५ असार २०८३, शुक्रबार
,
Latest
मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुर्याउँछः मन्त्री चौधरी नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेवार समुदयाले मनाए सकिमना पुन्ही, टोलटोलमा अन्नका आकृति र दाफा भजन



अ+ अ-

भक्तपुर। भक्तपुरको पाँचतले मन्दिर परिसर र मध्यपुरथिमिको ऐतिहासिक मठ मन्दिर एवं चोकमा आज साँझ झलमल्ल छ । मन्दिर र पाटीमा दाफा भजनले चकमन्न रातलाई निकै गुञ्जयामान बनाएको छ ।

आज कात्तिक शुक्ल पूर्णिमा अर्थात् नेवार समुदायले मान्दै आएको ‘सकिमना पुन्ही’ को दिन विभिन्न मन्दिर एवं पाटी अगाडि धान, मकै, भटमास, भुटेका गेडागुडीलगायत विभिन्न अन्नबाट गणेश, बिस्काः जात्राको रथ, मन्दिरलगायत विभिन्न देवीदेवताका आकृति बनाई बत्ती बालेर भेटी चढाउनुका साथै पाटीमा दाफा भजन गाएर भव्य रूपमा मनाएका छन् ।

आजको दिन नेवार समुदायमा आ–आफ्नो टोलमा रहेका दाफा भजन खलःले नसाःबाट मठमन्दिर अगाडि गहुँ विछ्याएर ताय (धानको लावा) र कालो भटमासले भगवानकोस्वरूप बनाउने, त्यस्ता स्वरूपलाई चारैतिर भुटेको मकैले घेरा बनाउँदै त्यसमाथि पुरी र माल्पुवाले घेरेर फूलको मालाले शृङरपटार गरी दक्षिणा चढाइ दियो बालेर भजनकीर्तन गाउने प्रचलनअनुसार आज मन्दिर र पाटी पौवामा यस्ता दृश्य जताततै देख्न पाइन्छ ।

नेवार समुदायका भजन खलः, दाफा भजन खलःहरूले आजको दिनलाई विशेष पर्वको रूपमा मनाएका छन् भने कोजाग्रत पूर्णिमाको दिन सुरु गरिएको एक महिने रात्रिकालीन दाफा भजनकीर्तन पनि आज रातिदेखि समापन गरिनेछ । आज रातभर मन्दिर अगाडि भजनकीतर्न हुने गर्दछ । आजको दिन पिँडालु उसिनेर खाने र नसाः (मकै, भटमास, गहुँ र ताय) बाट भगवान्का आकृति बनाइ त्यसलाई प्रसादको रूपमा बाँड्ने प्रचलन रहेको इतिहास तथा संस्कृतिविद प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो ।

पूजामा माल्पुवा, पुरी, नसाः, गाईको दूधले बनेको खिर, सुन्तला, बदाम, उसिनेको पिँडालु र सख्खरखण्डलगायत परिकार टोलका देवीदेवता, महादेव र नारायणलाई प्रसादका रूपमा चढाएर त्यसलाई प्रसादको रूपमा ग्रहरण गर्ने प्रचलन रहेको अर्का संस्कतिविद् कमलनाथ जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “साँझ चन्द्रमा उदायपछि चन्द्रमा र तुलसीलाई गाईको दूधको अध्र्य दिई विधिवत् रूपमा पूजा गरी प्रसाद चढाएर पूजा सम्पन्न गर्ने प्रचलनसमेत रहेको छ । ऋतु अनुसारको भोजन भगवानलाई चढाएर मात्र खाने पर्वको रूपमा समेत सकिमना पुन्हीलाई लिने गरिएको छ ।”

आज विषेशगरी नारायणको पूजा आराधना गरिने हुनाले नेपाल संवतको बाह्रमहिनाको पहिलो पुन्हीमा भगवान् नारायणलगायत महादेव र आफ्नो इष्टदेवतालाई प्रसाद चढाएर खानाले पुण्य प्राप्तिका साथै शारीरिक शक्ति प्राप्त हुने धार्मिक विश्वास रहेको उहाँको भनाइ छ ।

नेवार समुदायमा नसाःलाई सकिमना पुन्हीको दिनमा मात्र नभइ गणेश चतुर्थीका दिनमा पनि प्रसादको रूपमा चढाउने र गुफा राख्दा गुफा बसेका बालिकालाई सूर्यसँग विवाह गर्ने क्रममा पनि प्रसादस्वरूप नसाः खुवाउने प्रचलन रहँदै आएको छ ।