२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कहाँ छ १ खर्ब १६ अर्ब ?



अ+ अ-

काठमाडौं । सरकारले वातावरणीय सुधार, सडक मर्मत र पूर्वाधार विकासका नाममा उपभोक्ताबाट अर्बौं रुपैयाँ असुल्दै आए पनि त्यसको उचित उपयोग हुन सकेको छैन । उपभोक्ताले सडक मर्मत, पूर्वाधार विकास र प्रदूषण नियन्त्रण करका लागि पेट्रोलियम पदार्थमा प्रतिलिटर १६ रुपैयाँ ५० पैसा तिर्दै आएका छन् । तर, सरकारले सो रकम लक्षित क्षेत्रमा खर्च गर्न नसक्दा सडकको अवस्था दयनीय छ भने वातावरण प्रदूषणसमेत रोकिएको छैन । प्रतिलिटर १६ रुपैयाँ ५० पैसा कर तिर्दा पनि रकमको उपयोग भएको अनुभूति गर्न नपाएपछि उपभोक्ता सरकारसँग रुष्ट हुँदै आएका छन् ।

नेपाल आयल निगमका अनुसार आव २०७२/७३ देखि चालू आवको १५ माघसम्म सडक मर्मत, पूर्वाधार विकास र प्रदूषण नियन्त्रण कर १ खर्ब १६ अर्ब ७९ करोड २५ लाख ३६ हजार ८ सय ३४ रुपैयाँ संकलन भएको छ । सडक मर्मतका नाममा सरकारले वर्षैदेखी पेट्रोलिय पदार्थमा प्रतिलिटर ४ रुपैयाँ उठाउँदै आएको थियो । प्रदूषण नियन्त्रण र पूर्वाधार विकासका नाममा आर्थिक वर्ष २०७२/७३ बाट कर उठाउन थालिएको थियो । प्रदूषण नियन्त्रणका नाममा प्रतिलिटर १ रुपैयाँ ५० पैसा उठाइन्छ भने पूर्वाधार विकासका नाममा प्रतिलिटर १० रुपैयाँ उठाउने गरिएको छ ।उपभोक्ताले एक लिटर पेट्रोलबापत १६ रुपैयाँ ५० पैसा करका रूपमा तिर्नुपर्छ ।

यी कर नअसुलिने हो भने उपभोक्ताले हाल प्रतिलिटर ९१ रुपैयाँ ५० पैसामा पेट्रोल किन्न पाउँथे । सडक मर्मत प्रदूषण नियन्त्रणका लागि उपभोक्ताबाट जति कर असुलिए पनि सडकका खाल्टाखुल्टी र वातावारण प्रदूषणको अवस्था उस्तै छ । पूर्वाधार विकासका नाममा प्रतिलिटर ५ रुपैयाँ संकलन हुँदै आएकामा गत साता थप ५ रुपैयाँ वृद्धि गरी १० रुपैयाँ बनाइएपछि उपभोक्ता झनै पीडित भएका छन् । नेपाल आयल निगमका अनुसार सडक मर्मतका नाममा २०७२(७३ देखि चालू आर्थिक वर्षको १५ माघ सम्ममा ६० अर्ब ७१ करोड १८ लाख ९० हजार ८६९ रुपैयाँ संकलन भएको छ । यसैगरी, पूर्वाधार विकासका नाममा ४० अर्ब ९२ करोड २० लाख ९ हजार २ सय ३७ रुपैयाँ संकलन भएको छ ।

यस्तै, प्रदूषण नियन्त्रणका नाममा १५ अर्ब १५ करोड ८६ लाख ३६ हजार ७ सय २८ रुपैयाँ संकलन भएको छ । नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले पेट्रोलियम पदार्थबाट उठाउने कर निगमले संकलन मात्र गर्ने बताए । संकलन भएको सबै रकम अर्थ मन्त्रालयलाई बुझाइँदै आइएको उनले बताए । साहले भने, ‘हामीले पेट्रोलियम पदार्थबाट उठेको सबै कर अर्थ मन्त्रालयलाई बुझाउने हो । अर्थ मन्त्रालयले केमा खर्च गर्छ, थाहा हुँदैन ।’

राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले विभिन्न नाममा पेट्रोलियम पदार्थमा कर लगाएर उपभोक्तामाथि आर्थिक बोझ थपिएको बताए । अध्यक्ष महर्जनले भने, ‘सरकारले जुन रूपमा पूर्वाधार विकास र प्रदूषण नियन्त्रण कर उपभोक्ताबाट लिँदै आएको छ, यसबाट जताततै चिल्ला सडक र प्रदूषणमुक्त सहर देखिनुपर्ने हो तर त्यस्तो अवस्था छैन ।’ अध्यक्ष महर्जनले सरकारले अनावश्यक रूपमा उठाउँदै आएको कर कुन क्षेत्रमा लगानी भएको छ, यसको पारदर्शी रूपमा लेखाजोखा गरिनुपर्ने बताए । राजधानी दैनिक