४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

जेनजी आन्दोलनका शहिदः कहिल्यै भरिने छैन भट्ट परिवारको रिक्तता

जेनजी आन्दोलनका शहिदः कहिल्यै भरिने छैन भट्ट परिवारको रिक्तता
अ+ अ-

काठमाडौँ । कीर्तिपुर पाँगा दोबाटोस्थित माइक्रोपार्कसँगै जोडिएको घरबाटभित्र छिर्ने साँघुरो गल्ली छ । थोरै मात्र अघि बढ्ने हो भने एउटा सानो होटल देखिन्छ । शनिबार बिहान १० बजेतिर पुग्दा केही ग्राहक यहीँ बसेर चियाको चुस्की लिइरहेका थिए । गोर्खाली होटल भनेर चिनिने यो होटलमा दुई वटा टेबल र चार वटा बेन्च छन् । एकातिर दिउरेमा चिया उम्लिरहेको छ, अर्कोतिर प्रेसरकुकरमा खानाको सिटी लाग्दैछ । होटलमा व्यस्त हुनुहुन्छ, जानुका भट्ट ।

भित्तामा मुसुक्क हाँसिरहेको युवकको तस्बिर टाँगिएको छ, दुई वटा फ्रेममा । उहाँ हुनुहुन्छ, २८ वर्षीय अर्जुन भट्ट । जेनजी आन्दोलनका शहिद । वैदेशिक रोजगारीका लागि उहाँले देश छाडेको १६ महिना मात्रै हुँदै थियो । दुबईको अत्यधिक गर्मी र कामको चापका कारण त्यहाँ टिक्न सक्नुभएन र फर्किनुभयो गत असारमा ।

दुबईबाट फर्किएको केही समयपछि उहाँको जन्मदिन थियो, असार १७ गते । साथीभाइलाई बोलाएर भव्य जन्मदिन मनाउनुभयो । हँसिलो स्वभावका उहाँ परिवारका साथै साथीभाइका लागि निकै प्यारो हुनुहुन्थो । “सबै उमेर समूहसँग उहाँ चाँडै घुलमिल हुन्थ्यो । साथीहरु पनि धेरै थिए उसका,” आमा जानुका भन्नुुहुन्छ ।

करिब सात वर्षअघि जन्मदिनमा साथीहरु मिलेर उपहारस्वरुप खैरो कुकुर अर्जुनलाई दिएका थिए । उसको नाम अर्जुनले नै राख्नुभएको थियो, लिची । अर्जुनसँगै बढी झ्याम्मिन्थ्यो । खेल्थ्यो, रमाउँथ्यो अनि काखमा लुटुपुटु गथ्र्यो । अहिले लिची पनि उदास झैँ देखिन्छ । उसलाई धेरै माया गर्ने अर्जुन यो संसारमा हुनुहुन्न । बेलाबेला बाहिरतिर कसैलाई हेरिरहेको हुन्छ । लाग्छ, यो निर्दोष प्राणी अर्जुनकै प्रतीक्षामा छ ।

स्नातकसम्म अध्ययन गर्नुभएका अर्जुनले फर्केर पढाइलाई निरन्तरता दिन सक्नुभएन । न त यहाँ भनेजस्तो रोजगारी नै पाउनुभयो । उहाँका एकजना दाइ अभिलाख यहीँ हुनुहुन्छ भने एक दिदी विवाहपछि श्रीमान्सँग जापानमै बस्नुहुन्छ । दिदीले भन्नुभएको थियो, “दुबईभन्दा जापान राम्रो छ भाइ, पहिले राम्ररी भाषा सिक्नु र आउनु ।”

दिदीको प्रस्ताव र परिवारको साथले उहाँ उत्साहित हुनुभयो । जापानी भाषा अध्ययनतिर लाग्नुभयो र भाषा परीक्षामा उत्तीर्ण पनि हुनुभयो । परिवारका अनुसार आउँदो फागुनमा उहाँ बिहे गर्ने सोचमा पनि हुनुहुन्थ्यो ।

२५ वर्षअघि राजधानी छिरेको थियो भट्ट परिवार

अर्जुनको मूल घर गोरखाको गण्डकी गाउँपालिका–४ फुजेल हो । गाउँमा भट्ट परिवारको आफ्नै खेतीपाती थियो । बस्तुभाउ थिए । छरछिमेक, आफन्त र गाउँको वातावरणमा रमिरहेका उहाँहरुलाई नपुग्दो केही थिएन । तर छोराछोरीको भविष्य सम्झेर राजधानी आएको बताउनुहुन्छ, बुबा चित्रबहादुर । “आफू हुर्केको गाउँ छाडेर बिरानो शहर छिर्न मन थिएन तर छोराछोरीको शिक्षादीक्षा र भविष्य राम्रो हुन्छ कि भनेर यता आइपुग्यौँ,” उहाँ भन्नुहुन्छ ।

