काठमाडौं । सर्वोच्च अदालतमा आजदेखि रिट निवेदन दर्ता हुने भएको छ । जेन–जी आन्दोलनको क्रममा आगजनी भएको सर्वोच्च अदालत लयमा फर्किन थालेको छ ।
सर्वोच्च अदालत प्रशासनले आजदेखि रिट निवेदन दर्ता गर्ने जनाएको छ ।
मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरू आज २८ असोजदेखि दर्ता एवं सुनुवाइ हुने हुनेछ ।
सर्वोच्च अदालतको आइतबार बसेको फुलकोर्टको बैठकले असोज २८ गतेदेखि नयाँ मुद्दा दर्ता गर्ने निर्णय गरेको थियो ।
जेनजी युवाको प्रदर्शनको क्रममा गत भदौ २४ गते सर्वोच्च अदालत भवनमा आगजनी भएको थियो । आगजनीका कारण अधिकांश मुद्दाका मिसिल र पुराना कागजात जलेर खरानी भएका थिए ।
त्यसयता सर्वोच्च अदालतको सेवा प्रभावित भएको छ । यसअघि सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणसहित अत्यावश्यक मुद्दाको सुनुवाइ भने टेन्ट टाँगेर दिएको थियो ।
सर्वोच्चले आज रिट दर्ता गर्ने भएपछि प्रतिनिधि सभा विघटनविरुद्ध रिट दर्ताको तयारी भएको छ ।
केही कानुन व्यवसायीहरुले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै रिट दर्ता गर्न लागेका हुन् ।
नेकपा एमाले पनि प्रतिनिधि सभा पुनर्स्थापनाका लागि अदालत जाने भनिसकेको छ ।










