२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित

दसैँले रोग नबोकाओस, अस्पतालको बास नहोस ?

दसैँले रोग नबोकाओस, अस्पतालको बास नहोस ?
अ अ+ अ-

काठमाडौँ: असोज महिना वातावरणीय हिसाबले जति रमणीय हुन्छ, धार्मिक तथा सांस्कृतिक हिसाबले झनै स्वास्थ्यको दृष्टिले पनि त्यति नै महत्वपूर्ण मानिन्छ ।

नेपालीहरुको सबैभन्दा ठूलो चाड बडादसैँको आफ्नो सांस्कृतिक महत्व भए पनि सबै घरपरिवार, सदस्य भेट हुने, फुर्सदका साथै रमाइलो गर्ने, नयाँ लुगा लगाउने तथा मासु खाने, पर्वका रुपमा स्थापित भएकाले सबैलाई एक सूत्रमा बाँध्छ । चाडपर्व भन्नेबित्तिकै पहिलो ध्यान खानेकुरामा पुग्ने गर्दछ । त्यसमा दसैँ र मासुको सम्बन्ध नङ र मासुको जस्तो छ ।

बलि दिन, मजाले खान वा केटाकेटीको रमाइलो जेका लागि भए पनि प्रायःनेपालीको घर व्यवहारमा दसैँअघि नै जोहो गरिन्छ र मूल्य नभई पाउनु नै ठूलो मानिन्छ । दसैँ मासुको विभिन्न परिकार चाख्ने अवसर पनि हो । त्यसैले के बुढा, के बालक, हरेकको भान्साबाट मासुको बासना आउँछ । दसैँमा भुटुवा, पकुवा, कवाव र झोल हालेको मासु पकाइखाने गर्नुका साथै भुँडी, कलेजो, बोसेआन्द्रा, रकतीकान, हेकुलाको भरुवा पनि खाइन्छ तर हिजोआज समय तथा झन्झट व्यहोर्न नचाहनेले ससेज, सलामी, मिन्स, विगस, बेकोन आदिलाई स्न्याक्सको विकल्पका रुपमा प्रयोग गर्दछन् ।

नेपालमा प्रतिवर्ष २० करोड किलोग्रामभन्दा बढी मासु उत्पादन हुन्छ, जसमा प्रतिदिन करिब पाँच लाख ५० हजार किलो मासु खपत हुने सरकारी तथ्याङ्क छ । यसैगरी दैनिक करिब २० हजार किलो खसी, ४० हजार किलो राँगाको मासु काठमाडौँमै मात्र बिक्री हुन्छ । नेपालमा दिनहुँ कुखुराको मासु ८० हजार किलो बिक्री हुन्छ ।

नेपाली मासु बजारको ४० प्रतिशत बजार प्रशोधित मासुले लिइसकेको छ । नेपालमा सबैभन्दा बढी अर्थात् ७५ प्रतिशत मासु राँगा, भैँसी, नौ प्रतिशत खसीबोका र १६ प्रतिशत कुखुरा बङ्गुरको मासु खपत भएको देखिन्छ ।

मासु के हो ?

मासु भन्नाले हामीले खाने गरेको चराचुरुङ्गी (कुखुरा, हाँस, परेवा, ढुकुर) पाल्तु जनावर (खसी, बोका, राँगो, सुँगुर), जङ्गली जनावर (बँदेल, हरिण, जरायो), पानीमा पाइने जन्तु (माछा, गगटा, भ्यागुता) आदिको मासु भन्ने बुझिन्छ । वैज्ञानिकद्वारा स्वस्थ जनावरलाई सफा ठाउँमा वध गरी तयार गरिएको, प्राकृतिक गुण र पौष्टिकताले भरिपूर्ण टाउको, घाँटी, पुच्छर, छाला, हाड र भित्री अङ्ग (कलेजो, फोक्सो, आन्द्राभुँडी आदि) बाहेकलाई खाद्य मासुको रुपमा परिभाषित गरिएको छ ।

नेपालमा भने रौँ, खुर, सिंह, ठूला, हड्डीबाहेक प्रायःसबै अङ्गलाई मासुसँग सम्बन्धित खाद्यवस्तु मान्ने गरिन्छ । छालादेखि आन्द्राभुँडी, फोक्सो, टाउकोसमेतबाट विभिन्न स्वादिष्ट परिकारहरु बनाउनु नेपाली पाक संस्कृतिको विशेषता नै हो तर छिट्टै बिग्रने खालका भित्री अङ्गको मासु ताजा, सफा र राम्ररी पकाइएको हुनुपर्दछ जसलाई पहिला उसिन्नु र मरमसला हाली पुनःपकाएर खानुपर्दछ, धेरै समय राख्नुहुँदैन ।

