काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले पहिलो हार ब्यहोरेको छ ।
भर्खरै सम्पन्न खेलमा विराटनगरको विजयी यात्रामा चितवन राइनोजले पूर्णविराम लगाएको हो । जसमा चितवनले विराटनगरलाई ४८ रनले हरायो ।
१७५ रनको लक्ष्य पछ्याएको विराटनगर १६.५ ओभरमा १२६ रनमै अलआउट भयो ।
उसका लागि मर्चेन्ट डि लाङ्गले ३९ रन जोड्दा प्रतिश जिसीले ३० तथा साम हिजलेटले २२ रन बनाउँदा विराटनगरका अन्य ब्याट्सम्यान फ्लप सावित भए ।
विराटनगरलाई सस्तैमा समेट्न चितवनका रञ्जित कुमार एक्लैले पाँच विकेट लिए । यस्तै, कमल ऐरीले दुई तथा शोहेल तनविर, सैफ जइब र कुशल मल्लले एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १७४ रन जोड्यो । उसका लागि रवि बोपाराले सर्वाधिक ६५ रनको योगदान दिए । ३८ बल खेलेका उनले ४ छक्का र ३ चौका प्रहार गरे । यस्तै, सैफ जइबले ३२, देव खनालले २८, कुशल मल्लले २० रन जोडे ।
बलिङतर्फ विराटनगरका सन्दीप लामिछाने र मर्चेन्ट डी लाङ्गले दुई–दुई विकेट लिए भने शुभम रन्जानेले एक सफलता हात पारे ।










