३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

दसैँले रोग नबोकाओस, अस्पतालको बास नहोस ?

दसैँले रोग नबोकाओस, अस्पतालको बास नहोस ?
अ+ अ-

काठमाडौँ: असोज महिना वातावरणीय हिसाबले जति रमणीय हुन्छ, धार्मिक तथा सांस्कृतिक हिसाबले झनै स्वास्थ्यको दृष्टिले पनि त्यति नै महत्वपूर्ण मानिन्छ ।

नेपालीहरुको सबैभन्दा ठूलो चाड बडादसैँको आफ्नो सांस्कृतिक महत्व भए पनि सबै घरपरिवार, सदस्य भेट हुने, फुर्सदका साथै रमाइलो गर्ने, नयाँ लुगा लगाउने तथा मासु खाने, पर्वका रुपमा स्थापित भएकाले सबैलाई एक सूत्रमा बाँध्छ । चाडपर्व भन्नेबित्तिकै पहिलो ध्यान खानेकुरामा पुग्ने गर्दछ । त्यसमा दसैँ र मासुको सम्बन्ध नङ र मासुको जस्तो छ ।

बलि दिन, मजाले खान वा केटाकेटीको रमाइलो जेका लागि भए पनि प्रायःनेपालीको घर व्यवहारमा दसैँअघि नै जोहो गरिन्छ र मूल्य नभई पाउनु नै ठूलो मानिन्छ । दसैँ मासुको विभिन्न परिकार चाख्ने अवसर पनि हो । त्यसैले के बुढा, के बालक, हरेकको भान्साबाट मासुको बासना आउँछ । दसैँमा भुटुवा, पकुवा, कवाव र झोल हालेको मासु पकाइखाने गर्नुका साथै भुँडी, कलेजो, बोसेआन्द्रा, रकतीकान, हेकुलाको भरुवा पनि खाइन्छ तर हिजोआज समय तथा झन्झट व्यहोर्न नचाहनेले ससेज, सलामी, मिन्स, विगस, बेकोन आदिलाई स्न्याक्सको विकल्पका रुपमा प्रयोग गर्दछन् ।

नेपालमा प्रतिवर्ष २० करोड किलोग्रामभन्दा बढी मासु उत्पादन हुन्छ, जसमा प्रतिदिन करिब पाँच लाख ५० हजार किलो मासु खपत हुने सरकारी तथ्याङ्क छ । यसैगरी दैनिक करिब २० हजार किलो खसी, ४० हजार किलो राँगाको मासु काठमाडौँमै मात्र बिक्री हुन्छ । नेपालमा दिनहुँ कुखुराको मासु ८० हजार किलो बिक्री हुन्छ ।

नेपाली मासु बजारको ४० प्रतिशत बजार प्रशोधित मासुले लिइसकेको छ । नेपालमा सबैभन्दा बढी अर्थात् ७५ प्रतिशत मासु राँगा, भैँसी, नौ प्रतिशत खसीबोका र १६ प्रतिशत कुखुरा बङ्गुरको मासु खपत भएको देखिन्छ ।

मासु के हो ?

मासु भन्नाले हामीले खाने गरेको चराचुरुङ्गी (कुखुरा, हाँस, परेवा, ढुकुर) पाल्तु जनावर (खसी, बोका, राँगो, सुँगुर), जङ्गली जनावर (बँदेल, हरिण, जरायो), पानीमा पाइने जन्तु (माछा, गगटा, भ्यागुता) आदिको मासु भन्ने बुझिन्छ । वैज्ञानिकद्वारा स्वस्थ जनावरलाई सफा ठाउँमा वध गरी तयार गरिएको, प्राकृतिक गुण र पौष्टिकताले भरिपूर्ण टाउको, घाँटी, पुच्छर, छाला, हाड र भित्री अङ्ग (कलेजो, फोक्सो, आन्द्राभुँडी आदि) बाहेकलाई खाद्य मासुको रुपमा परिभाषित गरिएको छ ।