विसं २०५७ सालमा परिवारसहित काठमाडौँ छिर्नुभएका चित्रबहादुरले केसम्म गर्नुभएन । तरकारी बेच्नुभयो, कीर्तिपुरस्थित एक विद्यालयमा कार्यालय सहायकका रूपमा काम गर्नुभयो, पछि होटल व्यवसाय सुरु गर्नुभयो । आजभन्दा २५ वर्षअगाडि सपनाको शहर छिरेको भट्ट परिवारका सुरुआती दिन निकै कहरिला थिए, जतिबेला अर्जुन मात्र तीन वर्षको हुनुहुन्थ्यो ।

कालिमाटीबाट आएको त्यो खबर

जेनजीहरुले गर्ने भनेको आन्दोलनमा सहभागी हुनेबारे अर्जुनले परिवारसँग पनि कुरा गर्नुभएको थियो । “२८ वर्ष उमेरसम्मका युवाहरुको आन्दोलन हो, देश परिवर्तनका लागि हामी पनि जानुपर्छ” भनेर पटकपटक उहाँ कुरा गर्नुहुन्थ्यो ।

गत भदौ २३ गते बिहानै उहाँ घरमा बुबा–आमालाई भनेर नै साथीहरुसँग आन्दोलनमा सरिक हुनुभयो । राजनीतिक बेथिति र भ्रष्टाचारविरुद्ध माइतीघरबाट सुरु भएको आन्दोलन बानेश्वर पुगेपछि त्यसले अर्कै रूप लियो । प्रहरीले पानीको फोहोरा र अश्रुग्यास मात्रै होइन, गोली नै बर्साउन थाल्यो । बेलुकासम्म काठमाडौँमा मात्रै २१ जनाले ज्यान गुमाएका थिए, जसमा अर्जुनसँगै कीर्तिपुरबाट जानुभएको उहाँकै साथी पनि हुनुहुन्थ्यो ।

ठूलो सङ्ख्यामा हताहती भएपछि सर्वत्र आक्रोश थियो । आफ्नै साथी मारिएपछि अर्जुन पनि बेचैन हुनुहुन्थ्यो । भोलिपल्ट कीर्तिपुरका साथीहरु भेला भएर जाने निर्णय गरिसक्नुभएको रहेछ । आमा जानुकाले पटकपटक ‘नजा बाबु’ भनेर रोक्न खोज्नुभयो । तर किशोर वयको उर्लिँदो जोसलाई कसले रोक्न सक्ने रु उहाँ साथीसँगै कीर्तिपुरबाट हिँड्नुभयो । “एक घण्टामा आइपुगिहाल्छु भनेर पकाएको खाना पनि नखाई निस्किएको थियो,” जानुका सुनाउनुहुन्छ ।

अघिल्लो बेलुकादेखि नै काठमाडौँमा कफ्र्यु जारी भएकाले सर्वत्र सन्त्रास थियो । अर्जुन निस्किने बेला पनि छतमा उभिएर आमा हेरिरहनुभएको थियो । काँधमा नेपालको झण्डा ओढेर अर्जुन साथीहरुसँग अघि बढिरहनुभएको थियो । टोलीमा उहाँका दाइ अभिलाख पनि हुनुहुन्थ्यो ।

अर्जुन २४ भदौ गते दिउँसो घरबाट निस्कँदा करिब १ बजेको थियो । त्यसको एक घण्टापछि नै घरमा फोन आयो, नमीठो र अपत्यारिलो खबर लिएर । “कालीमाटीमा भएको प्रदर्शनमा अर्जुनको टाउकामा गोली लाग्यो” भन्ने सुन्नासाथ जानुकालाई भन्नुभयो । शरीर चिसो भएर आयो । अर्धबेहोस अवस्थामै अस्पताल जान खोज्नुभयो तर कफ्र्युका कारण गाडी चलेको थिएन ।

उहाँलाई छोरालाई भेट्ने तीब्र इच्छा भएपछि छोराको साथीले स्कुटीमा राखेर बल्खुस्थित बयोधा अस्पताल पु¥याए । अस्पतालमा भीड थियो । उहाँलाई आफ्नै छोरालाई पनि हेर्न दिइएन । “म पनि भाइसँगै कालिमाटी गएको थिएँ, गोली लाग्दा ५०० मिटर टाढा भएकाले भाइलाई नै गोली लागेको देख्न पाइनँ,” रसिलो आँखा बनाउँदै अभिलाखले भन्नुभयो, “एकैचोटि अस्पताल दौडाउँदा भाइ पनि परेको रहेछ भन्ने पछि थाहा पाएँ । सँगै गएको भाइलाई गुमाउनुप¥यो ।”

