५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–श्रीलङ्का व्यापार र हवाई सेवा विस्तार गर्न चेम्बरको पहल



अ+ अ-

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र नेपालका लागि श्रीलङ्काका राजदूत रुवान्थी डेल्पितीयाबीच दुई देशबीचको व्यापार सहजीकरण तथा हवाई सेवा विस्तारका विषयमा आज काठमाडौँमा छलफल भएको छ ।

छलफलका क्रममा नेपाल–श्रीलङ्काबीचको ऐतिहासिक कूटनीतिक, सामाजिक, सांस्कृतिक तथा धार्मिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै व्यापार विस्तार र पर्यटन प्रवद्र्धनमा सहकार्य गर्नुपर्ने साझा धारणा बनेको चेम्बरले जनाएको छ ।

चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल–श्रीलङ्का व्यापारको वार्षिक औसत आकार करिब दुई दशमलव ५ मिलियन अमेरिकी डलर मात्र रहेको उल्लेख गर्दै दुई देशबीच व्यापार असन्तुलन रहेको जानकारी दिनुभयो । उहाँका अनुसार नेपालले एक दशमलव ४० मिलियन डलर बराबरका वस्तु आयात गर्दा निर्यात शून्य दशमलव ७० मिलियन डलरमै सीमित रहेको छ ।

चेम्बरले व्यापार विस्तारका लागि चेम्बरले कृषि, जलविद्युत्, सूचना प्रविधि तथा डिजिटल व्यापार, भौतिक पूर्वाधार र निर्माणलगायत क्षेत्रमा द्विपक्षीय लगानी तथा व्यापार सहजीकरण गर्न सकिने प्रस्ताव राजदूतसमक्ष राखेको अध्यक्ष अग्रवालले जानकारी दिनुभयो ।

पर्यटन प्रवद्र्धनका लागि सातामा कम्तीमा एक उडान श्रीलङ्का–लुम्बिनी तथा लुम्बिनी–श्रीलङ्का सीधा हवाई सेवा सञ्चालन गर्न सकिने प्रस्ताव चेम्बरले अघि सारेको छ । यसले श्रीलङ्काका बौद्ध धर्मावलम्बी पर्यटकलाई नेपाल आकर्षित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष अग्रवालको विश्वास व्यक्त गर्नुभयो । साथै, श्रीलङ्का भ्रमणमा जाने नेपाली पर्यटकका लागि भिसा निःशुल्क व्यवस्था गर्न पनि चेम्बरले अनुरोध गरेको छ ।

भेटवार्तामा राजदूत डेल्पितीयाले व्यापार अभिवृद्धिका सम्भावनाहरू सकारात्मक रहेको भन्दै नेपालसँग व्यापार सहजीकरणका क्षेत्रमा आवश्यक सहयोग तथा पहल गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । साथै, आगामी जुन महिनामा श्रीलङ्कामा आयोजना हुने अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागिता जनाउन चेम्बर प्रतिनिधिहरूलाई उहाँले आग्रह गर्नुभयो ।

छलफलले दुई देशबीच व्यापार, पर्यटन र आर्थिक साझेदारी विस्तारको दिशामा सकारात्मक वातावरण निर्माण गरेको चेम्बरले जनाएको छ ।