४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

चुहिएको छानो र झ्यालको पल्ला फेर्ने देवको सपना अधुरै

चुहिएको छानो र झ्यालको पल्ला फेर्ने देवको सपना अधुरै
अ+ अ-

बरहथवा । छब्बिस वर्षीया पार्वती सुवेदीको अझै मन सम्हालिएको छैन् । उहाँलाई गत भदौ २४ गतेको त्यो दिनले अहिले पनि एक्लै बस्न दिँदैन । त्यो दिन सम्झँदा अहिले पनि उहाँ भक्कानिनु हुन्छ । सत्ताइस वर्षका श्रीमान् देवकुमार सुवेदीको जेन्जी आन्दोलनको क्रममा गोली लागेर मृत्यु भएपछि उहाँका हरेक दिनहरू पीडामा बितेका छन् ।

आफूनो जीवनको खुसी खोसिएको भदौ २४ गतेले आफूलाई बेलाबेलामा झस्काउने गरेको उहाँ सुनाउनुहुन्छ । “दिनभरि यताउता गरेर बित्छ, जब साँझ पर्छ, श्रीमान् आउनु हुन्न भन्ने मनमा पर्दा मन भक्कानिएर आउँछ” आपूm र श्रीमान्ले भएको ऋणधन तिरेर छोरीको भविष्य बनाउन देखेको सपनाले सताइरहेको उहाँले बताउनुभयो ।

भदौको तेस्रो हप्ता जेन्जी आन्दोलन हुने हल्ला सुरु भयो । आन्दोलन कस्तो होला ? अन्योल थियो । देवकुमार पनि श्रीमती र छोरीसहित ललितपुरको सानेपामा रहेको सडक डिभिजन कार्यालयमा ज्यालादारी कर्मचारीको रुपमा कार्यरत हुनुहुन्थ्यो । कार्यालय सहयोगी, चालकदेखि सुरक्षा गार्डसम्मको काम गर्ने भएकाले उहाँ कार्यालय परिसरमै रहेको क्वाटरमा बस्ने गर्नुभएको थियो ।

पहिलो दिनको आन्दोलनमा केही विद्यार्थीको गोली लागेर ज्यान गएपछि भोलिपल्टको अवस्था थप जटिल बन्यो । भदौ २३ गते आन्दोलन हुँदासम्म काठमाडौँका अधिकांश कार्यालय सञ्चालनमै थिए । त्यसकारण देवकुमार पनि कार्यालयमै व्यस्त हुनुभयो । तर, दिउँसो भएको आन्दोलन अनियन्त्रित भएपछि काठमाडौँमा कफ्र्यू आदेश जारी भयो ।

अधिकांश मानिस अघिल्लो दिनको बर्बरतापूर्ण दमनको प्रतिकारमा उत्रन आतुर देखिएका थिए । सोही हुटहुटीले देवकुमारलाई पनि सडकसम्म ल्यायो । “बिहानै अफिसको मोटामोटी काम सकेर उहाँ कोठामा आउनुभयो,” पार्वतीले भन्नुभयो, “मैले आज अफिस खुल्छ त रु भनेर सोधँे । उहाँले खै भन्ने जवाफ दिनुभयो ।”

हामी कोठामा नियमित काममा लाग्यौँ । हाम्रो नौ वर्षकी छोरी छिन् । उनी मसँगै थिइन् । उहाँको कामबाट आएको तलबले मात्र हामीलाई खर्च कम हुन्थो । थोरै भए पनि सहयोग हुन्छ, भनेर मैले पनि बिहानको समयमा काम गर्ने गरेको थिएँ । यसरी पनि नहुने भयो भनेपछि उहाँले एकजना दाजुसँग मिलेर बिहान–बेलुका कालीमाटीमा तरकारी व्यापार गर्ने योजना बनाउनुभयो ।

घटनाको दिन स्मरण गर्दै पार्वती भन्नुहुन्छ, “त्यो दिन सडक विभागको कार्यालय बन्द हुने भएपछि तरकारी व्यापार साझेदारसँग भेटेर फर्पिङमा लप्सीका लागि अपुग पैसा पु¥याउन जाने भनेर ३५ हजार रुपैयाँ बोकेर निस्कनुभयो । उहाँले जाने बेलामा साझेदार दाजुकोमा खाना खाने योजना छ भनेर सुनाउनु पनि भयो । त्यसपछि हामी आमाछोरी खाना खान बस्यौँ । तर, उहाँले गाडी नपाएपछि घर फर्कनु भएछ । पैसा पठाई दिएँ तर जान मिलेन भनेर घर आउनु भएपछि मैले खान खानु न त भनेँ, उहाँले मान्नु भएन । आन्दोलन हेरेर आउँछु भनेर निस्कनुभयो । आन्दोलनमा होमिएकाहरुलाई उहाँले खाना फलफूल बाँडेर आउनुभएको रहेछ । मैले पनि त्यही खाएँ भनेर, खान खान मान्नु भएन । ब्याग र नयाँ जुत्ता कोठामै राखेर पुरानो जुत्ता लगाएर फेरि जान्छु भनेर हिँड्नुभयो ।

