२० भाद्र २०८३, शनिबार
,
Latest
शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्वान्टम मेकानिकल टनेलिङमा योगदानका लागि तीन वैज्ञानिकलाई भौतिकशास्त्रको नोबेल पुरस्कार



अ+ अ-

काठमाडौँ । जोन क्लार्क, मिशेल एच. डेभरेट र जोन एम. मार्टिनिसले क्वान्टम मेकानिकल टनेलिङमा अग्रगामी अनुसन्धानका लागि यस वर्षको भौतिकशास्त्रको नोबेल पुरस्कार प्राप्त गर्नुभएको छ ।

क्लार्कले क्यालिफोर्निया विश्वविद्यालय, बर्कलेमा आफ्नो अनुसन्धान गर्नुभएको हो भने मार्टिनिसले क्यालिफोर्निया विश्वविद्यालय, सान्ता बार्बरामा र डेभरेटले येल विश्वविद्यालय र सान्ता बार्बरामा काम गर्नुभएको थियो ।

“सामान्य शब्दमा भन्नुपर्दा यो मेरो जीवनको सबैभन्दा ठूलो आश्चर्य हो”, क्लार्कले आफ्नो जितबारे पत्रकारहरूसँग फोनमा प्रतिक्रिया व्यक्त गर्नुभयो ।

नोबेल समितिका अनुसार तीनै वैज्ञानिकको अनुसन्धानले ‘क्वान्टम क्रिप्टोग्राफी, क्वान्टम कम्प्युटर र क्वान्टम सेन्सरहरूजस्ता क्वान्टम प्रविधिको अर्को पुस्ता’ विकास गर्न महत्त्वपूर्ण आधार तयार गरेको छ ।

नोबेल कमिटी फर फिजिक्सका अध्यक्ष ओले एरिक्सनले भन्नुभयो, “शताब्दी पुरानो क्वान्टम मेकानिक्सले निरन्तर नयाँ चमत्कारहरू प्रदान गर्दै आएको छ । यो सबै डिजिटल प्रविधिको आधार भएकाले यसको योगदान असाधारण रूपमा उपयोगी छ ।”

यो भौतिकशास्त्र पुरस्कार प्रदान गरिएको ११९औँ पटक हो । गत वर्ष कृत्रिम बुद्धिमत्ताका अग्रणी जोन हपफिल्ड र जेफ्री हिन्टनले मेसिन लर्निङका आधारभूत संरचनामा योगदानका लागि फिजिक्स पुरस्कार प्राप्त गर्नुभएको थियो ।

यसअघि सोमबार मेरी ई. ब्रन्को, फ्रेड रामस्डेल र डा. शिमोन सकागुचीले कसरी मानव शरीरको प्रतिरक्षा प्रणालीले रोगजनकहरूलाई आक्रमण गर्छ र आफैँलाई पहिचान गर्छ भन्ने खोजीका लागि चिकित्सा क्षेत्रमा नोबेल पुरस्कार प्राप्त गर्नुभएको थियो ।

नोबेल पुरस्कारको घोषणा बुधबार रसायनशास्त्र, बिहीबार साहित्य, शुक्रबार शान्ति पुरस्कारका लागि हुँदै जानेछ । अर्थशास्त्रमा नोबेल स्मृति पुरस्कार अक्टोबर १३ मा घोषणा गरिनेछ ।

पुरस्कार वितरण समारोह डिसेम्बर १० मा स्विडेनका उद्योगपति तथा पुरस्कारका संस्थापक, डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलको (निधन सन् १८९६) को पुण्यतिथिमा आयोजना हुनेछ ।

विजेताहरूलाई एक करोड १० लाख स्विडिस क्रोनर (करिब १२ लाख अमेरिकी डलर) सहित प्रतिष्ठित सम्मान प्रदान गरिनेछ ।