४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

एपस्टिन फाइल सार्वजनिक गर्न ट्रम्पद्वारा विधेयकमा हस्ताक्षर

एपस्टिन फाइल सार्वजनिक गर्न ट्रम्पद्वारा विधेयकमा हस्ताक्षर
TOPSHOT - US President Donald Trump speaks during an announcement about the Golden Dome missile defense shield, in the Oval Office of the White House on May 20, 2025, in Washington, DC. (Photo by Jim WATSON / AFP)
अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार विवादास्पद तर बहुप्रतिक्षित ‘एपस्टिन फाइल ट्रान्सपरेन्सी एक्ट’ मा हस्ताक्षर गर्दै दोषी यौन अपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित सरकारी रेकर्ड सार्वजनिक गर्न कानूनी मार्ग प्रशस्त गर्नुभएको छ ।

यो कदमले लामो समयदेखि आलोचना झेलिरहेको वासिङ्टनको शक्तिकेन्द्रमा नयाँ हलचल ल्याएको छ र राष्ट्रपति स्वयं उक्त बहसलाई पारदर्शितातर्फ मोड्न इच्छुक हुनुहुन्छ कि संवेदनशील विवरण लुकाउन खोज्दै हुनुहुन्छ भन्ने प्रश्न पनि उठेको छ ।

महिनौँसम्म चलेको विरोधमत उल्ट्याउँदै र मङ्गलबार दुर्लभ देखिने द्विदलीय सहमतिसहित विधेयक कंग्रेसबाट पारित भएपछि ट्रम्पले आकस्मिक निर्णय गर्दै यसमा हस्ताक्षर गर्नुभएको हो । दिवङ्गत एपस्टिनका पुराना परिचित पनि मानिनुहुने राष्ट्रपति ट्रम्पले बुधबार राति आफ्नो सोसल मिडिया प्लेटफर्ममार्फत कुनै ‘राजनीतिक नाटक’ मा नअड्किने भन्दै विधेयक अनुमोदनको घोषणा गर्नुभयो ।

तर हस्ताक्षर भएर कानून बने पनि संवेदनशील विवरणहरू सार्वजनिक गर्ने प्रक्रियामा जानाजानी ढिलाइ, अत्यधिक सम्पादन (रेडक्सन) वा लामो सङ्घीय अनुसन्धानको आड लिइने सम्भावना रहने प्रशासनभित्रका अधिकारीहरूले चेतावनी दिएका छन् ।

शीर्ष डेमोक्रेट चक शुमरले सिनेटमा चेतावनी दिँदै भन्नुभयो, “राष्ट्रपतिले अब यो कानूनलाई विश्वासपूर्वक कार्यान्वयन गर्नुपर्नेछ । ट्रम्पबाट कुनै पनि प्रकारको छलकपट स्वीकार्य हुनेछैन । उहाँले केही कागजात मात्र सार्वजनिक गर्दै अन्य महत्त्वपूर्ण दस्तावेजहरू लुकाउने बहाना बनाउनु हुँदैन ।”

अत्यन्तै धनी फाइनान्सर, वर्षौंदेखि उच्च वर्गका व्यवसायी, राजनीतिज्ञ, शिक्षाविद् र सेलिब्रेटीहरूसँगको घनिष्ठ सम्बन्धका कारण जेफ्री एपस्टिन कुख्यात थिए । उनीमाथि नाबालिग बालिकाहरूलाई यौन शोषणका लागि तस्करी गरेको आरोप थियो । विगत केही वर्षदेखि ट्रम्प र उहाँका निकट सहयोगीहरूले एपस्टिनसँग जोडिएका प्रभावशाली डेमोक्रेटहरू सुरक्षित रहे भन्ने कथनलाई अगाडि सार्दै केसलाई राजनीतिक रङ दिएका थिए ।

