काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको शव आज (सोमबार) नेपाल ल्याइएको छ ।
उनको शव केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।
विमानस्थलमा प्रधानमन्त्री, मन्त्रीहरू, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू, सुरक्षाकर्मी तथा विपिनका परिवारजनले उनको पार्थिव शरीरप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
विदेश अध्ययनका क्रममा इजरायल पुगेका विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा बन्धक बनाइएका थिए । लामो समयसम्म उनको अवस्था अज्ञात रहँदै आएकोमा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए ।
इजरायल र हमासबीच युद्धविरामपछि बन्दी साटासाट प्रक्रियाका क्रममा हमासले विपिनको शव इजरायली पक्षलाई हस्तान्तरण गरेको थियो । डीएनए परीक्षण र फरेन्सिक जाँचका आधारमा शव विपिनकै भएको पुष्टि भएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरूले जनाएका छन् ।
नेपाल ल्याउनुअघि आइतबार तेल अवीवस्थित खटिभा ८ स्मारक र बेनगुरिएन विमानस्थलमा उनको पार्थिव शरीरप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । श्रद्धाञ्जलीका क्रममा उनको कफिनमा नेपाली झण्डा ओढाइएको थियो ।
विपिनको शव आजै कञ्चनपुरको भिमदत्तनगरस्थित घरमा लगिने र त्यहीँ अन्तिम दाहसंस्कार गरिने तयारी गरिएको छ ।










