२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान्सर रोगसंग लड्दै ४९ वर्षीय शिवकुमार, सहयोगको याचना



अ+ अ-

भद्रपुर । ८ वर्षयता घाँटीको क्यान्सर रोगसित लड्दै आएका भद्रपुर ७ काफ्ले टोलका ४९ वर्षीय शिवकुमार महत रकम अभावमा उपचार सेवाबाट बञ्चित भएका छन् । २ सन्तानका पिता समेत रहेका महत दैनिक ज्यालादारी र मजदुरी गरेर परिवार पाल्दै आइरहेका भए पनि रोगले च्यापेपछि गाँस जुटाउन मात्र होइन औषधी खान समेत नपाएर छट्पटिएका हुन् ।

आफ्नो र परिवारको नाममा जग्गा जमिन समेत नरहेका सुकुमबासी महतले ८ लाख बढी खर्चेर अहिलेसम्म ज्यान त बचाए तर यस अगाडि कसरी उपचार गर्ने ? भन्ने चिन्ताले पिरोलेपछि सामाजिक अभियन्ता भुपाल बस्नेतलाई गुहार्न पुगेका छन् । गंगामाया नरबहादुर बस्नेत क्यान्सर, मृगौला उपचार सहयोग केन्द्र मार्फत भुपालले महत बचाउ अभियानका लागि चन्द्रगढी र भद्रपुर बजारमा सहयोग जुटाएर क्यान्सर उपचार केन्द्रमा लैजान पहल थालेका छन् । चैत्र ७ गते झापा सदरमुकाम स्थित चन्द्रगढी र भद्रपुर बजार क्षेत्रमा सहयोग जुटाउने अभियान चलाउने जानकारी दिँदै गरिबले अस्पतालको मुख हेरेर मात्र मर्न पाउने वातावरण निर्माण गरिदिन सवैसित अनुरोध समेत गरेका छन् ।

पीडित महतकी श्रीमती निर्मलाका अनुसार दुई महिना यता शिवलाई क्यानसरसितै मृगौलामा संक्रमण बढेपछि नोवेल मेडिकल कलेज विराटनगर तथा भद्रपुर स्थित मेची अस्पतालमा उपचारका लागि राखिएको भए पनि यी अस्पतालले भारतको भेल्लोर लैजान सुझाव दिएको बताइन् । उनका अनुसार त्यहाँ लगेर उपचार गर्ने खर्च रकम छैन । सवैले सहयोग गरिदिए शिवको ज्यान बच्ने भन्दै निर्मलाले सहयोगको याचना गरेकी छिन् । मेची अस्पतालको बेडमा छट्पटाइरहेका शिवका दुवै आखाबाट मृत्युको त्रासले आँशु बगिरहेका थिए । बोलन समेत राम्ररी नसक्ने उनले सहयोगको याचना भने गरिरहेको देखिन्थ्यो ।