२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनासँग आत्तिनू पर्दैन, ज्ञानगुनका किताब पढ्नूहोस् : मन्त्री मानन्धर



अ+ अ-

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले आवश्यक सबै प्रवन्ध मिलाएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । नागरिकको जिवन रक्षाका लागि सरकारले अथक मेहनत गरिरहेको बताउँदै मन्त्री मानन्धरले लकडाउनको पुर्ण पालना गर्न पनि सर्वसाधारणलाई आग्रह गरेका हुन्।

मन्त्री मानन्धरले सामान्य हेलचक्राईंले विपद् आउनसक्ने भन्दै सतर्क रहनु नै उत्तम उपाय भएको भन्दै सहरी क्षेत्रका बासीन्दालाई विश्ष सतर्कता अपनाउन आग्रह गरेका छन् । मानन्धरले काठमाडौं उपत्यकामा क्वारेन्टाइनका लागि तयारी गरिएका स्थलहरुको अभाव हुने अवस्था आए तत्काल नयाँ क्वारेन्टाइन स्थल निर्माणका लागि सहरी विकास मन्त्रालय तयारी अवस्थामा रहेको पनि बताए ।

काठमाडौंमा खुला स्थानका रुपमा चक्रपथ सहित फराकिला सडकका किनारामा अस्थायी शौचालयसहितको अस्थायी क्वारेन्टाइन बनाउन सकिने मन्त्री मानन्धरको तर्क छ । मन्त्री मानन्धरले काठमाडौं महानगरले किटनाशक औषधि छर्कने काम थालेको बताउँदै भित्री सहरमा पनि उक्त व्यवस्था मिलाईने बताए ।

समय अभावका कारण अध्ययन गर्न नपाएकाहरुलाई मन्त्री मानन्धरले धार्मीक ग्रन्थहरु र ज्ञानवर्दक पुस्तक अध्ययन गर्न आग्रह समेत गरेका छन् । बेद,पुराण, रामायण, महाभारत लगायतका हिन्दु ग्रन्थहरुमा व्याख्या गरिएका विषय वर्तमान अवस्थामा जीवनोपयोगि देखिएको भन्दै मन्त्री मानन्धरले घरमा बसेका नेपाली युवालाई ति पुस्तक अध्ययन गर्न सुझाव समेत दिएका छन् ।

उनले त्रिपिटक, कुरान, बाइबल लगायत विभिन्न धर्मका ग्रन्थहरुको समेत अध्ययन गर्न सुझाव दिएका छन् । मन्त्री मानन्धरले बालबालिकालाई योग, ध्यान र संस्कारका बारेमा व्यावहारीक ज्ञान दिलाउने अवसरका रुपमा लिन पनि अभिभावकलाई आग्रह गरेका छन् ।