२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

किबीखेतीप्रति गुल्मीका किसानको बढ्दो आकर्षण



अ+ अ-

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेका ५६ वर्षे यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थाल्नुभएको छ । परम्परागत रुपमा मकै र कोदोखेती मात्र खेती गरिँदै आएको उहाँले बारीमा किबीका बोट देख्न सकिन्छ । उहाँले किबी खेतीबाट मात्रै वार्षिक रु छ लाखभन्दा बढी आम्दानी गर्दै आएको बताउनुभयो ।

सत्यवती गाउँपालिका–८ मा वडा सदस्य समेत रहनुभएका थापाले विगत ११ वर्षअघि व्यावसायिक रुपमा किबीखेती गर्न सुरु गर्नुभएको हो । उहाँले हाल आठ रोपनीमा यलिसन, हेवार्ड, रेड, गोल्डेन, ब्रुनो र मोन्टी गरी छ वटा किबीका जात लगाउनुभएको छ ।

जलवायु र भौगोलिक संरचनाका हिसाबले भार्से किबीखेतीका लागि उपयुक्त ठाउँ मानिन्छ । उहाँले गत वर्ष किबी र बिरुवा गरी रु छ लाख आम्दानी गर्नुभएको थियो । अहिले गत वर्षको तुलनामा अझै राम्रो हुने अपेक्षा गरिएको थापाले बताउनुभयो ।

किबीले खेती गरेको तीन वर्षबाटै उत्पादन दिन थालेपछि थापालाई किबीखेती गर्ने उत्प्रेरणा जागेको होे  । उहाँको बारीमा एउटै बोटमा ५० देखि एक क्विन्टलसम्म किबी फल्ने गरेको छ । बारीमा अहिले १५० वटा किबीका बोट छन् ।

सुरुमा थापाले तार, पाइप र खम्बा बनाउनका लागि रु आठ लाख खर्चेर व्यावसायिक रुपमा किबीखेती गर्न सुरु गर्नुभएको हो । “त्यही लगानीले अहिलेसम्म काम गरेको छ, यो बहुवर्षीय भएको कारण एकपटक लगाएपछि ५० वर्षसम्म आम्दानी लिन सकिन्छ, त्यसैले यसैमा रमाएको छु”, उहाँले भन्नुभयो । किबीमा अन्य जातका फलफूलमा भन्दा रोग खासै नलाग्ने भएको उहाँले बताउनुभयो । “वर्षमा दुई पटक हाँगाहरु काँटछाँट गर्नुपर्छ, गोठेमल मात्र प्रयोग गर्दैैै आएको छु, त्यसैअनुसार उत्पादन पनि राम्रो हुँदै गएको छ”, थापाले भन्नुभयो ।

उत्पादित किबी बजारमा रु २०० देखि ३०० सम्ममा बिक्री भइरहेको छ । भार्सेको किबी स्थानीय बजारदेखि पाल्पा र बुटवलसम्म पुग्ने गर्दछ । उहाँले किबीलाई प्रशोधन गरेर गत वर्षदेखि किबीको वाइन बनाउन सुरु गर्नुभएको छ । बजारमा किबीको वाइनको राम्रो माग भएको थापाले बताउनुभयो । किबी बिक्री गर्न बजारको खासै समस्या नभएको थापाको भनाइ छ । उहाँले पाँच वर्षदेखि किबीको नर्सरीसमेत गर्दै आउनुभएको छ । उहाँको नर्सरीमा यतिबेला आठ हजार किबीका नयाँ बिरुवा छन् । एउटा बिरुवालाई रु १५० देखि २०० सम्म पर्ने गर्दछ ।

सत्यवती गाउँपालिकाले भार्से गाउँलाई किबीको पकेटक्षेत्र घोषणा गरी कृषकलाई उत्प्रेरित गर्दै आएको छ । किबीखेती विस्तारका लागि पालिकाबाट प्राविधिक सहयोगदेखि आवश्यकताअनुसारको तालिम, टनेल, नर्सरी तथा विरुवामा अनुदान उपलब्ध गराउँदै आएको सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले बताउनुभयो ।

किबीका अन्य जातमध्येमा गोल्डेन र रेड किबी सबैभन्दा राम्रो मानिन्छ । यसको मूल्य अन्य जातको किबीकोभन्दा रु एक सय बढी पर्दछ । यस पटक गोल्डेन किबीले राम्रो मूल्य पाएको छ । भार्सेमा पाँच वटा किबी समूह रहेका छन् । उक्त समूहमा हाल ८० जना कृष आबद्ध छन् । त्यहाँका कृषकको घरमा दशदेखि एक सय ५० बोटसम्म किबीका बोट छन् । उक्त क्षेत्रमा अहिले ४० हेक्टर क्षेत्रफलमा किबी उत्पादन हुँदै आएको छ ।रासस




भर्खरै