तर आलोचकहरूका अनुसार राष्ट्रपति स्वयं एपस्टिनका पुराना सङ्गतिहरू मध्ये एक हुनुहुन्थ्यो, त्यसैले उहाँलाई उक्त अपराधीका गोप्य कडीहरूबारे कत्तिको जानकारी थियो भन्ने प्रश्न अझै अनुत्तरित छ । यो मुद्दाले ट्रम्प समर्थकहरूभन्दा पर गएर अमेरिकी न्याय प्रणालीप्रति जनताको भरोसा खस्काएको छ र धेरै नागरिकहरूले ‘यस कथाका महत्त्वपूर्ण भागहरू अझै लुकाइएका छन्’ भन्ने गहिरो शङ्का व्यक्त गरिरहेका छन् ।

सन् २०१९ मा एपस्टिन पक्राउ परेपछि उनको सामाजिक सञ्जाल, वित्तीय स्रोत र सहयोगीहरूको विस्तृत छानबिनको माग चुलिएको थियो । त्यसपछि न्युयोर्कको जेलमा आत्महत्याको रूपमा दर्ता गरिएको मृत्यु भने ढाकछोप र षड्यन्त्रका अनेकथरी सिद्धान्तहरू झनै गहिरिएका थिए ।

यसैबीच, कंग्रेसले पारित गरेको ट्रान्सपरेन्सी एक्टको मत सर्वपक्षीय भावनाले भरिएको थियो । प्रतिनिधिसभामा मतदान हुँदा पीडितका प्रतिनिधिहरूले ग्यालरी भरिदै विधेयक पारित भएपछि अँगालो र जयजयकारसहित भावनात्मक वातावरण सिर्जना भएको थियो । यो विधेयक प्रतिनिधिसभाका सभामुख माइक जोनसन र उहाँका सहयोगीहरूले खुलासा रोक्न गरेको प्रयासलाई कडा झट्का थियो । पत्रकारहरूले जोनसनलाई ट्रम्पलाई भिटो गर्न दबाब दिने हो कि भनेर सोध्दा उहाँले ‘समय आएपछि हेर्ने’ मात्र उत्तर दिनुभएको थियो ।

कानून अनुसार, न्याय मन्त्रालयले एक महिनाभित्र एपस्टिनसम्बन्धी अवर्गीकृत दस्तावेजहरू — प्रतिलिपि, उडान लग, सञ्चार र अन्य फाइलहरू — अनलाइन सार्वजनिक गर्नुपर्नेछ । यी फाइलहरूले विगतका धेरै अज्ञात नाम र सम्बन्ध उजागर गर्न सक्ने आशङ्का छ । व्यक्तिगत गोपनीयता र राष्ट्रिय सुरक्षा जस्ता सङ्कीर्ण कारण बाहेक जानकारी रोक्न सकिने छैन ।

तर के प्रशासनले यो कानूनलाई पूर्ण रूपमा लागू गर्ला ? वा सम्बन्धित अनुसन्धान जारी रहेकाले सामग्री सार्वजनिक गर्न नसकिने भनेर फाइलहरू फेरि लुकाइनेछन् ? भन्नेबारे विश्लेषकहरू शङ्कित छन् । गत हप्तामात्रै ट्रम्पले डेमोक्रेटहरूको सम्भावित संलग्नताबारे नयाँ अनुसन्धान आदेश दिएको हुँदा प्रक्रिया अल्झिन सक्ने ठानिएको छ ।

केन्टुकीका रिपब्लिकन थोमस म्यासीले भन्नुभयो, “यी नयाँ अनुसन्धानहरू अन्तिम क्षणमा एपस्टिन फाइल सार्वजनिक हुने काम रोक्न प्रयोग गरिने ‘धुवाँको पर्दा’ हुन सक्छन् ।” न्याय मन्त्रालय र एफबिआईले यसअघि फाइलहरूको समीक्षा गर्दा थप कारबाही आवश्यक नदेखिएको बताएका थिए ।

यस विषयमा महान्यायाधिवक्ता पाम बोन्डीले पत्रकारहरूसँग भन्नुभयो, “हामीसँग नयाँ सूचनाहरू आएका छन् । यदि कोही पीडित हुनुहुन्छ भने हामी उहाँहरूलाई अगाडि आउन प्रोत्साहित गर्दछौँ र हामी कानूनअनुसार अधिकतम पारदर्शिता सुनिश्चित गर्न प्रतिबद्ध छौँ ।”