काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत एकदिवसीय शृङ्खलामा नेपालले लगातार चौंथो हार ब्यहोरेको छ ।
घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)विरुद्धको एकदिवसीय शृङ्खालको अन्तिम खेलमा नेपाल चार विकेटले पराजित भएको हो ।
नेपालले दिएको २४० रनको लक्ष्य युएईले ४९.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । उसका लागि मुहम्मद शाहददले सर्वाधिक ९६ रनको योगदान दिए भने मुहम्मद वसीमले ७६, शोहेव खानले २९ तथा अलिशान शराफुले १८ रन जोडे ।
बलिङतर्फ नेपालका करण केसीले तीन तथा नन्दन यादव, ललित राजवंशी र सन्दीप लामिछानेले एक–एक विकेट लिए ।
त्यसअघि दुबईस्थित आइसिसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २३९ रन जोड्यो ।
नेपालका लागि भिम सार्कीले ४८, कुशल मल्लले ४५, दिपेन्द्र सिंह ऐरीले ३७, आसिफ शेखले ३४, आरिफ शेखले ३० रन जोड्दा सन्दीप लामिछाने १५ रनमा अविजित रहे ।
बलिङतर्फ युएईका जुनैद सिद्धीकी ध्रुव पराशर र मुहम्मद जवादुल्लाहले दुई–दुई विकेट लिए भने जाहिद अलीले एक विकेट लिए ।
यस शृङ्खलामा यसअघि नेपालले खेलेको तीन खेलमा तीनैमा पराजित भएको थियो ।
पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको थियो भने दोस्रो खेलमा युएईसँग पाँच विकेटले पराजित भएको थियो । त्यसैगरी तेस्रो खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भएको थियो ।
समग्रमा भने २० खेल खेलेको नेपाल १३ हार र पाँच जितकासाथ १२ अङ्क जोडेर अङ्क तालिकाको सातौं स्थानमा छ । दुई खेल भने विना नतिजा टुङ्गिएको थियो ।
यता युएई २० खेलबाट १५ हार र पाँच जितको साथ १० अङ्क जोडेर अङ्क तालिकाको अन्तिम स्थानमा छ ।










