मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नै दबाबमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदीले बर्दिवासस्थित होटलमा शपथ ग्रहण गराएको स्पष्टिकरण दिनुभएको छ ।
नवनियुक्त मुख्यमन्त्री यादवले मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो स्पष्टिकरण दिनुभएको हो । आफूलाई नियुक्ति पत्र दिइएको तर शपथ ग्रहण नगराई प्रदेश प्रमुख सुवेदी काठमाडौं जान लागेको जानकारी पाएप्ीछ आफूले जसरी भएपनि शपथ ग्रहण गराउन दबाब उहाँको स्वीकारोक्ति छ । उहाँले लोसपा लगायत केही पार्टीका नेता तथा कार्यकर्ताले आफूलाई शपथ लिन नदिने जानकारी पाएपछि सुरक्षित स्थानमा शपथ ग्रहण गर्नुपरेको यादवको भनाइ छ । ठूलो दलको हैसियतमा नेकपा (एमाले) संसदीय दलका नेता यादवलाई कात्तिक २४ गते संविधानको धारा १६८ को उपधारा ३ बमोजिम तत्कालीन प्रदेश प्रमुख सुवेदीले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
त्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो, ‘उहाँ काठमाडौं जान लाग्नुभयो, मेरो शपथ नहुने भयो भनेर मलाई जानकार आइसकेपछि मैले उहाँलाई दबाब दिएकै हो । मुख्यमन्त्री नियुक्त गर्नुभयो तर सपथ नगराउने हो मैले र एमालेले तपाईलाई घेर्छ भन्ने कुरा भनेको हो । केयरटेकरको रुपमा मुख्यमन्त्री छ । नयाँ मुख्यमन्त्रीको नियुक्ति भइसक्यो । तपाईले शपथ नखुवाईकन मेरो पद सक्रिय हुनेवाला छैन । त्यसकारण तपाई कता हुनुहुन्छ ? त्यहीबाट शपथ गराईदिनुहोस् भनेर मैले बोलेकै हो । त्यसपछि उहाँले निस्किसकेको छु बर्दिवासस्थित पानस होटलमा बोलाउनुभयो । त्यही गएर मैले नियुक्तिअनुसार शथप खाएको हो ।’
उहाँले प्रदेशमा उत्पन्न राजनीतिक अवस्था मधेस र मुलुकको लोकतान्त्रिक व्यवस्थाका लागि गम्भीर चुनौतीका रुपमा खडा भएको पनि बताउनु भयो । उहाँले सरकारलाई सहयोग गर्नको लागि सहयोग गर्न सबै राजनीतिक दलहरुलाई आह्वान समेत गर्नुभयो । मुख्यमन्त्री यादवको नियुक्ति र शपथ विवादमा परेपछि सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र यादवले प्रदेश प्रमुख सुवेदीलाई पदमुक्त गर्नुभएको छ ।