मासु प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज पदार्थ (आइरन, फस्फोस) र पानीको मिश्रणबाट बनेको हुन्छ तर पौष्टिक तत्वको अनुपात भने एकै किमिसको हँुदैन । मासुमा पाइने मुख्य पौष्टिक तत्व पूर्ण प्रोटिन हो । स्वास्थ्यका दृष्टिले मासुलाई पोसिलो खानेकुरा मानिन्छ । सय ग्राम खसीको मासुमा २२ ग्राम प्रोटिन, पाँच ग्राम चिल्लो पदार्थ, एक ग्रामभन्दा बढी खनिज पदार्थ, ६० ग्राम पानी तथा भिटामिन एवं लवणहरु हुन्छन् । त्यसैले दैनिक ३०–३५ ग्राम मासु खानाले हाम्रो शरीरलाई पुग्ने आवश्यक पौष्टिक तत्व सजिलै प्राप्त हुन्छ । हप्तामा एकपटक वा बल्ल तल्ल चाडबाडमा मात्र मासु खानेले अन्य समयमा गेडागुडी, दाल, दूध, पनिर आदि खाएर प्रोटिनको परिपूर्ति गर्नुपर्दछ ।

मासुको भण्डारण कसरी गर्ने ?

ताजा मासु खाने नेपाली संस्कारलाई राम्रो मान्नुपर्दछ, माछा मासु चाँडो बिग्रने पदार्थ भएकाले लामो समयसम्म सुरक्षित राख्न मात्र डिपफ्रिजमा राख्नु पर्दछ । माछा मासुलाई फ्रिजमा राख्दा भाँडाको मुख प्लाष्टिक फवाइल वा सिल्भर फवाइलले बन्द गर्दा फ्रिजमा राखेका अन्य खाद्य पदार्थहरुमा मासुको गन्ध आउँदैन । मासु फ्रिजमा राख्दा ताजा काँचो मासुलाई वरफ जम्ने कोष्ठमा मात्र राख्नुपर्दछ । एउटै ठूलो ढिक्का मासु राख्नुको सट्टा काटकुट गरेरै ससाना पोको बनाइराख्दा निकाल्न सजिलो र पकाउन पनि छिटो हुन्छ ।

एक पटक उमालेको मासु टम्म बन्द नगरी हावा खेल्ने ठाँ दिएर बढीमा तीन दिनसम्म फ्रिजको सामान्य खानेकुरा राख्ने कोष्ठमा पनि राख्न सकिन्छ । फ्रिजमा हिउँको ढिक्का जस्तो भएको, विशेषगरी कुखुराको मासुलाई कम्तीमा गर्मीमा दुई घण्टा र जाडोमा छ घण्टा कोठाको तापमानमा राखेपछि मात्र पकाउनुपर्दछ ।

गर्मीयाममा झोल हालेर पकाएको मासु दुई घण्टाभन्दा बढी समय कोठाको तापमानमा राख्नु हँुदैन । पकाएको मासु फ्रिजमा राख्दा चाहिँ सेलाएपछि प्लाष्टिक वा ढक्कनले छोपेर राख्नु पर्दछ । ताततातै मासु खाँदा त्यसको गन्ध काँचो अण्डा वा वाफ सोस्ने अरु खाने कुराभित्र प्रवेश गर्न र ह्वास्स गन्हाउन सक्छ ।

मासुको गुणस्तर कसरी कायम राख्ने ?

उपभोक्ताको घर, भान्छा र पकाउने भाँडामा आइपुगेञ्जेलसम्म पशुपक्षीको मासुको अवस्था कस्तो हुन्छ भन्नेमा ठूलो अन्योल छ मासु बजारमा । सामान्य उपभोक्ताले पशु स्वस्थ भए नभएको छुट्टयाउन सक्दैनन् । धेरैले मासु काटेको र ढुवानी गरेको पनि देख्दैनन् । त्यसैले बिक्री गर्ने ठाउँको सरसफाइका अवस्था र मासुको रुपरङ हेरेर मात्रै राम्रो नराम्रो भन्ने निर्णय गर्छन् । कुनै वैज्ञानिक जाँच वा परीक्षणभन्दा विश्वास नै हो नेपालमा बेचिने मासुको गुणस्तर मापनको आधार ।

उपभोक्तासम्म स्वस्थ र स्वच्छ मासु पु¥याउने दायित्व राज्यको हो । सरकारले जीवित पशुको स्वास्थ्य सुनिश्चित गर्न पशु स्वास्थ्य तथा पशु सेवा ऐन र मासुको गुणस्तर सुनिश्चित गर्न पशु वधशाला तथा मासु जाँच ऐन र तत्सम्बन्धी नियमहरु बनाएको छ तर व्यवहारमा त्यति कार्यान्वयन भएका छैनन् । मासु बिक्री वितरणमा संलग्न अधिकांश निरक्षर छन् ।

