काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ को पाँचौं त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालले अमेरिकाविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
यसैबीच अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ । दुबइ अन्तरराष्ट्रिय रङ्गशालामा टस हारेर पहिले ब्याटिङ थालेको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर २६२ रनको योगफल तयार गर्यो ।
अमेरिकाका लागि स्मित पटेल र मिलिन्द कुमारले अर्धशतकीय इनिङ्स खेले । पटेलले १०० बलमा ७५ रन बनाउँदा कुमार ५० बलमा ७० रनसहित अविजित रहे । यस्तै, सैतेजा मुक्कामल्लले ४२, शुभम रन्जनेले १९, हर्मित सिंहले १६ रन जोडे ।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए ।










