३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

व्यावसायिक कृषिमा युवाको आकर्षण

व्यावसायिक कृषिमा युवाको आकर्षण
अ+ अ-

तानसेन । तानसेन नगरपालिका–७ काजीपौवाका गम्भीरजङ्ग रायमाझीलाई पैसा कमाउन विदेश पलायन हुने सोच कहिल्यै आएन । बरु गाउँघरमै आफ्नो बारीमा खेती गर्न पाउँदा उहाँ औधी रमाउनुहुन्छ । नेपाली विषयमा स्नातकोत्तर गर्नुभएका रायमाझी १६ वर्ष उमेरदेखि नै व्यावसायिक कृषिमा लाग्नुभएको हो । अहिले उहाँको दैनिकी बारीमा फल्दै गरेका कृषिजन्यउपजको रेखदेखबाट सुरु हुन्छ ।

बिहान सबेरै उठेर तरकारीमा पानी लगाउनेदेखि गोडमेल सकेर ६ बजे नै नजिकैको क्याम्पस र एक सामुदायिक स्कुलमा पढाउन पुग्नुहुन्छ । बिहान ४ बजेसम्म अध्यापनमै व्यस्त रायमाझी छुट्टी भएपछि भने घर फर्किएर पुनः कृषि कर्ममै लाग्नुहुन्छ । उहाँलाई सघाउन माइलो भाइ सुरेन्द्र र कान्छो भाइ सुरज पनि बारीमा पुग्छन् । गोलभेँडा, काउली, बन्डा, करेला र खुर्सानी खेतीको गोडमेलमै उनीहरूको दैनिकी बित्छ ।

तीन दाजुभाइ मिलेर काजीपौवास्थित आफ्नै १३ रोपनी जग्गामा लोभलाग्दो कृषिखेती गरिरहेका छन् । माइलो भाइ सुरेन्द्रले पनि डिग्री गर्नुभएको छ भने कान्छो भाइ सुरजले होटल व्यवस्थापनमा स्नातक अध्ययन गर्नुभएको छ । पढाई सकेर दाजुभाइले गाउँमै व्यावसायिक कृषिमा रमाएको देखेर छिमेकी छक्क परेका छन् । उहाँहरुले रायमाझी एकीकृत कृषि तथा पशु फर्ममार्फत व्यावसायिक तरकारीखेती गर्दै आउनुभएको छ ।

ठूलो बुबा कमल र आमा गीतादेवीको प्रेरणाबाट १६ वर्षको उमेरदेखि नै व्यावसायिक कृषिमा लागेको गम्भीरजङ्ग बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मेरो हजुरबुबा कृषि गर्नुहुन्थ्यो, उहाँको सिको गरेर मेरा ठूलो बुबाले पनि कृषि नै गर्नुभयो, आमा सुन्तला जात तथा फलफूल विकास केन्द्र बागवानीमा काम गर्नुहुन्छ, जसको काम देखेर मलाई पनि कृषि गर्नुपर्छ भन्ने सोच पलाएको हो ।” कक्षा ९ पढ्दादेखि नै बारीमा काउली, बन्डा, सिमी फलाएर ढाक्रामा राखेर घर–घरमा बेच्न लैजाने गरेको गम्भीरजङ्ग सम्झनुहुन्छ । उहाँले तरकारी बेचेरै पढाइ खर्च चलाउने मात्र होइन, घर समेत खडा गर्नुभएको छ । सरकारी जागिर खानेको भन्दा उहाँहरूको कमाइ कम छैन । तरकारी बिक्रीबाटै उहाँहरूले वार्षिक रु पाँचदेखि छ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ ।

तानसेन नगरपालिका–१२ अवलका ३४ वर्षीय युवा नारायण राना पनि कृषि पेसामै रमाउनुभएको छ । भेटनरी अध्ययन गर्नुभएका उहाँ २०६८ सालदेखि नै मौसमी तरकारी उत्पादन गर्नुको साथै बाख्रा, कुखुरा, बङ्गुरपालन गर्दै आउनुभएको छ । गएको वर्ष उहाँले कृषि र पशुपालनबाट रु तीन लाख आम्दानी गर्नुभएको थियो । उहाँले भन्नुभयो, “पहिलोपटक २०६९ मा पशु अस्पताल तथा विज्ञ केन्द्र पाल्पाबाट अनुदान पाएको थिएँ । त्यही अनुदानबाट मलाई व्यावसायिक कृषि, पशुपालनमा लाग्न उत्प्रेरित गरेको हो ।” विदेश जान मन नलागेर कृषिमा लागेको उहाँले सुनाउनुभयो । “भविष्य यसमै देखेर व्यावसायिक रूपमा कृषि, पशुपालनमा लागेको हुँ”, उहाँले भन्नुभयो ।