नेपालमा भने रौँ, खुर, सिंह, ठूला, हड्डीबाहेक प्रायःसबै अङ्गलाई मासुसँग सम्बन्धित खाद्यवस्तु मान्ने गरिन्छ । छालादेखि आन्द्राभुँडी, फोक्सो, टाउकोसमेतबाट विभिन्न स्वादिष्ट परिकारहरु बनाउनु नेपाली पाक संस्कृतिको विशेषता नै हो तर छिट्टै बिग्रने खालका भित्री अङ्गको मासु ताजा, सफा र राम्ररी पकाइएको हुनुपर्दछ जसलाई पहिला उसिन्नु र मरमसला हाली पुनःपकाएर खानुपर्दछ, धेरै समय राख्नुहुँदैन ।

मासु प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज पदार्थ (आइरन, फस्फोस) र पानीको मिश्रणबाट बनेको हुन्छ तर पौष्टिक तत्वको अनुपात भने एकै किमिसको हँुदैन । मासुमा पाइने मुख्य पौष्टिक तत्व पूर्ण प्रोटिन हो । स्वास्थ्यका दृष्टिले मासुलाई पोसिलो खानेकुरा मानिन्छ । सय ग्राम खसीको मासुमा २२ ग्राम प्रोटिन, पाँच ग्राम चिल्लो पदार्थ, एक ग्रामभन्दा बढी खनिज पदार्थ, ६० ग्राम पानी तथा भिटामिन एवं लवणहरु हुन्छन् । त्यसैले दैनिक ३०–३५ ग्राम मासु खानाले हाम्रो शरीरलाई पुग्ने आवश्यक पौष्टिक तत्व सजिलै प्राप्त हुन्छ । हप्तामा एकपटक वा बल्ल तल्ल चाडबाडमा मात्र मासु खानेले अन्य समयमा गेडागुडी, दाल, दूध, पनिर आदि खाएर प्रोटिनको परिपूर्ति गर्नुपर्दछ ।

मासुको भण्डारण कसरी गर्ने ?

ताजा मासु खाने नेपाली संस्कारलाई राम्रो मान्नुपर्दछ, माछा मासु चाँडो बिग्रने पदार्थ भएकाले लामो समयसम्म सुरक्षित राख्न मात्र डिपफ्रिजमा राख्नु पर्दछ । माछा मासुलाई फ्रिजमा राख्दा भाँडाको मुख प्लाष्टिक फवाइल वा सिल्भर फवाइलले बन्द गर्दा फ्रिजमा राखेका अन्य खाद्य पदार्थहरुमा मासुको गन्ध आउँदैन । मासु फ्रिजमा राख्दा ताजा काँचो मासुलाई वरफ जम्ने कोष्ठमा मात्र राख्नुपर्दछ । एउटै ठूलो ढिक्का मासु राख्नुको सट्टा काटकुट गरेरै ससाना पोको बनाइराख्दा निकाल्न सजिलो र पकाउन पनि छिटो हुन्छ ।

एक पटक उमालेको मासु टम्म बन्द नगरी हावा खेल्ने ठाँ दिएर बढीमा तीन दिनसम्म फ्रिजको सामान्य खानेकुरा राख्ने कोष्ठमा पनि राख्न सकिन्छ । फ्रिजमा हिउँको ढिक्का जस्तो भएको, विशेषगरी कुखुराको मासुलाई कम्तीमा गर्मीमा दुई घण्टा र जाडोमा छ घण्टा कोठाको तापमानमा राखेपछि मात्र पकाउनुपर्दछ ।

गर्मीयाममा झोल हालेर पकाएको मासु दुई घण्टाभन्दा बढी समय कोठाको तापमानमा राख्नु हँुदैन । पकाएको मासु फ्रिजमा राख्दा चाहिँ सेलाएपछि प्लाष्टिक वा ढक्कनले छोपेर राख्नु पर्दछ । ताततातै मासु खाँदा त्यसको गन्ध काँचो अण्डा वा वाफ सोस्ने अरु खाने कुराभित्र प्रवेश गर्न र ह्वास्स गन्हाउन सक्छ ।

मासुको गुणस्तर कसरी कायम राख्ने ?

