काठमाडौँ । नेकपा (एमाले)का युवा नेता महेश बर्तौलाले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि गम्भीर आरोप लगाउँदै उनलाई पदबाट हटाइ राज्यविरुद्धको अपराधमा तत्काल पक्राउ गरी अनुसन्धान अगाडि बढाउन माग गरेका छन् ।
बर्तौलाले सामाजिक सञ्जालमार्फत दाबी गर्दै प्रहरीबाट लुटिएका हतियार (बन्दुक र गोली) कहाँ पुगेका छन् र ती हतियार कससँग छन् भन्ने जानकारी वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याललाई पुरै स्पष्ट र शतप्रतिशत रहेको बताएका छन् ।
उनले जेनजीले गरेको सुशासन र भ्रष्टाचार अन्त्यको शान्तिपूर्ण आन्दोलनभित्र योजनाबद्ध रूपमा घुसपैठ गरी हिंसा भड्काउने, विध्वंस मच्चाउने र समग्र आन्दोलन भंग गर्ने कार्यमा गृहमन्त्रीसँग सम्बन्धित पक्षहरू संलग्न रहेको आरोप समेत लगाएका छन् ।
बर्तौलाले थप आरोप लगाएका छन् कि आन्दोलनका क्रममा सिंहदरबार, संसद, सर्वोच्च अदालत, अख्तियार भवन र विभिन्न प्रहरी चौकीमा आगजनी र तोडफोड गराउने, घर र व्यावसायिक भवनमा क्षति पुर्याउने कामका ‘प्रायोजक उत्प्रेरक’ तथा योजनाकारहरू गृहमन्त्रीसँग जोडिएका रहेका छन् ।
गृहमन्त्रीले पदभार सम्हाले लगत्तै ती फौजदारी घटना सम्बन्धी पर्याप्त प्रमाणहरू हुँदाहुँदै पनि कानुनी कारबाही नगर्न लिखित निर्देशन दिएको आरोप लगाउँदै जसका कारण देशभर अराजकता, दण्डहीनता र जघन्य अपराधहरू बढेको बर्तौलाको दाबी छ ।
उनले राष्ट्रका विरुद्ध संगठित र निर्देशित हानिकारक योजना रहेको उल्लेख गर्दै गृहमन्त्री अर्याललाई तत्काल पदबाट बर्खास्त गरी पक्राउ गरी व्यापक र स्वतन्त्र अनुसन्धान सुरु गर्न सरकार र सम्बन्धित सुरक्षा निकायहरूमा माग राखेका छन् । बर्तौलाले विशेषगरी शान्तिपूर्ण आन्दोलनको संरक्षण र अखण्डतालाई प्राथमिकता दिनुको साथै दोषीहरूलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका छन् ।