अभिलाख र अर्जुनबीच दुई वर्षको मात्रै अन्तर छ । “दाजुभाइभन्दा पनि धेरै साथीजस्तो थियौँ,” उहाँ सम्झिनुहुन्छ, “सँगै गेम खेल्ने, सँगै सुत्ने गथ्र्यौँ ।” भिडियो गेममा बढी रुचि राख्ने अर्जुन बढीजसो पब्जी खेल्नुहुन्थ्यो । अभिलाखलाई त्यही सम्झना बढी आउँछ । “यही घरको भ¥याङमा हामी दुबै जना बसेर पब्जी खेल्थ्यौँ,” भ¥याङतिर देखाउँदै उहाँ भन्नुहुन्छ ।

आमा जानुकालाई भने खाना खाने बेलामा अर्जुनको धेरै याद आउँछ । “गेममा झुन्डिराख्ने बानी भएकाले उसलाई खाना खाने समय पनि पत्तो हुँदैनथ्यो,” उहाँ भन्नुहुन्छ, “कहिलेकाहीँ मै खाना खुवाइदिन्थेँ ।” दिनभर साथीभाइसँग रमाएर साँझ घर फर्कँदा अर्जुन ‘मम्मी’ भन्दै आइपुग्नुहुन्थ्यो । अहिले पनि जानुकालाई यही याद आइरहन्छ । “मम्मी भन्दै आई पो हाल्छ कि भन्ने लाग्छ । राति घरको ढोका बज्दा, कसैको आवाज आउँदा छोरो नै आएजस्तो लाग्छ,” अश्रुपूरित आँखामा उहाँ भन्नुहुन्छ, “जे भए पनि मेरो कान्छो छोरो हो नि, मायाले हुर्काएको । कहिले पो बिर्सन सक्छु र ।”

जानुका अर्को समस्याबाट पनि गुज्रिरहनुभएको छ । गालामा ट्युमर पलाएकाले चिकित्सकले बेलैमा शल्यक्रिया गर्नुपर्छ भनेका छन् । निजी स्वास्थ्य संस्थामा धेरै खर्च हुने भएकाले सरकारी अस्पताल नै जाने उहाँको विचार छ । “तर पालो आउनै समय लाग्ने रहेछ । समयमा उपचार नगराए कान हुँदै टाउकोसम्म ट्युमर पुग्छ भनेको छ,” उहाँ सुनाउनुहुन्छ ।

परिवारमा रिक्तता

अर्जुनका दाइ अभिलाख पनि वैदेशिक रोजगारीमा जाने सोचमा हुनुहुन्थ्यो । जेनजी आन्दोलपछिको अवस्था र भाइ नै गुमाएपछि उहाँको मनस्थिति बिथोलिएको छ । सरकारले जेनजी शहिदका परिवारलाई रोजगारी दिने आश्वासन दिएकाले केही आशावादी भने देखिनुभएको छ ।

सरकारले क्षतिपूर्ति र राहतस्वरुप परिवारलाई रु १५ लाख दिएको छ । अर्जुनको नाम शहिदको सूचीमा नामाङ्कित पनि भएको छ । बुबाको सहारा अनि रित्तिएको आमाको काख कसैले भर्न सक्ने छैन । “मेरो छोरो १५ लाखको थियो त ?” जानुका मलिन आवाजमा बोल्नुहुन्छ, “१५ करोड नै दिए पनि छोरा त फर्किएर आउँदैन नि ।”

बुबा चित्रबहादुरको चाहना छ, छोराजस्ता नौजवानले बगाएको रगतले अर्थ राखोस् । उनीहरुको बलिदान खेर नजाओस् । देश बस्नलायक बनोस् । सबैले रोजगारी पाऊन् । कलिलैमा कसैले विदेश जानु नपरोस् । भट्ट परिवारमा यतिबेला यस्तो रिक्तता छाएको छ, जुन कहिले भरिने छैन । बुबा चित्रबहादुरले भनेजस्तै त्यतिबेला मात्रै परिवारले राहतको महसुस गर्नेछ, जतिबेला राज्यबाट भ्रष्टाचार अन्त्य हुनेछ । राजनीतिक बेथिति अन्त्य भई सुशासन स्थापना र रोजगारी सिर्जना हुनेछ । रासस