१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा

गोरखनाथ मठको जग्गा अतिक्रमण

गोरखनाथ मठको जग्गा अतिक्रमण
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका–५ हाँडीगाउँमा मृगस्थली गोरखनाथ मठ गुठीबाट तैनाथी जोगीकुटी भनेर चिनिने जग्गा अतिक्रमण भएको छ । वरिपरिबाट मिचेर बाँकी रहेको दुई रोपनी पाँच आना जग्गामा पछिल्लो समय पाँच आना जोगीकुटीको उत्तरतर्फको जग्गा स्थानीय सुनिल कार्कीले अतिक्रमण गरी घर बनाउन थालेको मठले जनाएको छ । राजा रणबहादुर शाहको समयमा नाथ सम्प्रदायका योगीलाई बस्नका लागि जोगीकुटी नामको मठ पञ्चेधाराको उत्तरतर्फ स्थापना भएको थियो ।

शैवमार्गी नाथ सम्प्रदायका योगीलाई ध्यान, साधना गर्ने स्थलका रुपमा स्थापित गर्न गोरखनाथको मूर्तिसमेत राखिएको थियो । यहाँ पहिलोपटक नाथ सम्प्रदायका विशाखानाथले साधना गर्नुभएको थियो । जसलाई नाथ सम्प्रदायले पवित्र तीर्थस्थलका रुपमा मान्ने गरेका छन् ।

महानगरपालिका–५ हाँडीगाउँ सिट नं १०२६ को २४ को कित्ता नं ३६९ मा पछिल्लो समय दुई रोपनी पाँच आना अर्थात् ११७३.४३ वर्ग मिटर जग्गा कायम रहेको थियो । यही जग्गा पनि मिचिन थालेपछि जोगीकुटी भनेर चिनिने यस क्षेत्रको इतिहास मेटिन सक्ने खतरा देखिएको मठका महन्त योगी विश्वनाथले राससलाई जानकारी दिनुभयो ।

“आनाकै रु एक करोडभन्दा बढी पर्ने जग्गा पहुँचकै आधारमा मिचिन थालेको छ, जग्गा मिच्नेलाई पटकपटक मठमा बोलाएर जग्गा नमिच्न अनुरोध गरिए पनि वास्ता नै नगरी घर बनाउन थालेका छन्, अब हामी अदालत जाने तयारी गरिरहेका छौँ”, उहाँले भन्नुभयोे ।

विसं २०६७ सम्म मठको पूर्वतिरको सडक सानो थियो । २०६८ सालमा पर्खाल लगाएर सडक ठूलो बनाउँदासमेत मठको जग्गालाई एकतर्र्फी पेलिएको छ । मठको पाँच आना जग्गा मिच्ने कार्कीको घरको उत्तरतिर सडक भए पनि बाटोका लागि भन्दै मठ अतिक्रमण गरेको स्थानीयवासीले बताए ।

ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्व बोकेको योगीकुटीको जग्गा अतिक्रमण हुँदा महानगरपालिका–५ ले रोक्न पहल नगरेको महन्त विश्वनाथले बताउनुभयो । वडाध्यक्ष रमेश डङ्गोल आफूले जग्गा मिचिएको स्थलको स्थलगत अनुगमन गरी कानूनी सल्लाहको प्रक्रियामा रहेको बताउनुहुन्छ ।

“कार्कीले गुठी संस्थानसँग किनेको भनी भर्पाई देखाए, संस्थानसँग किनेको भने पनि स्थलगतरुपमा कित्ताकाट नगरिएकाले कानूनीरुपमा जग्गा उनको हुन सक्दैन, त्यो जग्गा मठकै हो, कानूनी सल्लाहपछि यस विषयमा हामी अघि बढ्छौँ”, उहाँले भन्नुभयो ।

यही स्थलको रेखदेखका लागि भनी विसं २०६७ मा स्थापना भएको श्री गोरखनाथ मठ तथा पञ्चेधारा संरक्षण समिति नेपालले समेत यस विषयमा नबोल्दा उदेक लागेको महन्त विश्वनाथले सुनाउनुभयो । समितिका अध्यक्ष महेन्द्र रेग्मी पनि त्यो जग्गा गुठीकै भएको बताउनुहुन्छ ।

मठको पाँच आना जग्गा मिचेर घर निर्माण शुरु गरेको आरोप लागेका कार्की भने आफूले घर बनाउन लागेको नभई फलामको खम्बा राखेर तार जालीले घेर्न लागेको बताउनुहुन्छ । “विसं २०३० मा मेरी आमा उमादेवी कार्कीले योगी नरहरिनाथसँग पाँच आना जग्गा किन्नुभएको हो, यो कागजात मैले गुठी संस्थान शाखा कार्यालय काठमाडौँ शाखा र वडा कार्यालयमा पनि पेश गरेको छु”, उहाँले भन्नुभयो ।

रणबहादुर शाहको पालामा बनेको कुटी कमाण्डर इन चिफधीरशम्शेरका पालामा जीर्णोद्धार गरिएको मठमा रहेको शिलापत्रमा उल्लेख गरिएको ‘हाँडीगाउँ : एक परिक्रमा’ पुस्तकमा लेखक डा यज्ञनाथ आचार्यले उल्लेख गर्नुभएको छ । कुटीको अचल सम्पत्तिका रुपमा वरिपरि धेरै जग्गा भए पनि मिचिएर सीमित हुन पुगेको प्रसङ्ग पनि उहाँले पुस्तकमा लेख्नुभएको छ ।

नाथ सम्प्रदायका योगी नरहरिनाथ विसं २०१५ र २०१६ मा यही कुटीमा बस्नुभएको थियो । यहाँपछि उहाँ पशुपतिस्थित मृगस्थलीको गोरखनाथ मठमा गएर बस्नुभएको हो । यसै कारण हाल पनि मृगस्थलीस्थित गोरखनाथ मठ र यहाँको कुटीबीच राम्रो सम्बन्ध छ । कुटीको रेखदेख एवं योगीको व्यवस्था मृगस्थलीस्थित गोरखनाथ मठबाट नै हुँदै आएको छ ।