यादवप्रसाद घिमिरेले पनि गाउँमै कृषि कर्मबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । कक्षा १२ को अध्ययनपछि कोरिया जाने तयारीमा रहनुभएका घिमिरे विदेशको सपना त्यागेर कृषि कर्ममा लाग्नुभएको हो । उहाँले अहिले विवेक कृषि तथा पशुपालन फर्म दर्ता गरेर व्यावसायिक कृषि गरिरहनुभएको छ । उहाँले १७ रोपनी जग्गामा तरकारी, मौसमी फलफूल उत्पादन गर्दै आउनुभएको छ । घिमिरेले मौसमी फलफूल केराका छ हजार, दराईका एक हजार बोट र अन्य तरकारी लगाउनुभएको छ ।

उहाँले भँैसीपालन समेत गर्दै आउनुभएको छ । कृषिबाट घिमिरेले वार्षिक रु छ लाखसम्म आम्दानी गर्दै आएको बताउनुभयो । वर्षभरि घरपरिवारसँगै बसेर काम गर्दा लाखौँ आम्दानी गर्न सकिने भएकाले विदेश गएर परिश्रम गर्नुभन्दा स्वदेशमै स्वरोजगार बन्नु उपयुक्त हुने घिमिरेले सुझाउनुभयो । कृषिबाटै राम्रो भविष्य रहेको भन्दै उहाँले गाउँमा भएका बाँझो जमिन समेत भाडामा लिएर व्यवसायलाई थप विस्तार गर्ने योजना बनाएको बताउनुभयो ।

रैनादेवी छहराका युवा कृषक सरोज कार्कीका दौँतरीहरू पैसा कमाउन कोही लाहुरे भए, कोही बिदेसिए । केही जागिरे भए त कोही गाउँ नै छाडे । तर उहाँलाई पैसा कमाउन कतै जानु परेन । आफ्नै बारीमा तरकारी, फलफूलका बिरुवा र सुन्तलासहित अन्तर बाली प्रणालीमा रमाइरहनुभएको छ । बाह्रै महिना भ्याइनभ्याइ छ उहाँलाई । हिउँदभर सुन्तला र वर्षामा फलफूलका बिरुवा बिक्री गर्न व्यस्त उहाँको बारीमा मौसमी तथा बेमौसमी तरकारी पनि फस्टाएको छ । “सुन्तला, तरकारी र बिरुवाबाट वर्षमा रु पाँच लाख बचत भएको छ”, उहाँले भन्नुभयो, ‘कृषिमै भविष्य खोजेर लागे अहिले मलाई यही सन्तुष्टि मिलेको छ ।”

दुई वर्षसम्म काम गरेको दुवईको जागीर छोडेर जैविक तरकारीखेतीमा होमिनुभएका तिनाउका थर्कबहादुर गाहा नमुना किसानमा दरिनुभएको छ । उहाँले गरेको तरकारी खेती हेर्न र सिक्नका लागि जिल्लाका विभिन्न ठाउँका कृषकहरू उहाँको बारीमा आउने गर्छन् । रु पाँच लाख लगानी गरेर तरकारीखेती थाल्नुभएका उहाँले अहिले तरकारीखेतीमै परिवारका पाँच जनालाई पूर्णकालीन रोजगारी पनि दिनुभएको छ । दश रोपनी जग्गामा आधुनिक प्रविधिबाट तरकारी खेती गर्दै आउनुभएका गाहाले वर्षमा रु पाँच लाखसम्म कमाउने गरेको बताउनुहुन्छ ।

कुनै बेला विदेशबाहेक अन्य रोजगारीको विकल्प नदेख्ने जिल्लाका थुप्रै युवाहरू अहिले कृषि पेसालाई राम्रो रोजगारीको माध्यम बनाइरहेका छन् । पुर्खादेखिको गुजारामुखी परम्परागत खेती गर्ने परिपाटीलाई सुधार गरेर युवाहरू व्यावासयिक हुन थालेपछि धेरैले गाउँघरमा नै रोजगारी पाएका छन् । कतिपय युवाहरूले ठूलो लगानी गरेर फलफूलखेतीको थालनी समेत गरेका छन् ।

