२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरस: युरोपका नेपाली सुरक्षित



अ+ अ-

काठमाडौं/लन्डन । युरोपका विभिन्न मुलुकमा रहेका नेपाली कोरोना भाइरस संक्रमणबाट सुरक्षित छन्। संक्रमण भइहाले कसरी बच्ने भन्ने चिन्ता रहेको उनीहरूले बताएका छन्। इटालीमा करिब १५ सय नेपाली रहेको अनुमान छ। एनआरएनए इटालीका उपाध्यक्ष छविलाल कँडेलका अनुसार धेरै नेपाली रहेको रोमनजिकका क्षेत्रमा कोरोना प्रभाव न्यून छ। उनले सबैभन्दा बढी प्रभावित लोमबार्दिया क्षेत्रका नेपाली पनि सुरक्षित रहेको बताए। इटालीमा बुधबार अपराह्नसम्म करिब साढे ६ सय जनाको मृत्यु भएको छ भने १० हजारभन्दा बढीमा संक्रमण भेटिएको छ। चीनपछि सबैभन्दा बढी कोरोना भाइरस प्रभावित मुलुक इटाली हो।

प्रधानमन्त्री जुसेपे कोन्टेले सबै नागरिकलाई आफ्नै घरमा बस्न र यात्रा नगर्न आग्रह गरेपछि ६ करोड जनसंख्या रहेको इटाली पूरै ‘लक–डाउन’ छ। देशभरका सबै शिक्षण संस्था आगामी महिनासम्मका लागि बन्द गरिएका छन्। मिलानमा बस्ने कँडेलले भने, ‘हामीलाई कोही नेपाली संक्रमित बनेको खबर छैन। हामी सबै नेपालीसँग निरन्तर सम्पर्कमा छौं।’ बाहिरबाट देखिएजस्तो भयावह स्थिति नभएको उनले बताए। ‘सरकारले ‘लकडाउन’ घोषणा गरेपछि सर्वसाधारण थप सचेत बनेका छन्,’ उनले भने, ‘हामी नेपाली पनि अत्तालिएका छैनौं। तर, संक्रमण बढ्दै गयो भने के होला भन्ने अन्योल छ।’

इटालीसमेत हेर्ने जेनेभास्थित नेपाली स्थायी नियोग प्रमुख मणि भट्टराईले पनि नेपालीहरू अहिलेसम्म सुरक्षित रहेको बताए। उनले टेलिफोनमा भने, ‘अवैतनिक दूत, गैरआवासीय संघका प्रतिनिधिलगायतसँग सम्पर्कमा रहेर सजग गराइरहेका छौं।’ जेनेभामा सबै सुरक्षा अवलम्बन गरिएको उनले बताए। जेनेभामा अप्रिलसम्मका राष्ट्रसंघीय सबै कार्यक्रम सारिएको छ। प्रा.डा. कटक मल्लले स्विडेनमा पनि महामारी फैलिएको तर दैनिक जीवन भने चलिरहेको बताए। उनले भने, ‘महामारी त छँदै छ त्यो भन्दा पनि बढी हल्लाले काममा असर परेको छ।’ उनले स्टकहोममा आफ्नो दैनिकी नरोकिएको बताए। मल्लले भने, ‘इटाली क्वारेन्टाइनमा छ। त्यहाँ सरकारले नागरिकका लागि काम गरिरहेको छ।’

फ्रान्स, जर्मनी, डेनमार्कस्थित नेपाली दूतावासले पनि युरोपमा रहेका नेपाली संक्रमित नरहेको स्पष्ट पारेका छन्। अस्ट्रेलियामा नेपालबाट गएका विद्यार्थी संक्रमित भनिएको छ। तर, त्यसबारे केही खुलाइएको छैन। त्यहाँका कुनै नेपालीमा संक्रमण नदेखिएको दूतावासले जानकारी पठाएको छ। खाडीमा पनि नेपाली संक्रमित नदेखिएको समाचार छ। चिनियाँ प्रान्त हुपईको वुहानबाट सुरु भएको कोरोना भाइरस सयभन्दा बढी मुलुकमा फैलिएको छ। विभिन्न देशमा गरी ४ हजार ३ सयभन्दा बढीको ज्यान गएको छ। एक लाख २० हजार मानिस संक्रमित भएका छन्। ६७ हजार व्यक्ति उपचारपछि स्वस्थ बनेको तथ्यांक छ।

चीनमा कोरोनाको प्रभाव घट्दै गएको छ। इटाली, दक्षिण कोरिया, इरान, फ्रान्स, स्पेन, जर्मनी र अमेरिकामा संक्रमण फैलिएको छ। डेढ लाखभन्दा बढी नेपाली रहेको बेलायतमा पनि कोरोनाबाट नेपाली संक्रमित बनेको जानकारी छैन।

बेलायतमा स्वास्थ्यमन्त्री नै संक्रमित:बेलायतमा स्वास्थ्यमन्त्री नादिन डोरिएससहित ३ सय ९० जनामा संक्रमण पाइएको छ। मृत्यु हुनेको संख्या ७ पुगेको छ। बेलायती मिडियाका अनुसार स्वास्थ्यमन्त्री डोरिएसमा गत बिहीबार नै संक्रमण भेटिएको थियो। सोही दिन उनी प्रधानमन्त्री बोरिस जोनसनले आयोजना गरेको एक समारोहमा समेत सहभागी थिइन्। उनीसँग सम्पर्कमा आएका सांसद र केही मन्त्रीमा समेत संक्रमण जाँच गराइएको छ। प्रधानमन्त्री बोरिस जोनसनमा संक्रमण परीक्षण गराइएकोबारे जानकारी आएको छैन। कोरानाका कारण अर्थतन्त्रमा पर्ने नकारात्मक असरलाई ध्यानमा राख्दै बैंक अफ इंग्ल्यान्डले ब्याजदरमा कटौती गर्ने निर्णय गरेको छ।

बुधबारका लागि तय म्यान्चेस्टर सीटी र आर्सनलबीचको प्रिमियर लिग फुटबल प्रतियोगिता स्थगन गरिएको छ। कोरोना संक्रमितसँगको सम्पर्कमा आएका आर्सनल क्लबका खेलाडी क्वारेन्टाइनमा छन्। नेसनल हेल्थ सर्भिस ९एनएचएस० ले पनि कोरोना संक्रमण जाँच्ने आफ्नो क्षमता बढाउँदै लगेको छ। अहिले दैनिक १५ सय जनाको जाँच गर्न सक्ने एनएचएसले अब छिट्टै दैनिक १० हजार जनासम्मको जाँच गर्ने व्यवस्था मिलाउँदै छ। कोरोना संक्रमितकै उपचार गर्न विभिन्न ३० वटा विशेष अस्पताल तयार छन्।

देशभरका सबै अस्पतालमा सम्भावित संक्रमितका लागि आइसोलेटेड बेड छुट्ट्याइएको छ।अर्थमन्त्री ऋषि सुनाकले स्वास्थ्य सेवाका लागि आवश्यक कुनै पनि कोष वा स्रोत कमी नगराउने प्रतिबद्धता व्यक्त गरेका छन्। अन्नपुर्णपोष्ट दैनिक




भर्खरै