानले एक-एक विकेट लिए ।
जितसँगै लुम्बिनीले प्लेअफको सम्भावना कायमै राखेको छ । विराटनगरको ६ खेलमा चार जितका साथ ८ अङ्कसहित तेस्रो स्थानमा छ भने लुम्बिनी ६ खेलमा तीन जितसहित छ अङ्कका साथ चौथो स्थानमा उक्लिएको छ ।