उच्च शिक्षा अध्ययन गरेका युवाहरू कृषिमा संलग्न भएपछि पढेका मानिसले खेतीको काम गर्दा बेइज्जत हुन्छ भन्ने गलत मान्यता पनि विस्तारै हराउँदै जान थालेको छ । पछिल्लोपटक युवा पुस्ता कृषितिर लागेको कृषि ज्ञान केन्द्र पाल्पाका प्राविधिक सहायक सुरज पाण्डेले बताउनुभयो । व्यावसायिक कृषकलाई सरकारी अनुदान, आवश्यक प्राविधिक तालिम, बीउ, मल औषधि दिएपछि किसानहरू बढिरहेको उहाँको भनाइ छ । जिल्लामा ६७१ कृषि फर्म सञ्चालनमा रहेको पाण्डेले जानकारी दिनुभयो । केन्द्रले विशेषगरी युवाहरूलाई कृषिमा जोड्न आफ्ना अनुदानका कार्यक्रमहरू केन्द्रित गर्दै आएको उहाँले बताउनुभयो ।

व्यावसायिक कृषि क्षेत्रमा युवाहरूको संलग्नता बढेसँगै कृषिजन्य उत्पादनको आयात समेत प्रतिस्थापन हुन थालेको छ । जिल्लामा केही वर्षयता पशुपालनमा समेत कृषकहरू आकर्षित भएको जिल्ला भेटनरी अस्पताल तथा पशुविज्ञ केन्द्रका प्रमुख दुर्गाप्रसाद खनालले बताउनुभयो । उहाँले भन्नुभयो, “पशुपालनमा लाग्नेमा अधिकांस युवाहरू रहेका छन् ।” व्यावसायिक रूपमा लाग्ने कृषकहरूलाई अनुदान, प्राविधिक सहयोग दिँदै आएको प्रमुख खनालले बताउनुभयो । यहाँका स्थानीय सरकारले समेत युवा लक्षित कार्यक्रममार्फत युवाहरूलाई कृषिमा जोड्दै आएका छन् ।

स्थानीय तहको प्राथमिकतामा कृषि

यहाँका रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, बगनासकाली गाउँपालिका, रामपुर नगरपालिका, तानसेन नगरपालिका, निस्दी गाउँपालिका, रम्भा गाउँपालिका, पूर्वखोला गाउँपालिका, तिनाउ गाउँपालिका, माथागढी गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममै कृषिलाई प्राथमिकता दिएका छन् । कृषिबाटै आमनागरिकको आर्थिक समृद्धि हुने भएकाले कृषिलाई प्राथमिकतामा राखेर काम गर्दै आएको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले विशेषगरी अकबरे खुर्सानी, बेसार र अन्य मौसमी, बेमौसमी तरकारीलाई बढी प्राथमिकता दिएका छौँ ।” युवा कृषकहरू समेत उत्साहित भएर व्यावसायिक कृषिमा लागेको अध्यक्ष कार्कीले बताउनुभयो । स्थानीय सरकारबाट बिउबिजन, अनुदानका कार्यक्रमले कृषकहरू व्यावसायिक रूपमा आकर्षित भएको उहाँको भनाइ छ । यहाँ बजारीकरणको समस्या समेत नभएको अध्यक्ष कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “कृषकले उत्पादन गरेका कृषि उपज स्थानीय सहकारीमार्फत बजारीकरणको व्यवस्था गरेका छौँ ।”

जिल्लाका अन्य स्थानीय तहमा समेत बजारीकरणको कुनै समस्या नभएको सम्बन्धित स्थानीय तहका कृषकहरू बताउँछन् । यहाँ कतिपय स्थानमा युवाहरूले सामूहिक कृषि गरेका छन् भने केहीले एकल रूपमै व्यवसाय सञ्चालन गर्दै आएका छन् । व्यावसायिक कृषि र पशुपालन गर्ने व्यक्ति आफू मात्रै रोजगार भएका छैनन् धेरैलाई रोजगारी समेत दिएका छन् । सानो परिमाणमा वा क्षेत्रफलमा गर्दा मुनाफा कम नै भए पनि ठूलो लगानी हुँदा जोखिम र आम्दानी दुवै बढी हुन्छ ।

मेहनतका साथ काम गर्दा स्वदेशमा नै विदेश जाँदाभन्दा मनग्य लगानी गर्न सकिन्छ भन्ने धेरैले प्रमाणित गरेका छन् । व्यावसायिक कृषि र पशुपालनमा सफल भएका कृषक धेरैका लागि प्रेरणाको स्रोत समेत बनेका छन् । पछिल्लो समय दिन प्रतिदिन युवा शिक्षा तथा रोजगारीका लागि विदेशी जान थालेपछि गाउँ सुनसान बन्दैछन् । सुनसान गाउँका खेतीयोग्य जमिनमा वनमारा पलाउन थालेका छन् । गाउँमा भएका बालबालिका पढ्न बजार आउन थालेका छन् । अहिले धेरैको रोजाइ विदेश र सहर/बजार पर्न थालेका बेला पाल्पाका केही युवाहरु भने व्यावसायिक कृषिमा आकर्षित भएका छन् ।