१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन ठगी प्रकरणमा पक्राउ



अ+ अ-

काठमाडौं । नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन ठगी प्रकरणमा पक्राउ परेका छन् ।

प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिले ठगी गरेको प्रकरणमा मुछिएका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भट्टचनलाई काठमाडौंस्थित निवासबाटै पक्राउ गरेको हो ।

सीआईबीको टोलीले भट्टचनबाट केही कागजातसमेत जफत गरेको छ ।

बैंक, हेलिकोप्टर, सहकारीसहित कयौँ व्यापारिक संस्था चलाइरहेको प्रभु ग्रुपको त्यस कम्पनीमाथि रेमिट्यान्स भुक्तानीको रकम फिर्ता नगरेको आरोप लागेको छ । प्रभु म्यानेजमेन्ट प्रालिले कम्तिमा पनि १६ वटा सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा छानबिन चलिरहेको थियो ।

त्यसबेला प्रभु म्यानेजमेन्टका अध्यक्षमा उनै देवीप्रसाद भट्टचन थिए । भट्टचन २०७४ को निर्वाचनमा एमालेबाट समानुपातिक सांसद बनेका थिए । तर अहिले उक्त कम्पनी कुसुम लामाले सम्हालिरहेकी छन् ।

विदेशबाट आउने रेमिट्यान्स वितरणका लागि एजेन्ट बनाइदिने भन्दै प्रभु म्यानेजमेन्टले सहकारीहरूबाट रकम लिएको खुलेको छ । तर उक्त रकम फिर्ता नगरेपछि पीडित सहकारीहरूले उजुरी दिएका थिए । एजेन्ट पनि भट्टचनकै कार्यकालमा बनाइएको थियो ।

भट्टचन नेतृत्वको कम्पनीले रकम फिर्ता नगरेको भन्दै गोरखा जिल्लाका सहकारीहरूले संयुक्त रूपमा ९९ लाख ३७ हजार रुपैयाँ ठगी भएको दाबीसहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए ।

प्रभु म्यानेजमेन्टले गोरखास्थित हिमचुली बचत तथा ऋण सहकारी संस्थाको २ लाख २२ हजार, गोरखा बचत तथा ऋण सहकारी संस्थाको ३ लाख १४ हजार रुपैयाँ, दैनिक उत्थानको १० लाख १० हजार, भीमसेन–८ को सिर्जनशील बचतको १७ लाख २० हजार, भीमकुल बचतको ३ लाख ९२ हजार र सिद्धिगणेश बचतको १ हजार ५ सय रुपैयाँ फिर्ता नदिएको खुलेको थियो ।

सनराइज बचतको १ लाख ५ हजार, सुलिकोट बहुउद्देश्यीय बचतको १३ लाख १३ हजार र ससारी बचतको ५ लाख ८ हजार रुपैया फिर्ता लिन बाँकी थियो ।

उता गोरखकाली बचतको ३ लाख, महिला जागरण बारपाक सुलिकोट बचतको १ लाख १० हजार, गोरखा उद्यमशील बचतको ३ लाख ११ हजार, चम्पावती बचतको ३ लाख ८ हजार, थालाजुङ विकास बहुउद्देश्यीय बचतको २ लाख ४० हजार, सप्तकोशी बचतको २ लाख ४१ हजार र शीतला बचतको २८ लाख ३५ हजार लिन बाँकी रहेको पीडितहरूले बताएका थिए ।

प्रभु म्यानेजमेन्टले देशभर चार सय सहकारीलाई एजेन्ट बनाउँदा धरौटी रकम लिएको थियो । तर रेमिट्यान्सबापत सहकारीले भुक्तानी गरेको रकम यो कम्पनीले फिर्ता दिएको थिएन। यो कम्पनीले सहकारीहरूको करिब १ अर्ब रकम फिर्ता नदिएको सीआईबीको अनुसन्धानबाट पनि खुलेको छ।

अर्कातिर भक्तपुरका १८ वटा सहकारी संस्थाको ५२ लाखभन्दा बढी रकम प्रभु म्यानेजमेन्टले दिएको थिएन । प्रभु म्यानेजमेन्टले २ वर्षदेखि सम्झौताअनुसार भुक्तानी रोकेको पीडितहरूको गुनासो थियो ।