२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटक भन्छन्- ‘मानुङकोटको सुन्दरताले लोभ्यायो’



अ+ अ-

दमौली, (तनहुँ) । “सामाजिक सञ्जालमा मानुङकोटका दृश्य देखेका थियौँ, आज प्रत्यक्ष आँखाले हेर्दा झनै मनमोहक लाग्यो”, पोखराकी लक्ष्मी कार्कीले भन्नुभयो, “यहाँबाट देखिने सूर्योदय, हिमशृङ्खलाले लोभ्यायो ।”

पोखराबाट सोमबार बिहान २:०० बजे गाडी भाडामा लिएर व्यास नगरपालिका–५ मानुङकोट आउनुभएकी उहाँले मानुङकोटको सुन्दरता टिकटक र फेसबुकमा हेरेभन्दा अझ राम्रो लागेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “मानुङकोटका बारेमा धेरै सुनेका थियौँ, साथीहरूसँग सल्लाह गरेर चार जना मिलेर आएका हौँ ।”

काठमाडौँबाट आउनुभएकी लुनिभा श्रेष्ठले मानुङकोटको सुन्दरताले मोहनी लगाउने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “आउन मन भए पनि पहिला विविध कारणले आउन सकिराखेकी थिइँन, अहिले तिहार बिदाका कारण यहाँ आउने वातावरण जुर्‍यो, दृश्यले लोभ्यायो ।”

दमौलीका सुदीप गफ्फारले यतिबेला मानुङकोटमा पर्यटकको अत्यधिक चहलपहल भएकाले होटल व्यवसायीसँग पहिल्यै सम्पर्क गरेर आउनुपर्ने अवस्था रहेको बताउनुभयो ।

चिसो मौसम सुरु भएसँगै मानुङकोटमा यतिबेला दैनिक पर्यटकको चहलपहल बढेको छ । हाल दैनिक एक हजारभन्दा बढी पर्यटक मानुङकोट पुग्ने गरेका छन् । सोमबार बिहान करिब दुई हजार पर्यटकले मानुङकोटबाट दृश्यावलोकन गरेका छन् ।

मानुङकोटस्थित अम्ब्रेला रेष्टुराँका सञ्चालक शैलेश सुनामले यतिबेला मानुङकोटमा पर्यटकको सिजन रहेको जानकारी दिँदै दसैँ तिहारसँगै पर्यटकको चहलपहल बाक्लिएको बताउनुभयो । चिसो मौसममा सूर्योदय, कुहिरो, सूर्यास्तले यहाँ आउने पर्यटक लोभिने गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “अहिलेका बेला भनेको पर्यटकको चाप हुने समय हो, पहिल्यै आफ्नो बस्ने स्थान सुरक्षित गरेर आउँदा सहज हुन्छ । हामीले प्रतिव्यक्ति रु एक हजार २०० मा रातको बास, खाना र बिहानको नास्ता उपलब्ध गराइरहेका छौँ ।” उहाँले आफ्नो रेष्टुराँमा दैनिक ७० जना बास बस्ने क्षमता रहेको जानकारी गराउनुभयो ।

मानुङकोटमा पर्यटक उक्लिनेक्रम बढेपछि यहाँ होटल खुल्नेक्रम बढेको छ । विगतमा होटल नरहेको यस ठाउँमा अहिले एक दर्जन सञ्चालनमा छन् । दृश्यावलोकनका लागि व्यास नगरपालिकाले दृश्यावलोकन स्तम्भ निर्माण गरेको छ भने सुरक्षाका लागि डाँडाको छेउमा रेलिङ हालेको छ । रेलिङसँगैको भागमा हालै पैदलमार्ग निर्माण गरिएको छ ।

मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता परासर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ ।

मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुन:मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । खानेपानीको अभावमा यहाँका स्थानीयवासीले गाउँ छाडेका थिए । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ ।

मानुङकोट जाने सडक कालोपत्र भइसकेको छ । सहरी विकास मन्त्रालयको आर्थिक लगानीमा मानुङकोटसम्म पुग्ने सडक कालोपत्र गरिएको हो । अलैँचेबाट मानुङकोटसम्मको चार हजार ३०० मिटर सडक कालोपत्र भएको हो । कालोपत्र गर्न अप्ठ्यारो रहेको ठाउँमा १८० मिटर आरसिसी ढलान गरिएको व्यास नगरपालिका कार्यालयले जनाएको छ । रासस