१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा

यस्तो अनौठो छ भक्तपुरको होली

यस्तो अनौठो छ भक्तपुरको होली
अ अ+ अ-

रमेश गिरी, भक्तपुर । भक्तपुरको तचपाल दत्तात्रयस्थित भीमसेन मन्दिरमा दलिनमा पुरुष लिङ्गको प्रतीकस्वरुप काठ झुड्याइएको छ । काठको बीचमा रातो योनी आकारमा प्वाल परेको कपडा पनि झुड्याइएको छ । योनी आकारको कपडामा काठको लिङ्ग छिराएर राखिएको छ, त्यसलाई हल्लाउँदा काठ कपडामा बाहिरभित्र गर्ने गर्छ । यो लिङ्ग जस्तो देखिने यसको टुप्पोमा थोरै कपास पनि झुण्ड्याइएको छ । यौनसम्पर्क गर्दा विर्यस्खलन भएकोे जस्तो देखिने गरी प्रतिकका रुपमा टुप्पोमा सेतो कपास झुण्ड्याइ राखिएको चित्र स्पष्ट देख्न सकिन्छ ।

भीमसेन गुठीले फागुन शुक्ल अष्टमीका दिन मन्दिरमा राखिएको तीन हात लामो ३० इञ्च मोटो काठबाट बनेको लिङ्ग र कपडाबाट बनेको योनी झुण्ड्याएर राख्ने परम्परा छ । यसलाई स्थानीयले महाभारतका पाँच पाण्डवमध्येका भीमसेनको लिङ्ग र द्रौपदीको योनीको प्रतिकका रुपमा लिने गरेको बताउँछन् ।

यो चित्र हेर्दा अश्लिलता प्रदर्शन गरेको जस्तो देखिए पनि भक्तपुरका बासिन्दा भने यसलाई धार्मिक मान्यताका रुपमा लिँदै आएका छन् । आज बिहानै भीमसेन र काठको लिङ्ग दर्शन गर्दै स्थानीय ६९ वर्षका विष्णुभक्त श्रेष्ठले भीमसेको लिङ्ग दर्शन गरेमा राम्रो हुने र व्यापार बढ्ने विश्वास रहेको बताउनुभयो । यो लिङ्गको दर्शन गर्न पुरुष मात्र हाइन महिलासमेत फागु पूर्णिमाको दिनसम्म हरेक दिन बिहान त्यहाँ पुग्ने गर्दछन् । स्थानीयवासी त्यहाँ जान्छन्, लिङ्गको दर्शन गर्छन् र भेटी चढाएर फर्किने गर्छन् ।

भक्तपुरका एक जना संस्कृतिकर्मी ओम धौभडेल भीमसेनको लिङ्ग र द्रौपदीको योनीको प्रतीकको दर्शन गरे व्यापार बढ्ने विश्वास रहेको बताउनुहुन्छ । उहाँले त्यतिबेला पनि यौन क्रियाकलापको आकर्षण थियो, त्यसमाथि वसन्तऋतुमा मानिसको मात्र नभई चराचुरुङ्गी र पशुपक्षीमा पनि कामवासना हुन्छ भन्ने विश्वासका आधारमा भक्तपुरको यो परम्परा परापूर्वकालदेखि नै चल्दै आएको बताउनुहुन्छ ।

लिङ्गको दर्शन गर्न आज बिहान मन्दिर पुग्नुभएकी माइली प्रजापतिले पनि यो आफूले थाहा पाएदेखि नै यसरी राख्ने गरेको बताउनुहुन्छ । परिवारको सबैमा राम्रो हुन्छ भनेर भेटी चढाएर दर्शन गरेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यसरी ढोग्दा सन्तानको सुख र दीर्घायु हुन्छ भन्ने सुनेको छु, पसल पनि राम्रो चल्छ नी ।” यो यौन समागमको प्रतिक मानिने कलात्मक चिह्न भक्तपुरको होली संस्कृति र जीवनशैलीसँग मात्र नभई प्रजनन स्वास्थ्यसँग पनि जोडिएको स्थानीयको भनाइ छ ।

केही वर्षअघिसम्म यो लिङ्गलाई भीमसेनको पाटीमा बाहिर झुण्ड्याउने गरिन्थ्यो र हरेक दिन बिहान भजन गाउँने गरिन्थ्यो । यसरी बाहिरै झुड्याउँदा महिलालाई हिँड्डुल गर्दा अप्ठ्यारो भएको गुनासो आएपछि केही वर्षयता मन्दिरमा ल्याइएको छ । हाल त्यसलाई मन्दिरको माथिपट्टि पहिलो तलामा झुन्ड्याउने गरिएको छ ।

उक्त मन्दिरमा लिङ्ग हेर्न आउने नेपाली नागरिकसँग १० रुपैयाँ र विदेशीसँग ५० रुपैयाँ शुल्क लिने गरिएको छ । भीमसेन मन्दिरमा यही लिङ्गको संरक्षण गर्दै आउनुभएकी पुजारी केशरी कपाली योे लिङ्गको संरक्षण गर्न गाह्रो भएको बताउनुहुन्छ । उहाँको भनाइ छ, गाह्रो भए पनि यो त यहाँको परम्परा हो, बचाइराख्नुपर्छ ।