यसले ऐन नियमहरु बुझेका छैनन् र सरकारले पनि बुझाउन सकेको छैन । तैपनि मासु व्यवसायी समितिद्वारा सरसफाईप्रति सचेत भई मासु बिक्री गर्ने ठाउँबाट पशुको मलमुत्र, रौं, हड्डी हटाउनुपर्ने, शिशा वा जालीको बाकसभित्र अन्य किटाणुले भेट्न नसक्ने गरी राखेर बेच्नुपर्ने, बिक्रेताले सफा एप्रोन लगाउनुपर्ने र बन्द बाकसमा राखेर वा सफा कपडाले छोपेर मासु ढुवानी गर्नुपर्ने चारबुँदे शर्त छन् ।

बजारबाट मासु किन्दा चाहिँ सधैँ सफा र विश्वासिलो मासु पसलबाट किन्ने गर्नु पर्दछ । राँगा, खसी प्रायः बिहान काटिने हुनाले मासु सधैँ बिहान किन्नु राम्रो हुन्छ । ताजा, दागहरु नभएको, बोसो नगलेको, गन्ध नआउने र नली हाडको भित्री भाग रातो भएको मासु छानेर किन्नुपर्दछ । कुखुराको मासुमा छाला नरम र भिजेको तथा माछाको गिलहरु रातो र कत्ला चहकिलो भएको, आँखा नगढेको हुनु पर्दछ ।

के के हुन् मासु खाँदा सर्न सक्ने रोगहरु ?

एक व्यक्तिलाई स्वस्थ रहन वर्षको १८ किलो मासु वा सो सरहको प्रोटिन आवश्यक पर्दछ, जसले स्वस्थ रहनको लागि प्रोटिनको प्रमुख स्रोत मासुको उपभोग आवश्यक देखाउँछ । तर उपभोग गर्ने मासु अस्वस्थ भइदिनाले एक सय ६० प्रकारका रोगहरुले आक्रमण गर्न सक्छन् । यसमा टिनिया सोलिइम किरा, सुँगुर र बङ्गुरबाट मष्तिस्कमा पुगी छारे रोग, भोजन नलीको क्यान्सरलगायत पर्दछन् । मासु दूषित हुनाको प्रमुख कारण रोगी पशुपक्षी र सरसफाइमा कमी नै हो । त्यसैले स्वस्थ मासुका लागि स्वस्थ पशुपक्षीको बध र सफा वातावरणमा काटकुट, ओसारपसार र बिक्रीवितरण अनिवार्य शर्त हो । पशुपक्षीको मासु खान हुने वा नहुने भनी वध अगाडि तथा पछाडि मासु वा पशुपक्षीको राम्रोसँग निगरानी गरिनु पर्दछ ।

मासु मानिसका लागि जस्तै विभिन्न किसिमका रोगका जिवाणुका लागि पनि स्वादिलो र पोसिलो खानेकुरा हुने भएकाले उनीहरुको वृद्धि र विकास पनि राम्रोसँग हुन्छ । यसले गर्दा रोग सार्ने माध्यम पनि बन्न सक्छ । पटके, फित्ते जुका, खाद्य विषाक्त केही उदाहरण हुन् । मासु खाँदा सर्नसक्ने रोगहरुमा फित्ते कीराहरु–टिनिया सोलियस, टिनिया साजीनाटा, ट्राकिनेल्ला स्पाइरलिस र फ्यासकीओला हेपाटीका ब्याक्टेरियल सङ्क्रमणमा एन्थ्राकस, एकटिनोमाइकोसिस, क्षयरोग (टिबी) र खाद्य विषाक्तता पर्दछन् ।

ससेज, सलामी, क्यान वा बट्टामा बन्द ‘टुना फिस’ जस्तो प्याकिङ गरेको मासुमा स्वास्थ्यलाई हानी गर्ने ‘प्रिजरभेटिभ’ राखिने भएकोले ताजा मासु प्रयोग गर्नु नै राम्रो हुन्छ । साथै, कचिलाजस्तो काँचो मासुभन्दा ठिक्कको आगोमा पकाएको मासु राम्रो हुन्छ र कडा आगोमा पकाउँदा मासु खुम्ची ज्यादै कडा बन्छ र पचाउन गाह्रो हुन्छ । त्यसैगरी ज्यादै कडा तापमा तारेको, ओभनमा पकाएको, सेकेको र भुटेको मासु कडा हुने भएकाले पचाउन धेरै गाह्रो बन्ने भएकाले प्रेसर कुकरमा पकाएको अलि झोलिलो मासु स्वास्थ्यका लागि राम्रो हुन्छ ।

