काठमाडौँ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मौसममा सुधार हुँदै गएपछि आंशिक रुपमा सडक सञ्चालन गर्ने निर्णय गरेको छ ।
प्रशासनले आइतबार एक विज्ञप्ति जारी गर्दै काठमाडौं बाहिरिने केही मुख्य मार्गहरूलाई एकतर्फी रुपमा खुला गरिएको जानकारी दिएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘अहिले विभिन्न ठाउँहरूमा पहिरो पन्छाई एकतर्फीरुपमा सवारी सञ्चालनको लागि आवश्यक तयारी भइरहेको भन्ने सूचना धादिङ, चितवन, मकवानपुर र नुवाकोटका जिल्ला प्रशासन कार्यालयहरूबाट प्राप्त भएकाले यात्रुको चापलाई समेत मध्यनजर गरी उक्त सडकहरूमा आवागमन एकतर्फी रुपमा खुला गरिएको छ ।’
यसअघि प्रशासनले काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै बाहिरिने, काठमाडौं–नुवाकोटतर्फ जाने र दक्षिणकाली हुँदै हेटौंडा जाने सवारी आवागमन पूर्ण रुपमा रोक लगाएको थियो ।
हाल मौसममा क्रमिक सुधारसँगै धादिङ, नुवाकोट र दक्षिणकाली सडक खण्डमा पहिरो पन्छाउने काम द्रुतगतिमा भइरहेको प्रशासनले जनाएको छ ।
यातायात सञ्चालनमा सावधानी अपनाउन आग्रह गर्दै प्रशासनले सवारी चालकलाई सडकमा खटिएका सुरक्षाकर्मीको निर्देशन, ट्राफिक इशारा, संकेत र सूचनालाई गम्भीरतापूर्वक पालना गर्न अनुरोध गरेको छ ।











