काठमाडौँ । पूर्वजलस्रोतमन्त्री दीपक ज्ञवालीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था नेपालका लागि घातक हुने टिप्पणी गर्नुभएको छ ।
शनिवार जेन–जी एलाईन्स फर मोनार्कीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो शासन व्यवस्था आए मुलुक नरहनसक्ने अवस्था आउने चेतावनी समेत दिनुभयो । जलस्रोतविद् समेत रहनुभएका ज्ञवालीले सो शासन व्यवस्था ल्याउने प्रश्ताव राख्नेहरुले मुलुकलाई निरंकुशतामा धकेल्ने प्रयास गरिरहेको जिकिर गर्नुभयो । उहाँले सो शासन व्यवस्थाको बहसमा खरो ढंगले उत्रन आवश्यक रहेको पनि औँल्याउनु भयो ।
पूर्वमन्त्री ज्ञवालीले भन्नुभयो, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी । त्यो जतिको खतरनाक नेपालमा केही पनि हुँदैन । त्यो लेण्डुपदोर्जे र जेलेन्सकी जन्माउने प्रपञ्च हो । अप्रत्यक्ष हँुदा त देखिहाल्नु भयो– कस्ता कस्ता रहेछन यहाँ ओली र देउवा । अव प्रत्यक्ष भएको भएदेखि त के गर्थे होलान । यिनी त जेलेन्सकी र लेण्डुपदोर्जे हुन्थे होला । यिनीहरुले भारतमा लगेर मिसाईदिउँ भने कसैले बोल्ने ठाउँ नै हुने थिएन । चाहिएको के हो भने यहाँ शक्ति पृथकीकरण र चेक एण्ड ब्यालेन्सलाई कसरी बलियो बनाउने हो । नेपालमा स्थिर सरकार आउनका लागि अरु नै उपायहरु छन । यसले स्थिर सरकार ल्याउँदैन, निरकंशता जन्माउँछ । यो बहसमा हामी अघि बढि नै ओर्लनुपर्ने हुन्छ । नत्र देशनै हिँडने स्थिति आउन सक्छ ।’
त्यस अवसरमा पूर्वमन्त्री ज्ञवालीले केपी ओली र शेरबहादुर देउवाहरुले नै मुलुकलाई कमजोर बनाएको आरोप समेत लगाउनु भयो ।