चिनी तथा मिठाइ खान नमिल्ने, मीठो मसिनो खान एकपटक सोंच्न पर्ने मधुमेहका रोगीले एक दुई टुक्रा मासु खान सक्छन् । रोगीले एउटै समयमा औषधि तथा खानाको मात्रा, समय फरकको तालमेल चाडबाडमा नमिल्दा सामान्य असन्तुलनले पनि खतरनाक सावित हुन सक्छ । मधुमेहका रोगीलाई मुटुको रोगको खतरा बढी हुने भएकाले खसीको भन्दा कुखुराको मासु खानु राम्रो हुन्छ, हल्का पेय पदार्थ पिउन सक्छन् तर धुम्रपान, मद्यपान गर्नु हँुदैन । रगतमा युरिक एसीड बढेर भएको एक किसिमको जोर्नीको पीडा हो बाथ । पुरुषमा बढी देखिने बाथ रोगमा सामान्यतया प्युरीनमुक्त खानेकुरा पूर्ण रुपले खान मिल्दछ । त्यसैले रोगीले मासु खान मिल्दैन । यस्ता रोगीले चाडबाडमा हरिया सागपात, केरा, कोक तथा कफी लिन सक्छन्, दूध खान सक्छन् ।

मोटो शरीर, रगतमा कोलेष्ट्रोल बढी, उच्च रक्तचाप तथा मुटुका रोगीका लागि मासु अनुकूल हुँदैन । यस्ता मानिसहरुले मासु खानै नहुने होइन, तर बढी बोसोयुक्त रातो मासु खानु हुँदैन । स्वास्थ्यका दृष्टिले हेर्ने हो भने राँगा, खसी, बंगुर आदिको रातो मासुभन्दा कुखुरा, माछा आदिको सेतो मासु राम्रो हुन्छ किन भने कोलेष्ट्रोलको मात्रा सेतो मासुमा कम हुन्छ । माछाका परिकार खानाले शरीरको तौल घट्नुको साथै कोलेष्ट्रोलको मात्रा घटाउन सहयोग मिल्छ । कुखुराको मासुमा क्याल्सीयम तथा पोटासियम बढी पाइने भएकाले यो अन्य मासुभन्दा राम्रो मानिन्छ ।

धेरै चिल्लो तथा मसला हालेको मासुले अपच गराउने तथा मुखमा अमिलो पानी आउने, डकार आउने, पेट पोल्ने समस्या ल्याउँदछ । त्यसैले धेरै चिल्लो हालेर भुटेको, पिरो मसलादार मासुभन्दा सामान्य चिल्लो भएको तथा राम्रोसँग पकाएको मासु नै स्वस्थकर हुन्छ । काँचो मासुले विभिन्न किसिमका जुका तथा रोगका जीवाणुहरु सार्ने सम्भावना हुन्छ । त्यसैले मासुका परिकारहरु राम्रोसँग पकाउनु पर्दछ । मासु मात्र खाँदा कब्जियत हुनसक्ने भएकाले मासुसँग फलफूल तथा सलाद पनि सेवन गर्नुपर्दछ ।

अन्तमा, मानसिक उल्लास र सामाजिक सु–सम्बन्धका साथ मनाइने चाडपर्वको श्रृङ्खलामा खानपिनमा गुलियो, अमिलो, पिरो, नुनीलो र चिल्लोको मात्रा बढी भएको आहार, विहार र निद्रामा असन्तुलन हुन गई स्वास्थ्यमा गडबड भएको प्रायः देखिन्छ । प्रशस्त रक्सी नभए, मनग्गे खान नपाए, धूमपानको फूिर्तफार्ती र बासीत्यासी अचार नभए तथा नाचगान, देउसीभैँलो, गफगाफ र जुवा तास नखेले चाड मानेजस्तो नहुने सोचाइ पनि धेरैमा पाइन्छ ।

खानपानको असंयम, अनिद्रा आदिले नियमित गर्ने गरेको शारीरिक श्रम, व्यायाम पनि कम हुन्छ । यसले गर्दा अपच, अमिलो, झुसिलो डकार, वायुले पेट ढुस्स आउने, फुल्ने, आउँ, पखाला, रिँगटा लाग्ने, आँखा पोल्ने बिझाउने, रातो हुने, बान्ता हुने, खानामा अरुचि हुने, चिडचिडाहट, ज्वरो, हैजा, कमलपित्त, ग्याष्ट्रिक, आमाशय र आन्द्राको घाउ (अल्सर), उच्च रक्तचाप, मुटुसम्बन्धी, मिर्गाैलासम्बन्धी, कलेजोसम्बन्धी, मधुमेह इत्यादिको खतरा बढ्ने हुन्छ । त्यसैले चाडपर्व, भोजभतेर आदिमा स्वास्थ्यमा बढी ध्यान दिनु आवश्यक छ ।रासस

(लेखक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव एवं प्रवक्ता हुनुहुन्छ)