एजेन्सी । भारतीय चर्चित गायक जुबिन गर्गको मृत्यु प्रकरणमा पक्राउ परेका उनका ब्यान्ड साथी (गायक)शेखर ज्योति गोस्वामीले चकित पार्ने खुलासा गरेका छन् ।
शेखरले दाबी गरेका छन् कि गायकका म्यानेजर सिद्धार्थ शर्मा र इभेन्ट आयोजक श्यामकनु महन्तले उनलाई विष खुवाएका थिए । उनीहरूद्वारा हत्यालाई दुर्घटना देखाउने षड्यन्त्र रचिएको थियो ।
शेखर जुबिन गर्गको मृत्युको समयमा सिंगापुरमा उनीसँगै थिए । उनले प्रहरीलाई बताएका अनुसार, म्यानेजर शर्मा प्यान प्यासिफिक होटलमा उनीसँगै बसिरहेका थिए र मृत्यु हुनु अघि उनको व्यवहार अजीब देखिएको थियो ।
शेखरका अनुसार, म्यानेजर शर्माले समुद्रको बीचमा याट (जहाज)को चालकलाई हटाएर नियन्त्रण आफैंले लिए । जुबिन समुद्रमा गइसकेपछि सास फेर्न कठिन भइरहेको थियो । तर पनि शर्मा भनेका थिए– “जाबो दे, जाबो दे” (उनलाई जाने दे)।
यसैबीच, आज गायककी पत्नी गरिमाले जुबिनको पोष्टमार्टम रिपोर्ट पनि प्रहरीलाई फिर्ता दिएकी छन् । उनले भनिन्, यो मेरो निजी कागजात होइन । यसलाई सार्वजनिक गर्ने वा नगर्ने विषय पूरै अनुसन्धान अधिकृतको हातमा हुनुपर्छ ।
गरिमाले स्पष्ट पारिन् कि उनलाई भइरहेको अनुसन्धान प्रक्रियामाथि पूरा विश्वास छ र न्यायिक प्रक्रिया आफ्नै ढंगले अगाडि बढ्न दिन चाहन्छिन् । उनले भनिन्, “मैले आफैंले पनि सोचें र सल्लाह पनि लिएँ । किनभने अनुसन्धान जारी छ, त्यसैले म त्यो रिपोर्टलाई निजी कागजात ठानिनँ । त्यसैले मैले रिपोर्ट अनुसन्धान अधिकृतलाई बुझाएको हुँ । यदि पोष्टमार्टम रिपोर्ट सार्वजनिक गर्दा अनुसन्धानमा असर पर्छ भने त्यो ठिक हुँदैन । त्यसैले म रिपोर्ट प्रहरीले लिनु उचित ठान्छु ।”
असम सरकारले न्यायिक आयोग गठन गर्ने
असम सरकारले जुबिनको मृत्यु प्रकरणमा न्यायिक आयोग गठन गर्ने निर्णय गरेको छ । यसको अध्यक्षता गुवाहाटी उच्च अदालतका न्यायाधीश सौमित्र सैकियाले गर्नेछन् । मुख्यमन्त्री हेमन्त शर्माले शुक्रबार यसको घोषणा गरेका थिए ।
उनले भनेका थिए, “हामी भोलि आयोग बनाउँछौं । अब हामी सबैलाई अनुरोध गर्छौं, जसको हातमा जुबिन गर्गको मृत्युसम्बन्धी कुनै जानकारी वा भिडियो छ, उनीहरू अगाडि आएर आयोगलाई बयान दिन ।”
स्पेसल इन्भेस्टिगेशन टीमले जानकारी दिएको छ कि हालसम्म जुबिनको मृत्यु प्रकरणमा १० जनाविरुद्ध ६० भन्दा बढी एफआईआर दर्ता गरिएका छन् । गुवाहाटीमा गरिएको दोस्रो पोष्टमार्टम रिपोर्टको प्रतीक्षा भइरहेको छ । विसेरा नमुना (शरीरका आन्तरिक अंगजस्तै आन्द्रा, कलेजो, मृगौला आदि) को विस्तृत परीक्षणका लागि दिल्लीको सेन्ट्रल फोरेन्सिक ल्याब पठाइएको छ । विसेरा रिपोर्ट आएपछि अन्तिम पोष्टमार्टम रिपोर्ट तयार हुनेछ ।
जुबिन गर्गको निधन
जुबिन गर्गको निधन सिंगापुरमा १९ सेप्टेम्बरमा भएको थियो । उनी २० सेप्टेम्बरमा हुन लागेको नर्थ इष्ट इन्डिया फेस्टिभलका लागि सिंगापुर गएका थिए । त्यहाँ उनले वाटर एड्भेन्चर गतिविधिमा भाग लिएका थिए । त्यतिबेला दाबी गरिएको थियो कि उनको मृत्यु स्कुबा डाइभिङको क्रममा दुर्घटनामा भएको हो ।
जुबिन गर्गको जीवन
जुबिनको जन्म १८ नोभेम्बर १९७२ मा असमको तिनसुकिया जिल्लामा भएको थियो । उनी असमिया र हिन्दी चलचित्र उद्योगमा गायक, संगीतकार, गीतकार, अभिनेता र निर्देशकका रूपमा सक्रिय रहे ।
उनले असमिया, हिन्दी, बङ्गाली, अंग्रेजी लगायत बिष्णुप्रिया मणिपुरी, बोरो, गोलपारिया, कन्नड, कार्बी, खासी, मलयालम, मराठी, मिसिङ, नेपाली, उड़िया, संस्कृत, सिन्धी, तमिल, तेलुगु, तिवा लगायत ४० भाषा र बोलिमा ३८ हजारभन्दा बढी गीत गाएका थिए ।
जुबिन असमका सर्वाधिक पारिश्रमिक लिने गायक थिए ।










