२९ कार्तिक २०८२, शनिबार
,
Latest
सबै स्थानीय तहमा युवा परिषद् गठन गर्न आग्रह विद्यमान राजनीतिक अस्थिरता अन्त्य गर्न कम्युनिष्ट आन्दोलनलाई एकीकृत बनाउनुपर्छः सहसंयोजक नेपाल प्रदेशमा शान्तिसुरक्षा सुदृढ गर्न सुरक्षा निकायलाई मुख्यमन्त्री यादवको निर्देशन मन्त्री घिसिङद्वारा बाग्मती ‘करिडोर’ क्षेत्रको ढल व्यवस्थापन र सडक स्तरोन्नतिबारे निरीक्षण प्रदेशका एक हजार गरिब तथा विपन्न परिवारका लागि घर निर्माण गर्नेछौँः मुख्यमन्त्री बानियाँ एभरेस्ट महिला भलिबलको उपाधि कर्णालीलाई पेट्रोल र डिजलको मूल्य बढ्यो मौलापुरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवन प्रभु साहले गरे उद्घाटन इटहरीमा जग्गा तथा आवास विकास संघको प्रथम अधिवेशन: आधुनिक सहरीकरणतर्फ निर्णायक कदम सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यतराईमा अखण्ड अष्टयाम र लखराव यज्ञप्रति आकर्षण



अ+ अ-

रौतहट । तराई–मधेसका रौतहट, बारा, पर्सालगायत आसपासका क्षेत्रमा अखण्ड अष्टयाम र लखराव यज्ञजस्ता धार्मिक अनुष्ठानहरू लोकप्रिय बन्दै गएका छन् ।

पछिल्ला वर्षहरूमा विवाह, व्रतबन्ध, गृहप्रवेश, प्राणप्रतिष्ठा, यज्ञयज्ञाधिलगायतका शुभकार्यमा नाचगान, भोजभतेरसहित यस किसिमका धार्मिक अनुष्ठान गर्ने चलन बढ्दै गएको छ ।

मौलापुर नगरपालिका–४ का हरेकृष्ण तिवारीका अनुसार विशेषगरी माघदेखि असार महिनासम्म सूर्य उत्तरायणको समयमा गरिने विभिन्न शुभकार्यमा गर्ने चलन बढेको हो । यसो नगरिकन शुभकार्य गरेमा फल प्राप्ति नहुने विश्वाससहित अखण्ड अष्टयाम र लखराव अनिवार्य गर्न थालिएको उहाँले स्पष्ट गर्नुभयो । साथै धार्मिक सहिष्णुता, सामाजिक एकता र भाइचाराको सम्बन्ध विस्तारमा समेत यो चलन सहयोगी बनेको देखिन्छ ।

उक्त धार्मिक अनुष्ठान गर्नका लागि मात्र आर्थिक हैसियतअनुसार रु २५ हजारदेखि दशौँ लाखसम्म अतिरिक्त रकम खर्च हुनेगरेको बौधीमाई नगरपालिका–८ सरमुजुवाका निर्दलीप्रसाद जैसवाल बताउँनुहुन्छ । उहाँका अनुसार भजनकीर्तन मण्डली, ‘साउण्ड सर्भिस’, ‘टेन्ट’, भोजभतेरलगायतको व्यवस्थापनका क्रममा आयोजक पक्षले थप आर्थिक दायित्व व्यहोर्नुपरेको हो ।

यसैगरी मध्यतराईका गाउँ–बस्तीमा विवाहअघि भगवान महादेवलाई प्रसन्न पार्न रुद्री पाठ, बसाहा (गोरु) पूजा, र शिवलिङ्गको लखराव पूजा गर्ने चलन पनि बढेको देखिन्छ । यसका लागि २०–२५ जना पुजारीद्वारा माटोले बनाइएका एक लाख २५ हजार शिवलिङ्गको सामूहिक पूजा गरिने धार्मिक विधि रहेको सरमुजुवा गाविसका पूर्वअध्यक्ष रामलोचन जैसवाल बताउनुहुन्छ ।

सन्तान नहुने दम्पतीले भाकलसहित तीर्थव्रतपछि जन्मेका सन्तानको विवाहअघि भगवान् शङ्कर र विष्णुलाई खुसी पार्न २४सैँ घण्टा अखण्ड अष्टयाम आयोजना गर्ने चलन पनि यस क्षेत्रमा बढ्दै गएको देखिन्छ ।

दुःखकष्टबिना खोटरहित सकुशल सन्तानको जन्म भएमा वाचा गरिएअनुसार लखराव, अष्टयाम गर्ने चलन रहेको मौलापुर नगरपालिका–३ का ७३ वर्षीय अनिल ठाकुरले जानकारी दिनुभयो ।

गसैगरी पछिल्लो दशकमा हनुमानको आराधना गर्ने चलन पनि बढेको बौद्धिमाई नगरपालिका–८ पूर्ववडाध्यक्ष उपेन्द्र दास बताउनुहुन्छ । उहाँका अनुसार पहिले मङ्गलबार र शनिबार मात्र आरधना गरिँदैआएकामा हिजोआज हप्तामा सातै दिन सङ्गीतमय वातावरणसहित पूजाआजा र आरधना गर्ने चलन बढेको छ ।

यसकिसिमका धार्मिक क्रियाकलाप एवं अनुष्ठानका कारण देशको मध्यतराईस्थित रौतहट, बारा, पर्सालगायत आसपासका मधेसी समाजमा धार्मिक आस्था, मौलिक संस्कृति, आपसी सद्भावसहित भारचाराको सम्बन्ध विस्तारमा सहयोग पुगेको देखिन्छ ।