काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट नि:शुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ ।
यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि भइसकेको कामपाले जानकारी दिएको छ ।
कामपा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले आगामी दिनमा आधारभूत स्वास्थ्य सेवाअन्तर्गत आयुर्वेदिक औषधि वितरणमा सहज हुने विश्वास रहेको बताउनुभयो ।
कार्यक्रमका फोकल पर्सन ज्ञानबहादुर ओलीका अनुसार अहिले कामपाले सञ्चालन गरेको आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट नेपाल सरकारले नि:शुल्क वितरणका लागि तोकेका औषधि वैद्यखानाबाट उपलब्ध भएसम्म त्यहीँबाट प्राप्त गर्ने तयारीका साथ सम्झौता अघि बढाइएको हो ।
कामपाले यसअघि नै यस्तै प्रकारको सहकार्य नेपाल औषधि लिमिटेडसँग पनि गरिसकेको ओलीले जानकारी दिनुभयो । सम्झौताबमोजिम वैद्यखानाले औषधिको ७५ प्रतिशतसम्म उपभोग अवधि बाँकी रहेका औषधि माग भएको सात दिनभित्र उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ ।
उक्त औषधि नै कामपाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट नि:शुल्क रूपमा वितरण गर्ने जनाएको छ । यस्तै वैद्यखानाका कार्यकारी निर्देशक डा प्रदीप केसीले औषधिको गुणस्तरीयतामा संवेदनशील भएर माग पूर्ति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ । रासस