पार्वती भन्नुहुन्छ, “मैले नजानुस् हिजो त्यस्तो घटना भएको छ । भनेर सम्झाउन खोजेँ तर उहाँले बाहिर देश परिवर्तनको आँधीबेहरी चलेको छ । हामी जस्तो युवा घरमा लुकेर बसेर हुन्छ रु देश लुटेराहरुले भ्रष्टाचार गरेर आफू मात्र बने, देश खोक्रो पारे । म कालीमाटीसम्म पुगेर हेरेर आउँछु, भन्दै उहाँ हिँड्नुभयो । म र छोरी खाना खाएर बसेका थियौँ । एकैछिनमा बल्खु तर्फबाट ठूलो सङ्ख्यामा आन्दोलनकारीहरु आए । त्यो देखेपछि मेरो मनमा पनि चिसो पस्यो । त्यतिबेलासम्म मेरो दिदी पनिसँगै हुनुहुन्थ्यो । दिदीलाई अनुरोध गरेर श्रीमान्लाई खोज्न हिँडेका हामी आन्दोलनकारीको भीडमा हराएपछि दिदीले सानो नानी बोकेर यस्तो भीडमा हिँड्नु हुन्न, उहाँ आउनुहुन्छ भनेपछि हामी कोठामा फर्कियौँ ।

कोठामा फर्किएको केही बेरमै कोठा नजिकै होटल चलाउने दाजुले आएर बहिनी अस्पताल जनुप¥यो भन्नुहुँदा उहाँको मनमा चिसो पस्यो । उहाँ सम्झनुहुन्छ, “म त्यसबेला नै बेहोस हुन्छु कि जस्तो भइसकेको थिएँ । मैले के भयो दाजु ? भनेर सोधेँ, उहाँले भाइलाई खुट्टामा गोली लागेको छ, जानुप¥यो भन्नुभयो । उहाँले म सम्हालिन्न भनेर झुटो बोल्नुभएको रहेछ । यतिकैमा दिउँसोको ३ बजिसकेको थियो होला । हामी हस्याङफस्याङ गर्दै अस्पताल पुग्दा उहाँलाई शल्यक्रियाको लागि लैजाँदै रहेछन् । उहाँले हातको इसाराले मलाई केही हुन्न मलाई ठीक छ, तिमी जाउ भन्नुभयो ।”

श्रीमान्को दायाँ कोखाबाट लागेको गोली बायाँ कोखाबाट निस्किएको थियो भन्ने सुनेपछि उहाँलाई के भयो, केही थाहा छैन् । भोलिपल्ट बिहान ९ बजेतिर उहाँको मृत्यु भयो भनेर डाक्टरहरुले भने त्यसपछि उहाँ मुर्छित हुनुभयो । पछि जेठाजुहरु आएर अस्पतालबाट शव निकालेर पशुपतिमा अन्त्येष्टि गरी सर्लाहीको घरमा काजक्रिया गरेको उहाँ बताउनुहुन्छ । यस घटनापछि टुटेको मन छोरीलाई हेरेर सम्हाल्ने गरेको पार्वतीको भनाइ छ । श्रीमान्ले आफूसँग कठोर दुःख गरेर भए पनि छोरीको भविष्य राम्रो बनाउने सपना देखेको सुनाउने गर्नुभएको उहाँले बताउनुभयो ।

आफूले श्रीमान् गुमाए पनि उहाँको बलिदानी खेर जानु नहुने उहाँको माग छ । “उहाँ जस्ता धेरैको ज्यान गयो,” पार्वतीले भन्नुभयो, “उहाँहरुले देशको भ्रष्टाचार र बेथितीविरुद्ध आफ्नो ज्यान दिनुभएको हो । त्यो अन्त्य भए मात्र उहाँहरुको बलिदानीले सार्थकता पाउँछ ।” अब बन्ने सरकारले जेनजीको एजेन्डाअनुसार नै काम गर्नुपर्ने उहाँले मागसमेत राख्नुभयो । जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुसँगै पीडित बनेका परिवारको अवस्था बुझेर व्यवस्थापन गर्न राज्यसँग उहाँको अनुरोध छ । “यहाँ एक व्यक्ति मरेको मात्र छैन्,” उहाँले भन्नुभयो, “बाआमाको सन्तान खोसिएको छ । श्रीमतीको सिउँदो पुछिएको छ । सन्तान टुहुरा बनेका छन् । राज्यले यति ठूलो क्षतिको नजरअन्दाज गर्न मिल्दैन । यो कसैलाई पद र प्रतिष्ठा प्राप्त गर्न बगेको रगत हैन ।”

