२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

सिमाना कुर्न बसेको ‘चिमाङ’ गाउँको मौलिकता

सिमाना कुर्न बसेको ‘चिमाङ’ गाउँको मौलिकता
अ अ+ अ-

मुस्ताङ । झण्डै पाँच सय वर्षअघि यहाँको घरपझोङ–५ ठिनीमा राजा थर्कोचेनले शासन चलाएका थिए । मुस्ताङको पान्डाखोलादेखि तल्लो भूभाग चिमाङ र चोखोपानी खोलासम्म राजा थर्कोचेनको राज्य थियो ।

राजा थर्कोचेनको राज्य सुरक्षाका लागि बसाइलिएको बस्ती हो मुस्ताङको घरपझोङ–१ चिमाङ गाउँ । राजा थर्कोचेनले त्यस समय ठिनी गाउँमा रहेको तीन गाउँले थकाली समुदायमध्येको एक ध्याकल फोपे समूहलाई आफ्नो राज्यको सिमाना कुर्न र त्यहाँको रेखदेखका लागि बस्ती बसालेका थिए भन्ने भनाइ छ ।

समुद्री सतहको करिब तीन हजार मिटरभन्दा माथि उचाइको भिरालो स्थान चाखोपानी खोलाको भिरको थुम्कोमा सिमाना कुर्न बस्ती बसालेको चिमाङ गाउँका अगुवा इन्द्रप्रसाद थकाली बताउनुहुन्छ । सुरुआती चरणमा यहाँ सिमाना रक्षाका लागि ठिनी गाउँबाट ध्याकल फोपे समूहलाई बस्ती बसालेर स्थानान्तरण गरेको अगुवा उहाँको भनाइ छ । त्यस समय यहाँ बस्ती बसालेर सिमाना रक्षाका खटिएका समूहलाई दु:ख, बिरामी हुँदा झारफुक गर्ने र दैवी तथा प्राकृतिक प्रकोपबाट मुक्त गराउन पूजापाठका लागि ठिनीका राजाले त्यहीका झाँक्री फोपे समूहलाई पनि चिमाङ गाउँमै स्थानान्तरण गरेका अगुवा थकालीको भनाइ छ । त्यसपछि यहाँ ठिनीका राजाको सिमाना कुर्न ध्याकल र झाँक्री फोपेको संयुक्त बस्ती बसेको बताइन्छ ।

यहाँको चिमाङ गाउँ राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकबाट कालीगण्डकीपारि अग्लो स्थानमा अवस्थित रहेको कृषि गाउँका रूपमा परिचित छ । यहाँ सुरुआती चरणमा ३५ घरपरिवारको बसोबास रहेकामा पछिल्लो समय यो बस्ती मिश्रित बस्तीका रूपमा परिणत भएको छ । सीमारक्षाका लागि त्यस समय बसेको चिमाङ बस्तीका एकतिहाइ घरपरिवारले बस्ती छाडिसकेको चिमाङका अगुवा इन्द्रप्रसाद थकाली बताउनुहुन्छ । उहाँका अनुसार यहाँका कतिपय घरपरिवार वैकल्पिक व्यापार व्यवसाय र रोजगारीका लागि पोखरा–काठमाडौँलगायत सहरमा पलायन भएका छन् । गाउँमा कृषिबाहेक अन्य सम्भावना नरहेको र भौगोलिक रूपले समेत विकट स्थानमा रहेकाले बस्तीमा पुराना मानिसको सङ्ख्या घट्दै गएको छ ।

त्यसो त यहाँको पुरानो बस्ती चिमाङमा स्थानीय घरपरिवारले बस्ती त्यागे पनि रुकुम, धादिङ र म्याग्दीबाट मानिस यहाँ आएर बस्न थालेका छन् । यहाँ स्थानीय दलित समुदायको पनि करिब पाँच–छ घर रहेको उहाँको भनाइ छ । तीन गाउँले थकाली समुदायका रूपमा यहाँको घरपझोङ गाउँपालिकाको ठिनी, स्याङ र चिमाङ गाउँ रहेका छन् ।

यहाँको चोखोपानी खोला नजिकै भिरालो पाखोमा बसेको चिमाङ गाउँमा परम्परागत पुराना सांस्कृतिक घरहरूको बनावट निकै लोभलाग्दो र आकर्षक देखिन्छन् । निलगिरि हिमालको फेदैमा अवस्थित घना जङ्गलको मुनि चिमाङ गाउँ अवस्थित छ । यो गाउँ थकाली समुदायको सांस्कृतिक गाउँका रूपमा समेत परिचित छ ।

भौगोलिक जटिलता भएको स्थानमा त्यस समय ठिनीका राजाले बस्ती बसालेका भए पनि त्यहाँ बसोबास गर्नेहरूको दैनिकी निकै कष्टकर नै थियो । नागरिकको आधारभूत सेवा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र प्रशासनिकलगायतका सेवा निकै असहज थियो । गाउँसम्म पुग्ने सडक, सञ्चार, विद्युत् र कालीगण्डकी नदीमा पुल नहुँदा यहाँका नागरिक विभिन्न प्रकार सास्ती भोग्न बाध्य थिए ।

