१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिषेक–ऐश्वर्याले युट्युबविरुद्ध मुद्दा दायर गरे



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्या रायले एआइबाट तयार गरिएका डीपफेक भिडियोबारे युट्युब र गुगलविरुद्ध दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

समाचार माध्यमहरूको अनुसार, दुवैले करिब ४ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेका छन् ।

यससँगै उनीहरूले अदालतलाई सामाजिक सञ्जाल प्लेटफर्महरूमा उनीहरूको व्यक्तित्व, अनुहार, आवाज र छविको अवैध र आपत्तिजनक प्रयोग स्थायी रूपमा रोक्न आदेश दिन अपील गरेका छन् ।

रोयटर्सको रिपोर्टअनुसार, अभिषेक बच्चन र ऐश्वर्या रायले आफ्नो याचिका ६ सेप्टेम्बरमा दायर गरेका थिए । करिब १,५०० पृष्ठ लामो उक्त याचिकामा सयौँ लिंक र स्क्रिनसटहरू संलग्न गरिएको छ, जसमा दाबी गरिएको छ कि युट्युबमा धेरै यस्ता भिडियोहरू छन् जसमा उनीहरूको तस्बिर र आवाजलाई नक्कली, भ्रामक र अपमानजनक तरिकाले प्रयोग गरिएको छ ।

याचिकाकर्ताहरूको भनाइमा, यस्ता भिडियोहरूले उनीहरूको प्रतिष्ठामा धक्का पुर्‍याइरहेको छ र निजताको मौलिक अधिकारको गम्भीर उल्लङ्घन पनि भएको छ ।

यसबारे दिल्ली उच्च अदालतले कडा कदम चाल्दै गुगललाई नोटिस जारी गरेको छ र लिखित जवाफ दिन आदेश दिएको छ । दुवैको याचिकाको अर्को सुनुवाइ अब २०२६ जनवरी १५ मा हुनेछ ।

यसअघि पनि दुवैले याचिका दायर गरेका थिए
यो पहिलो पटक होइन, जब दुवैले एआइ भिडियोहरूविरुद्ध मुद्दा दायर गरेका हुन् । यसअघि अभिषेक बच्चनले १० सेप्टेम्बर बुधबार दिल्ली उच्च अदालतमा याचिका दायर गरेका थिए । त्यसमा उनीहरुले आफ्नो प्रचार–प्रसार र व्यक्तित्व अधिकार (जनतामाझ छवि र व्यक्तित्व अधिकार) को संरक्षण गर्न अदालतसँग अनुरोध गरेका थिए ।

साथै, वेब्साइट र अनलाइन प्लेटफर्मलाई उनीहरूको तस्बिर, पर्सनल र नक्कली भिडियो, विशेषगरी यौन सामग्रीमा प्रयोग गर्न नदिन रोक लगाउन माग गरेका थिए । यसअघि मंगलबार उनकी पत्नी ऐश्वर्या राय बच्चनले पनि व्यक्तित्व अधिकारका लागि दिल्ली उच्च अदालतमा याचिका दायर गरेकी थिइन् । दुबैलाई अदालतबाट राहत पनि प्राप्त भएको थियो ।