श्रीमतीसँगै कलकलाउँदो उमेरको सन्तान वियोगको वेदनाले देवकुमारका ८५ वर्ष उमेर पुगेका बुबा उजिरबहादुर र ६७ वर्षकी आमा यशोदाकुमारी पनि विक्षिप्त हुनुहुन्छ । पाँच छोरा र दुई छोरीका मातापिता उजिरबहादुर र यशोदाको यो दोस्रो सन्तान वियोगको पीडा हो । २०७० सालतिर बिच्छीले टोकाइबाट काइलो छोरा बित्नुभएको पीडा ताजै छ ।

सानैदेखि अति मिलनसार स्वभावका देवकुमारले कक्षा २ सम्मको पढाइ कटारी र एसएलसीसम्मको अध्ययन सिन्धुलीको दुधौलीमा पूरा गर्नुभएको हो । हक्की स्वभावका उहाँ छिट्टै भावनात्मक र आक्रामक हुने गरेका साइला दाजु भानुभक्तले सुनाउनुभयो । जो कोहीसँग पनि छिट्टै घुलमिल हुनसक्ने स्वभावका देवकुमारलाई कार्यालयमा समेत सबैले रुचाउने गरेका उहाँको भनाइ छ । उदयपुर जिल्लाको कटारी नगरपालिका–११, हर्देनी पुर्खौली थातथलो रहेको सुवेदी परिवार आठ वर्षअघि मात्र सर्लाहीको लालबन्दी नगरपालिका–५, मेजरगञ्जस्थित शान्तिटोलमा बसाइँ सरेर आएको हो ।

गत साउनमा कार्यालयको कामले देवकुमार घर आउनुभएको थियो । त्यसबेला भएको भेट नै उहाँका बुबा र आमासँगको अन्तिम भेट भयो । साउन अन्तिममा घर आइपुग्नुभएका देवकुमारले छानो चुहिएको देख्नुभयो । झ्यालमा पल्ला नहुँदा हिउँद् वर्षामा बस्न निकै समस्या भएकाले माघमा आएपछि छानो छाउने र झ्यालमा पल्ला लाउने भनेर जानुभएको बुबा उजिरबहादुर सम्झनुहुन्छ ।

हरेक पटक चुहिने छानो र झ्यालको पल्ला देख्दा छोरोको झझल्को आउने गरेको गहभरि आँसु पार्दै उजिरबहादुरले सुनाउनुभयो । उजिरबहादुर कान सुन्नुहुन्न भने आमा यशोदाको फोक्सोमा समस्या छ । अहिले पनि नियमितजसो उपचारको लागि काठमाडौँ जाने गरेको उहाँले सुनाउनुभयो । कान्छो छोरा बितेपछि पनि उहाँ काठमाडौँ पुग्नुभएको रहेछ तर छोराको सम्झनाले पुरानो ठाउँ र अस्पताल जान सक्नु भएन ।

“यसपटक साइलो छोराले अर्कै अस्पताल खोजेर उपचार गराएर पठायो । यताको सबै कुरा छोराहरुले हेरिरहेका छन् । महिनाको छ÷सात हजार रुपैयाँसम्मको औषधि खानुपर्छ,” उहाँले भन्नुभयो, “यो उमेरमा कलिला छोरा अघि लाएर बाँच्नु नै हाम्रो लागि ठूलो रोग भयो ।” कान्छो छोराले देशका लागि ज्यान बलिदानी दियो भनेर छिमेकीले सुनाउँदा आफूलाई कोख खाली हुँदै गयो भन्ने चिन्ता लागिरहेको उहाँको दुःखेसो थियो ।

राष्ट्रका लागि ज्यान दिने श्रीमान्को कृति रहनेगरी राज्यले सम्मान गरिदिनुपर्ने पार्वतकोे माग रहेको छ । सङ्घ सरकारले सहिद घोषणा गरेको भन्दै स्थानीय सरकारले समेत उहाँको योगदानको कदर गर्दै सालिक निर्माण गरिदिन उहाँको आग्रह छ । राज्यले दिने राहतभन्दा पनि आफूहरुका लागि भाइले दिएको बलिदानीको उचित कदर सम्मान नै पीडित परिवारको मल्हमपट्टी हुने साइला दाजु भानुभक्त बताउनुहुन्छ । घटनापछि सरकारले गरेको घोषणअनुसार १५ लाख आर्थिक सहायता दिने निर्णयबमोजिम पीडित परिवारलाई उक्त रकम हस्तान्तरण भइसकेको छ । रासस