१४ श्रावण २०८३, बिहीबार
,
Latest
केराको मूल्यवृद्धि भयो, बजार अनुगमन गर्नुपर्यो : केरा उत्पादक सङ्घ राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज, समसामयिक सुरक्षा अवस्थाबारे छलफल हुने सप्तरीमा नयाँ ३३/११ केभी सबस्टेसन सञ्चालनमा, १५ हजार उपभोक्ता लाभान्वित हुने माग प्रमाणीकरणमा नयाँ व्यवस्था, वैदेशिक रोजगारीमा जाने श्रमिकको कामको विस्तृत विवरण अनिवार्य ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम राष्ट्रपति पौडेल र सभामुख आर्यालबीच भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल इराकमा इरान समर्थित लडाकु समूहमाथि अमेरिका र साउदी अरबद्वारा हवाई आक्रमण इरानमाथि कडा जवाफी कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी अमेरिकी र साउदी हवाई आक्रमणमा मारिएका सुरक्षाकर्मीको इराकमा अन्त्येष्टि ‘आइपीओ रोकेर धितोपत्र बोर्डले निजी क्षेत्रमाथि अपराध गर्‍यो’: इप्पान अध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अकबरे खुर्सानी खेतीबाट वार्षिक ५५ लाख आम्दानी



अ+ अ-

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका युवा ठंगजीत राईले व्यावसायिक खुर्सानीखेतीबाट वार्षिक रु ५५ लाख आम्दानी गर्दै आउनुभएको छ । आफ्नै गाउँमा कृषिकर्मबाट उद्यमी बन्ने लक्ष्यका साथ उहाँले ४२ रोपनी क्षेत्रमा करिब ३२ हजार बोट खुर्सानीखेती गर्नुभएको हो ।

आफ्नै ठाउँमा कृषिकर्म गरेर उदाहरणीय बन्ने उद्देश्यले व्यावसायिक खुर्सानी खेतीमा जुटेको राईले बताउनुभयो । करिब आठ वर्षअघिदेखि मौसमी र बेमौसमी दुवै प्रकारका खुर्सानीखेती गर्दै आउनुभएका उहाँ जिल्लाका परिचित खुर्सानी किसान हुनुहुन्छ ।

“खुर्सानीखेतीबाट वार्षिक रु ५५ देखि रु ६० लाखसम्म आम्दानी गर्छु”, किसान राईले भन्नुभयो, “४२ रोपनी जग्गा भाडामा लिएर ३२ हजार हाराहारी बोट लगाएको छु । गत वर्ष पनि रु ५० लाख बढी आम्दानी भएको थियो ।”

खुर्सानीखेतीका लागि उहाँले वार्षिक रु दुई लाख तिरेर ६५ रोपनी जग्गा भाडामा लिएको जानकारी दिनुभयो । यस वर्ष खेतीका लागि करिब रु १२ लाख  लगानी गरेको जनाउँदै उहाँले युवामा विदेशप्रतिको मोह बढिरहेको समयमा आफूले भने आफ्नै बारीमा व्यावसायिक रूपमा कृषिकर्म गरिरहेको बताउनुभयो ।

विभिन्न तीन ठाउँमा जग्गा व्यवस्थापन गरेर खेती गर्दै आउनुभएका राईले हाल चार जनालाई रोजगारीसमेत दिनुभएको छ । सडक पहुँच राम्रो भएकाले उत्पादन भएको खुर्सानी घरबाटै बिक्री गर्न सहज भएको उहाँको भनाइ छ ।

पौवादुङमामा उत्पादन भएको खुर्सानी धरान, इटहरी, विराटनगर, झापा र काठमाडौँसम्म बिक्रीका लागि पठाउने गरिएको गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिनुभयो । उहाँका अनुसार खुर्सानीखेती अहिले पालिकाको मुख्य आम्दानीको स्रोत बनेको छ ।

किसानलाई व्यावसायिक योजनाका आधारमा सहयोगका कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाका अध्यक्ष किरण राईले बताउनुभयो । “अकबरे खुर्सानी हाम्रो गाउँपालिकाको प्रमुख आम्दानीको स्रोत बनेको छ”, उहाँले भन्नुभयो, “हामीले कृषि क्षेत्रमा लगानी बढाउँदै भूगोल सुहाउँदो खेतीमा जोड दिइरहेका छौँ ।”

गाउँपालिकाले कृषि एम्बुलेन्स खरिद गरेर स्थानीय उत्पादनको बजारीकरणमा समेत सहयोग पुर्‍याउँदै आएको छ । खुर्सानीखेतीको विस्तारका लागि गत आर्थिक वर्षमा गाउँपालिकाले ७५० किसानलाई करिब रु ७० लाख बराबरको ‘मल्चिङ प्लास्टिक’सहित आवश्यक कृषि सामग्री वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो ।

गाउँपालिकाले सञ्चालन गरेको सहयोगात्मक कार्यक्रमका कारण यस वर्ष खेती विस्तार भएको उहाँको भनाइ छ । उहाँका अनुसार अहिले पौवादुङमामा करिब ५०० हेक्टर क्षेत्रमा करिब ९०० किसानले व्यावसायिक रूपमा अकबरे खुर्सानीखेती गर्दै आएका छन् ।




भर्खरै