३० श्रावण २०८३, शनिबार
,
Latest
ललितपुर महानगरद्धारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिनेः स्वास्थ्यमन्त्री निशा मेहता पोखरामा ६ करोडका सुविधासम्पन्न लक्जरियस बस भित्रिए, बसभित्रै चिया–कफी र शौचालयको सुविधा पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता यातायात व्यवस्था कार्यालयद्वारा ५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै निष्कर्षमा पुग्ने विश्वास रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु यसरी धराशायी बनाइयो उदयपुर सिमेन्ट उद्योग नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो विद्युत निर्यातको लागी नियामकीय तथा नीतिगत सुधारलाई एकसाथ अघि बढाउँछौँः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शारीरिक रूपमा अशक्त दानबहादुर आत्मनिर्भर बन्दै



अ+ अ-

दोधारा चाँदनी । कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका-८ का दानबहादुर सुनार शारीरिक रूपमा अशक्त हुनुहुन्छ । दानबहादुर जन्मिने बेला अरु जस्तै सामान्य हुनुहुन्थ्यो । चार वर्षको उमेरमा उहाँ बिरामी हुनुभयो ।

त्यसपछि विस्तारै शरीर सुक्दै गएपछि अहिले पूर्ण रूपमा अशक्त हुनुहुन्छ । उहाँलाई शरीरले साथ नदिए पनि मन र सीप असाध्यै सबल छ । हिँडडुलसमेत गर्न नसक्ने अवस्थामा रहनुभएका दानबहादुरले हार मान्नु भएन ।

उपचारका लागि परिवारले सकेको प्रयास गरेका बताउँदै दानबहादुरले अस्पताल धाउँदाधाउँदै पनि कमजोर आर्थिक अवस्थाका कारण समयमा रोग निदान हुन नसकेको उल्लेख गर्नुभयो । अहिले उहाँले सरकारबाट सामाजिक सुरक्षा भत्ता पनि पाउनुहुन्छ । उहाँले हिम्मतका साथ आफूमा भएको क्षमतालाई सदुपयोग गर्दै निरन्तर कर्ममा लागेपछि अहिले परिवारका लागि आर्थिक सहारा बन्नुभएको छ ।

“घरमा ल्याएको रेडियो बिग्रियो त्यो रेडियोबाट उसले मर्मत गर्न सिकेको हो”, दानबहादुरकी आमा उषा सुनारले भन्नुभयो, “त्यसै रेडियोबाट सिकेर अहिले मोबाइलको डिस्प्ले फेर्ने, रेडियो, टर्च र बुफरहरू मर्मतको काम गर्छ ।” दानबहादुरले पछिल्लो समय अरुलाई हाउस वायरिङ गर्ने काम सिकाउन थालेको उहाँको भनाइ छ ।

सरकारबाट पाउने सामाजिक सुरक्षा भत्ता दानबहादुरको जीविकोपार्जन प्रमुख स्रोत हो । “भत्ता मात्रै जीवन चलाउन पर्याप्त नभएपछि उहाँलाई आफ्नो क्षमता देखाउने आत्मबल बढ्दै गयो । शरीरले गर्न नसक्ने काम धेरै थिए, तर हात–आँखाका बलमा गर्न सकिने साना सीपले उसलाई आर्थिक सहारा दिन सहयोग पुगेको हो”, आमाले भन्नुभयो ।

“अरुको सहयोगमा रेडियो, मोबाइल टर्चलगायत सामग्री मर्मत म आफैँ गर्छु, हाउस वायरिङका लागि अरु साथीभाइलाई सिकाउने गरेको छु”, दानबहादुरले भन्नुभयो, “गाउँको व्यवसाय हो । कोही पैसा दिएर जान्छन् कोही त्यतिकै मर्मत गराउँछन् । तर, थोरै भए पनि आम्दानीको स्रोत बनेको छ ।” उहाँले परिवारको आर्थिक अभावका कारण आफ्नो सीपलाई व्यवसायिक बनाउन नसकेको बताउनुभयो ।

“थोरै आम्दानी भए पनि परिवारलाई सहयोग पुगेको छ”, सुनारले भन्नुभयो, “अरुलाई पनि आत्मनिर्भर बन्नका लागि हाउस वायरिङ र मर्मत गर्न सिकाउने गरेको छु ।” पौरख गर्न पाखुरामा दम मात्रै होइन, हातखुट्टा सध्य चाहिन्छ उहाँले भन्नुभयो । पूर्ण रूपमा अशक्त दानबहादुर अहिले दोधाराका थुप्रै युवाको गुरुमात्रै होइन, प्रेरणाको स्रोत बन्नुभएको छ ।