उहाँ भन्नुहुन्छ, “यसको संरक्षणमा कसैले चासो दिएन, यो पर्व चलाउन न त भक्तपुर नगरपालिकाले सहयोग गरेको छ, न गुठी संस्थानले नै । यसको संरक्षणका लागि शुल्क तोके पनि शुल्क तिर्दैनन्, पूजा गरेर ढोगेर पाँच १० रुपैयाँ चढाएर जान्छन्, त्यसैको भरमा कसरी पर्व चलाउनु, परम्परा धान्न नै दिनप्रतिदिन गाह्रो हुँदै गएको छ ।”

यो लिङ्ग हरेक वर्ष संरक्षण गरेर राखेर पर्व चलाउनुपर्ने तर सहयोग भने कतैबाट नआएको गुनासो कपालीले गर्नुभयो । उहाँ लिङ्ग जोगिए पनि परम्परा भने जोगिएको छैन भन्नुहुन्छ । भीमसेनको पार्टीमा गाउने गीत, भीमसेनको लिङ्गलाई बजार डुलाउने परम्परा भने हराउँदै गएको उहाँ बताउनुहुन्छ ।

“भीमसेन देया लज खङ्गलो वानला ल्याँसे, बिस्युवाने म्वायक सो झायला”–अर्थात् “भीमसेनको लिङ्गले मन लोभियोकी, भाग्नु नपर्ने गरी हेर्न आउनु भएकी ।” भक्तपुरको दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा प्राय गाउने गरिएको यो गीत हिजोआज सुन्न छाडिएको स्थानीयको भनाइ छ ।

भीमसेन मन्दिरको पार्टीमा बसेर भीमसेन गुठीका गायजुले होली पर्व शुरु भएको दिनदेखि पूर्णिमासम्म यो गीत गाएर होलीको आगमन र बिदाइ गर्ने परम्परा अहिले एक किसिमले भन्नुपर्दा हराइसकेको छ । होली पूर्णिमासम्म सात दिनसम्म भक्तपुरमा चल्ने फागु अर्थात् होली पर्व हेर्न र सङ्गीतमा रमाउन स्थानीय सधैँ जम्मा भएर गाउने गीत हराएको स्थानीयको भनाइ छ ।

स्थानीय ७६ वर्षका रामप्रसाद प्रजापति भन्नुहुन्छ, “अहिले यहाँ होलीमा न गीत गाउँछन्, नत यहाँको होली परम्पराको संरक्षण नै भएको छ, यो परम्परा धान्न पनि निकै गाह्रो भएको छ, कसैले सहयोग गर्दैन, न नगरपालिकाले सहयोग गर्छ, न गुठी संस्थानले, यहाँ चढाएको पाँच, १० रुपैयाँले कसरी परम्परा धान्नु ।”

यो लिङ्गलाई दुई जनाले काँधमा बोकेर इनाचो, बाचुटोल, जेँला, जगाति, ब्रम्हायणी, च्यामासिंह हुँदै, तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर र पसलमा घुमाउने परम्परा पनि हराउन थालेको छ । यसरी टोलटोलमा ल्याएपछि भीमसेनको लिङ्गका रुपमा दर्शन गर्ने परम्परा छ । घर र पसलमा घुमाएको लिङ्गलाई भक्तजनले स्पर्र्श गरी ढोग्ने र दान दक्षिणा दिने गर्दछन् । यसरी घुमाउने वर्षौंदेखिको परम्परा लोप हुने र संस्कृतिमा विकृति पस्ने चिन्ता यहाँका बासिन्दालाई छ ।

“जीवनमा यौन अनिवार्य आवश्यकता हो, यौन अर्थात् यौनजन्य क्रियाकलाप त सिर्जना नै भएकाले भगवान्को पालामा पनि थियो र मान्छेको पालामा पनि छ । यौनको आवश्यकता किराफट्याङ्ग्रादेखि पशुपक्षीमा समेत छ । यौनविनाको जीवन अधुरो हुन्छ । भीमसेन मन्दिरमा परापूर्वकालदेखि चल्दै आएको यो परम्पराले यौनको महत्वलाई अझ फराकिलो पारेको छ”, स्थानीय ७१ वर्षीय मोहन श्रेष्ठ भन्नुहुन्छ ।

फागुपूर्णिमाको दिन साँझपख दत्तात्रय मन्दिर अगाडिको भीमसेनको मन्दिरबाट लिङ्ग निकाली एक व्यक्तिले बोकेर ब्रम्हायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनःमन्दिरमा राख्ने परम्परा छ । यसरी मन्दिरबाट खोलासम्म लिङ्ग बोकेर लैजाने व्यक्तिलाई त्यस वर्ष छोरा जन्मन्छ भन्ने जनविश्वास अहिलेसम्म पनि रहेकाले लिङ्ग बोक्न छोरा नहुनेको भीड लाग्ने गर्दछ । लिङ्ग पखालेर भीमसेन मन्दिरमा ल्याएपछि यस वर्षको होली समाप्त हुने गर्दछ ।

भीमसेनको मन्दिरको स्थापना १७औँ शताब्दीमा राजा जगतप्रकाश मल्ल निर्माण गरेको इतिहासमा उल्लेख छ । भक्तपुरको मौलिक शैलीको होलीको प्रचलन त्यही समयदेखि भएको अनुमान गरिएको छ । मल्लकालीन समयमा ने.स.७८१ र ७९२ मा लेखिएका होलीसम्बन्धी गीत पाइएका कारणले यसको थप पुष्टि हुने धौभडेल बताउनुहुन्छ । वसन्त ऋतुको आगमन फागुन महिनादेखि हुने भएको र यो समय यौन ऊर्जाको समय मानिने भएकाले पनि होली पर्वसँग यसको सम्बन्ध रहेको यहाँका संकृतिकर्मीको भनाइ छ ।