२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौवादुङमाको चाँपे गाउँमा घरघरमा धारा जडान



अ+ अ-

भोजपुर । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको चाँपे गाउँमा ‘एक घर एक धारा’ जडान भएपछि स्थानीयवासी सहज भएका छन् । गाउँपालिका र वडाको पहलमा पिउने पानीको समस्या झेल्दै आएका ३० घर परिवारमा घरघरमा धारा जडान गरिएको हो ।

यहाँका पिउने पानीको समस्या रहेको चाँपे गाउँमा ‘एक घर, एक धारा’ जडान गरिएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिनुभयो । पानीको चरम समस्या रहेका स्थानीयलाई लक्षित गरेर पानी वितरण गरिएको उहाँको भनाइ छ ।

“स्थानीयको पानीको समस्या समाधानको लागि चाँपे गाउँमा पानी वितरण गर्न सफल भएका छौँ”, वडाध्यक्ष तामाङले भन्नुभयो, “यहाँका सबै घरमा शुद्ध पिउने पुगेको अवस्था छ । अब भने यहाँका स्थानीयको वर्षौँदेखिको पानीको समस्या समाधान भएको छ ।”

यहाँ गाउँपालिकाबाट रु चार लाख ५० बजेट विनियोजन गरेर स्थानीयलाई पानी वितरण गरिएको पौवादुङमा गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । गाउँपालिकामा ठूला–साना विभिन्न खानेपानी योजना सञ्चालन गरेर ‘एक घर एक धारा’ पुर्‍याउने लक्ष्यका साथ काम गरिरहेको उपाध्यक्ष राईको भनाइ छ ।

“यहाँका ३० परिवारको घरमा धारा जडान गर्न सफल भएका छौँ”, उहाँले भन्नुभयो, “हाम्रो गाउँपालिकाको अन्य वडामा पानीको निकै ठूलो समस्या छ । ठूला योजना सञ्चालनसँगै यहाँका मुहानको संरक्षण गरेर स्थानीयको घरघरमा धारा पुर्‍याउने लक्ष्यका साथ काम गरिरहेका छौँ ।

‘एक घर, एक धारा’ अभियान सञ्चालन गरेर प्रत्येक घरमा शुद्ध पिउने पानी पुर्‍याइएपछि स्थानीयवासी खुसी भएका छन् । घरमा धारा जडान भएपछि वर्षौँदेखिको पानीको समस्या अन्त्य भएको स्थानीयवासी तारा तामाङले बताउनुभयो । अब भने पानीको जोह गर्नको लागि घण्टौ समय बिताउनुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ ।

“घरमा धारा नहुँदा पानीको निकै समस्या थियो”, उहाँले भन्नुभयो, “अन्यत्रबाट बोकेर ल्याएर पानीको जोह गर्दै आएका थियौँ । घरमा नै धारा जडान भएपछि सहजता भएको छ ।”

घरमा धारा नहुँदा घण्टौँ परबाट डोकोमा बोकेर ल्याएर पानीको जोह गर्दै आएको अर्की स्थानीयवासी सङ्गीता राईले बताउनुभयो । घरको आगनमा धारा जडानले सरसफाइसँगै खेर गएको पानी करेसावारी प्रयोग गर्दै आएको उहाँको भनाइ छ ।

“विगतमा पानीको जोह गर्न डोको बोकेर ल्याउनुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो, “अहिले धारा जडान भएपछि दैनिक कामकाजमा सहज छ । खेर गएको पानीको सदुयोग गरेर करेसाबारीमा प्रयोग गरिरहेका छौँ । गाउँपालिकाले गरेको कामले हाम्रो दैनिकीमा परिवर्तन ल्याएको छ ।” रासस