२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुठीका जग्गा मातहत ल्याउन सुरु



अ+ अ-

काठमाडौं । थापाथलीस्थित कुरियागाउँमा बनेको लक्ष्मीनारायणको मन्दिर र त्यस वरपरको करिब साढे तीन रोपनी गुठी जग्गा गुठी संस्थान मातहत ल्याउने प्रक्रिया सुरु भएको छ ।मन्त्रिपरिषद्ले गुठी संस्थानलाई सो जग्गा मातहत ल्याउन आदेश दिएपछि व्यक्तिले हड्पेको जग्गा सस्थान मातहतमा ल्याउने प्रक्रिया सुरु भएको सस्थानका प्रवक्ता सरोज थपलियाले जानकारी दिए । काठमाडौं महानगरपालिका–११ मा रहेको मन्दिर र गुठी जग्गालाई पुरानै स्वरुपमा फर्काउन संस्थान लागिपरेको छ । सयौँ वर्ष पुरानो पुरातात्विक महत्वको मन्दिरमा हाल स्थानीयवासी प्रवेशमा समेत रोक लगाइएको छ ।

मन्दिर र यस वरपरको जग्गा पूर्वराजा वीरेन्द्रका चालक (पाइलट) गोपाल श्रेष्ठ हुँदै हाल उहाँकी श्रीमती इन्दिरा श्रेष्ठ र पछि उनका छोरा जयपाल श्रेष्ठका नाममा नामसारी भएको थियो । श्रेष्ठ परिवारले वर्षौंदेखि मन्दिर र त्यस वरपरको जग्गा निजी विद्यालय सञ्चालनका लागि भाडामा दिँदै आएको छ । यहाँ भिएस निकेतन, मेरी पपिन्स हुँदै हाल त्रैविद्या शिक्षा सदन भाडामा बस्दै आएका छन् । त्रैविद्या शिक्षा सदन गत वैशाखदेखि यहाँको टहरामा भाडामा बसेको प्रधानाध्यापक संगीता श्रेष्ठले जानकारी दिइन् । करिब साढे तीन रोपनी जग्गा केही महिनामै संस्थान मातहतमा ल्याइने प्रवक्ता थपलियाले बताए ।

संस्थानमा राजगुठीको लगत भएको सो जग्गा मालपोत कार्यालय वीरगञ्जबाट राजीनामा पास गरी श्रेष्ठ परिवारका नाममा आएको थियो । सयौँ वर्षदेखि मन्दिरमा प्रवेश गर्दै आएका स्थानीयवासी बिहान–बेलुका जान नपाउँदा दुःख लागेको बताउँछन् । २००० मा व्रतबन्ध गर्दा आफू दर्शन गर्न लक्ष्मीनारायण मन्दिरमा गएको स्थानीय वृद्ध मुकुन्द आचार्य सम्झन्छन् । ‘त्यसबेला मन्दिर सार्वजनिक थियो, वरपर चौर थियो, त्यहाँ हामी साँझ–बिहान खेल्थ्यौँ, मन्दिरमा दर्शन गथ्र्यौं, पछि मनोहरशम्शेरले गोपाल श्रेष्ठलाई नौ हजारमा बेचेको सुनियो, मन्दिर र यस वरपरको जग्गा सार्वजनिक भएकाले यसलाई जोगाउनुपर्छ’, उनले भने ।

यो मन्दिर ऐतिहासिक घटनासँग सम्बन्धित रहेको पुरुषोत्तमशमशेरले लेख्नुभएको पुस्तक ‘श्री ३ हरूको तथ्य वृत्तान्त’ नामक पुस्तकमा समेत उल्लेख छ । लखनऊ लुटका नामले चर्चित भारतीय घटनामा त्यहाँका राजा रणजीत सिंह मुसलमानको आक्रमणमा परे । उनकी रानीले बचाउन भनी तत्कालीन राणा शासक जङ्गबहादुरसँग हारगुहार मागिन् । जंगबहादुरले रानीलाई ल्याएर थापाथलीस्थित प्रसूतिगृह नजिकै राखे । तिनै रानीले राजस्थानी शैलीमा लक्ष्मीनारायण मन्दिर बनाएको विषय पुरुषोत्तमशमशेरले पुस्तकमा उल्लेख गरेको संस्कृतिको अध्ययन अनुसन्धानमा लागेका चेतोनाथ शर्मा आचार्यले जानकारी दिए ।

पुस्तौँदेखि बिहान–बेलुका मन्दिरमा पूजाआजाका लागि प्रवेश गरिरहेका स्थानीयवासीलाई एकाएक रोक्न थालेपछि यसका विरुद्ध केही मानिस संगठित भए । यो विषय गुठी संस्थानसम्म पुग्यो । संस्थानले मन्दिर र त्यस वरपर रहेको जग्गा गुठीको हो भन्ने तथ्य प्रमाण फेला पारेको थियो । मन्दिरको अघि सानो पोखरी थियो । पोखरीमा जलमाथि सुत्नुभएका नारायणको मूर्ति राखिएकामा अहिले त्यो संरचनासमेत हटाइएको छ । पोखरीमा कमल फुल्थ्यो । त्यही कमलको फूल लक्ष्मीनारायण मन्दिरमा चढाइन्थ्यो । यो परम्परासमेत लोप भएको छ ।

मन्दिर वरिपरिको जग्गामा ०२३÷२४ तिर क्याप्टेन गोपालले निर्माण गरेकोे जस्ताको टहरा हावाले उडाएको चेतोनाथको स्मरणमा अझै ताजा छ । मन्दिरमा निर्बाध आउजाउ गर्न पाउनुपर्ने माग गर्दै स्थानीयवासी पूर्णलाल, अश्लेचन, लगायतका स्थानीयवासी, सर्वमंगल युवा समूहका सदस्य सचिव अर्जुन अधिकारी, सम्पदा संरक्षण उपभोक्ता समितिका अध्यक्ष सुशान्त श्रेष्ठलगायत मन्दिर संरक्षणमा जुटिरहेका छन् । यहाँबाट पारि ललितपुर सामान वारपार गरिने भएकाले करिया गाउँ भनिन्थ्यो ।

भीमसेन थापाले हाल नेपाल कला परिषद् भएको स्थानमा दरबार बनाएपछि यो ठाउँलाई थापाथली भन्न थालिएको विषय पुरुषोत्तमशमशेरले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । अवशेषका रुपमा थापाको दरबारको मूल ढोका २०६५ सम्म आफूले देखेको अधिकारीले सुनाए । जंगबहादुर राणाको पुख्र्यौली घरसमेत थापाथलीमै थियो । थापालाई राणाले यहाँबाट हटाएपछि कुरियागाउँ भन्न थालिएको स्थानीयवासी बताउँछन् । मन्दिरमा संस्थानले नियुक्त गरेका पुजारीले नै पूजा गर्दै आएका छन् । सौर्य दैनिक