काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तबीच पुनः एकता हुने भएको छ । पटक पटक जुट्दै र फुट्दै आएका कमल थापा नेतृत्वको राप्रपा र पशुपती शमसेर राणा नेतृत्वको राप्रपा संयुक्त एकताको नजिक पुगेका हुन् । विगतदेखी दिनदेखी एकताका लागि सक्रिय भएका दुई पार्टीबीच अधिकाशं विषयमा कुरा मिलेको बताइएको छ । नेकपाकै जस्तो गरी उनिहरुले महाधिवेशनसम्म तीन अध्यक्ष रहने व्यवस्था गर्न लागेका छन् । वैकल्पिक राजनीतिक शक्तिको आवश्यक्तालाई ध्यानमा राखेर एकता हुन लागेको नेताहरुको दाबी छ ।

एउटै एजेण्डा भएपनि फरक फरक रुपमा जनतामा जाँदा मुद्दा कमजोर भएको भन्दै एकीकरण गर्न लागिएको नेताहरुको भनाई छ । महाधिवेशनसम्म कमल थापा, पशुपति शमसेर राणा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहने तथा पार्टीको झण्डा र निर्वाचन चिह्न महाधिवेशनले टुंगो लगाउने गरी प्रारम्भिक सहमती भएको एक नेताले जानकारी दिएका छन् । एकवर्ष भित्र महाधिवेशन गर्ने र सोही महाधिवेशनबाट सम्पुर्ण विषय टुंगो लगाउने गरी एकताको खाका समेत तयार भएको स्रोतको दावी छ ।
सहमती बन्न बाँकी बिषयमा अध्यक्षहरु बसी समाधानको पहल गर्ने र एकताको मिति चाँडै सार्वजनिक गर्ने तयारी भईरहेको छ । पछिल्लो समय २०७३ मंसिरमा एक भएको राप्रपा तत्कालिन सरकारमा सहभागीताको बिषयमा बिवाद हुँदा २०७४ साउनमा बिभाजित भएको थियो । त्यस्तै २०७५ साल माघमा छुट्टै रहेको डा. लोहनी नेतृत्वको राप्रपा र राणा नेतृत्वको पार्टीले एकता गरी राप्रपा संयुक्त बनाएका थिए । सौर्य दैनिक











