काठमाडौँ । जेनजी आन्दोलनको क्रममा प्रहरीसँग सामना गर्दै भाइरल बनेका एक युवा आमाको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेल जिरेले आफ्नी आमा ५५ वर्षीया राममाया कँडेलको हत्या गरेको अनुसन्धानमा पुष्टि भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रहरीका अनुसार आइतबार राति यमबहादुरले धारिलो हतियार प्रयोग गरी आमाको हत्या गरेका हुन् । घटनास्थलबाट प्रयोग गरिएको हतियार बरामद गरिएको र उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी भेषराज रिजालले जानकारी दिए ।
आमाको हत्या भएको घटनाले गाउँ स्तब्ध भएको छ । यमबहादुर भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका भिडिओहरूमा प्रहरीसँग वादविवाद गर्दै भाइरल भएका थिए ।
उनी भिडिओमा “मेरो आँखामा डर छ ? ल हेर्नुस् म डराएको छु ? मलाई गोली हानेर मार्नुस्, म यो देश रोएको देख्न सक्दिन ” भन्ने संवाद बोलेर चर्चामा आएका थिए । तर, आमाको हत्या गरेको समाचार बाहिर आएपछि उनी पुनः चर्चामा आएका छन् ।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।