पछिल्लो समय यस गाउँको स्वरूपमा पहिलेको भन्दा निकै परिवर्तन आइसकेको छ । गाउँमा आधारभूत तह ९१–५० सम्मको शिक्षा उपलब्ध गराउन विद्यालय खुल्यो । तर यहाँ बस्ती विस्थापित हुने क्रम, जन्मदर घट्दो हुनु र केही हुनेखानेले सुगम विद्यालयमा पढाउनेलगायत कारण यहाँका विद्यालयमा विद्यार्थी सङ्ख्या निकै कम छ । त्यसैगरी, यहाँको चिमाङ गाउँमा स्थानीय नागरिकको स्वास्थ्य सेवाका लागि आधारभूत स्वास्थ्य केन्द्र स्थापना भइसकेको छ । सेवाबाट चिमाङका नागरिकले साधारण उपचार गाउँमै पाएको अगुवा इन्द्रबहादुर थकालीको भनाइ छ । उहाँका अनुसार गाउँमा विद्युत्, सञ्चार, सडकलगायत सेवाको पहुँच विस्तार भएकाले चिमाङमा सम्भावना ढोका खुलेको उहाँले बताउनुभयो । हालै कालीगण्डकी नदीमा पक्की पुल बनेको र गाउँसम्म जाने कच्ची सडक विस्तार भएकाले गाउँसम्म मोटर पुग्न थालेको छ ।

जलवायु परिवर्तन र वन्यजन्तुको आतङ्कले चिमाङ गाउँका स्थानीयलाई निकै हैरानी बनाएको छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण स्याउ बगैँचा व्यवस्थापन गर्ने समयमा हिउँ नपर्दा कृषि उत्पादनमा प्रतिकूल असर पुगेको अगुवा थकाली बताउनुहुन्छ । यहाँ स्याउलगायत अन्नबालीलाई पर्याप्त चिस्यान चाहिने र अनुकूल समयमा हिउँ नपर्दा उत्पादन कम हुने अन्नबालीमा विभिन्न रोगकीराको सङ्क्रमण देखिएको उहाँले बताउनुभयो ।

त्यसैगरी, चिमाङका किसानले मेहेनतले गरेको खेती पनि संरक्षित वन्यजन्तु हिमाली कालो भालुले रातिको समयमा खेतबारीमा पसेर सखाप पारिदिने गरेको छ । यहाँका किसानले स्याउ र अन्य अन्नबाली जोगाउन रातिको समय थाल, टिन र ढ्याङ्गो ठटाएर भालु धपाउने काम गर्दै आइरहेका छन् । यहाँ किसानले उत्पादन गरेको अन्नबाली जोगाउन वैज्ञानिक रणनीति अख्तियार गर्नुपर्ने अगुवा थकालीले सुझाउनुभयो । यहाँ केही वर्षअघि भालु धपाउने यन्त्र प्रयोग गरिएको भए पनि त्यो सफल नभएको उहाँले जनाउनुभयो । एक्यापले यहाँको खेतीयोग्य जमिनमा तारबार लगाएको भए पनि भालुको आतङ्क नरोकिएको उहाँको भनाइ छ ।

यहाँको प्राचीन बस्ती चिमाङ पर्यटकीय गन्तव्यका रूपमा पनि निकै सम्भावना बोकेको गाउँका रूपमा लिने गरिएको छ । चिमाङ गाउँबाट धवलागिरि हिमाल, धवलागिरि आधार शिविर, मानापाथी हिमाल र निलगिरि हिमाल निकै मनमोहक र आकर्षक देखिन्छ । त्यसैगरी यहाँबाट कालीगण्डकी करिडोर, स्याउ बगानदेखि स्याङ, मार्फा, छैरो, टुकुचे, कोवाङ र नाउरीकोटलगायत आधा दर्जन गाउँ सुन्दर देखिन्छ ।

चिमाङ गाउँ जङ्गल सफारीका लागि प्रचुर सम्भावना भएको क्षेत्र हो । गाउँबाट केही माथिसम्म जङ्गल सफारीका लागि पदमार्ग निर्माण भएको छ । गाउँमाथिको जङ्गलमा गुफा अवस्थित छ । यहाँ राउण्ड अन्नपूर्ण चक्रीय पदमार्ग रहे पनि पछिल्लो समय पदमार्गमा पर्यटक हिँड्न छाडिसकेका र पदमार्ग पनि जीर्ण बन्दै जान थालेको छ ।

गाउँमा रहेका पुराना घरहरू अहिले जोखिममा छन् । जलवायु परिवर्तका कारण वर्षा धेरै हुन थालेपछि भिरालो सतहमा अवस्थित यहाँको चिमाङ गाउँ जोखिममा रहेको अगुवा थकालीले बताउनुभयो । “पहिलापहिला त ठिकै थियो, अहिले त बढी पानी पर्न थालेको छ, वर्षाले भिर नै भासियो भने त बस्ती नै नरहने पो हो कि भन्ने चिन्ता छ”, उहाँले भन्नुभयो ।

गाउँका पुराना परम्परागत गुजमुज्ज घर पनि वर्षौँवर्षदेखिको घामपानीका असरले जीर्ण बन्दै जान थालेका छन् । परम्परागत घरको संरक्षण गर्न चासो नपुगेकै कारण कतिपय घरको अवस्था दयनीय रहेको उहाँले बताउनुभयो । सरकारले सांस्कृतिक मौलिकता झल्काउने यस प्रकारका पुराना घर जोगाउन अनुदानका कार्यक्रम ल्याउन सकेमा राम्रो हुने उहाँले बताउनुभयो । रासस