१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी अस्पतालको निर्माणाधीन भवनको काम समयमै सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन



फाइल फोटो
अ+ अ-

विराटनगर। सहरी विकासमन्त्री कुलमान घिसिङले कोशी अस्पतालको निर्माणाधीन भवनका काम तत्काल सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

आज अस्पतालको अवस्थाबारे जानकारी लिँदै उहाँले भवन निर्माण नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको गुनासोपछि सम्बद्ध पक्षलाई समयमै भवन निर्माणका लागि निर्देशन दिनुभएको हो । “भवन निर्माण नहुँदा अस्पतालको सेवा नराम्ररी प्रभावित भइरहेको छ । यस जो –जसले ढिलाइ गरायो, बाँकी कार्य समयमै नसके कारबाहीको भागिदार हुनुपर्नेछ”, मन्त्री घिसिङले भन्नुभयो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रुणा झाले नयाँ भवन निमार्णकार्य सुरु हुनासाथ पुराना भवन भत्काइएको तर नयाँ संरचना समयमै नबन्दा ओपिडी, भर्ना र विशेष सेवा सञ्चालनमै समस्या आइरहेको बताउनुभयो । उहाँका अनुसार अस्थायी कक्ष र पुराना कोठामा सेवा दिनुपर्दा बिरामी चाप व्यवस्थापन निकै चुनौतीपूर्ण बनेको छ ।

मेडिकल सुपरिटेण्डेन्ट डा झाले भन्नुभयो,“विसं २०७९ पुसमा रु दुई अर्ब ४६ करोडमा भएको सम्झौताअनुसार भवन ३६ महिनाभित्र बनिसक्नुपर्ने थियो, तर म्याद सकिन अब एक महिनामात्र बाँकी छ । ठेकेदारले हालसम्म रु ७४ करोड ९८ लाख भुक्तानी लिए पनि कामको प्रगति सुस्त छ । ७५९ शय्याका दुई भवन निर्माण भइरहेका छन्, हाल अस्थायी संरचनाको भरमा सेवा दिँदै आएकाले समस्या छ ।”

सहरी विकास मन्त्रालय मातहतको भवन निर्माण कार्यालय मोरङमार्फत ठेक्का दिइएका संरचनामध्ये ५०० शय्याको मेडिकल भवन ३५ प्रतिशतमै रोकिएको छ । यसैगरी, २५९ शय्याको इसियु–सर्जिकल–न्यूरो भवन निर्माणको भौतिक प्रगति ५० प्रतिशत छ । सम्झौता म्याद गत कात्तिकमै सकिए पनि ठेकेदारले म्याद थप माग्दै काम रोकिरहेको अस्पताल प्रशासनले जनाएको छ ।

सोही समस्यालाई मध्यनजर गर्दैै मन्त्री घिसिङले अस्पताल प्रशासन र निर्माण व्यवसायीसँग छलफल गर्दै तीन सिफ्टमा काम अघि बढाउन, नियमित अनुगमन गर्न र ढिलाइ गर्ने पक्षलाई कारबाही गर्न निर्देशन दिनुभएको छ ।रासस