काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस घोषणा गरी सार्वजनिक बिदा दिन आफू सकारात्मक रहेको बताउनु भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री देउवाले भन्नुभयो, "मैले २०७४ सालमा पनि बिदा दिएको हुँ, अहिले गठबन्धनको सरकार छ म सल्लाह गर्छु ।"
राप्रपाले पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिन र उक्त दिनलाई पर्वको रुपमा मनाउन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आज ज्ञापनपत्र पेश गरेको राप्रपा नेता मोहन श्रेष्ठले जनाकारी दिनुभयो ।
अध्यक्ष लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरि ज्ञापनपत्र बुझाएको हो ।
मुलुकमा गणतन्त्र स्थापना भएयता पृथ्वी जयन्ती मनाउने विषयमा विवाद हुँदै आएको छ । तथापी नागरिक स्तरबाट पृथ्वी जयन्तीका अवसरमा देशभर विभिन्न कार्यक्रम गर्ने र त्यसमा राज्यका विशिष्ट पदाधिकारीकै उपस्थिति समेत रहने गरेको छ ।
यस अवसरमा नेपाली सेनाले औपचारिक रुपमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यलाई निरन्तरता दिइआएको छ ।