उपभोक्ताको घर, भान्छा र पकाउने भाँडामा आइपुगेञ्जेलसम्म पशुपक्षीको मासुको अवस्था कस्तो हुन्छ भन्नेमा ठूलो अन्योल छ मासु बजारमा । सामान्य उपभोक्ताले पशु स्वस्थ भए नभएको छुट्टयाउन सक्दैनन् । धेरैले मासु काटेको र ढुवानी गरेको पनि देख्दैनन् । त्यसैले बिक्री गर्ने ठाउँको सरसफाइका अवस्था र मासुको रुपरङ हेरेर मात्रै राम्रो नराम्रो भन्ने निर्णय गर्छन् । कुनै वैज्ञानिक जाँच वा परीक्षणभन्दा विश्वास नै हो नेपालमा बेचिने मासुको गुणस्तर मापनको आधार ।

उपभोक्तासम्म स्वस्थ र स्वच्छ मासु पु¥याउने दायित्व राज्यको हो । सरकारले जीवित पशुको स्वास्थ्य सुनिश्चित गर्न पशु स्वास्थ्य तथा पशु सेवा ऐन र मासुको गुणस्तर सुनिश्चित गर्न पशु वधशाला तथा मासु जाँच ऐन र तत्सम्बन्धी नियमहरु बनाएको छ तर व्यवहारमा त्यति कार्यान्वयन भएका छैनन् । मासु बिक्री वितरणमा संलग्न अधिकांश निरक्षर छन् ।

यसले ऐन नियमहरु बुझेका छैनन् र सरकारले पनि बुझाउन सकेको छैन । तैपनि मासु व्यवसायी समितिद्वारा सरसफाईप्रति सचेत भई मासु बिक्री गर्ने ठाउँबाट पशुको मलमुत्र, रौं, हड्डी हटाउनुपर्ने, शिशा वा जालीको बाकसभित्र अन्य किटाणुले भेट्न नसक्ने गरी राखेर बेच्नुपर्ने, बिक्रेताले सफा एप्रोन लगाउनुपर्ने र बन्द बाकसमा राखेर वा सफा कपडाले छोपेर मासु ढुवानी गर्नुपर्ने चारबुँदे शर्त छन् ।

बजारबाट मासु किन्दा चाहिँ सधैँ सफा र विश्वासिलो मासु पसलबाट किन्ने गर्नु पर्दछ । राँगा, खसी प्रायः बिहान काटिने हुनाले मासु सधैँ बिहान किन्नु राम्रो हुन्छ । ताजा, दागहरु नभएको, बोसो नगलेको, गन्ध नआउने र नली हाडको भित्री भाग रातो भएको मासु छानेर किन्नुपर्दछ । कुखुराको मासुमा छाला नरम र भिजेको तथा माछाको गिलहरु रातो र कत्ला चहकिलो भएको, आँखा नगढेको हुनु पर्दछ ।

के के हुन् मासु खाँदा सर्न सक्ने रोगहरु ?

एक व्यक्तिलाई स्वस्थ रहन वर्षको १८ किलो मासु वा सो सरहको प्रोटिन आवश्यक पर्दछ, जसले स्वस्थ रहनको लागि प्रोटिनको प्रमुख स्रोत मासुको उपभोग आवश्यक देखाउँछ । तर उपभोग गर्ने मासु अस्वस्थ भइदिनाले एक सय ६० प्रकारका रोगहरुले आक्रमण गर्न सक्छन् । यसमा टिनिया सोलिइम किरा, सुँगुर र बङ्गुरबाट मष्तिस्कमा पुगी छारे रोग, भोजन नलीको क्यान्सरलगायत पर्दछन् । मासु दूषित हुनाको प्रमुख कारण रोगी पशुपक्षी र सरसफाइमा कमी नै हो । त्यसैले स्वस्थ मासुका लागि स्वस्थ पशुपक्षीको बध र सफा वातावरणमा काटकुट, ओसारपसार र बिक्रीवितरण अनिवार्य शर्त हो । पशुपक्षीको मासु खान हुने वा नहुने भनी वध अगाडि तथा पछाडि मासु वा पशुपक्षीको राम्रोसँग निगरानी गरिनु पर्दछ ।

मासु मानिसका लागि जस्तै विभिन्न किसिमका रोगका जिवाणुका लागि पनि स्वादिलो र पोसिलो खानेकुरा हुने भएकाले उनीहरुको वृद्धि र विकास पनि राम्रोसँग हुन्छ । यसले गर्दा रोग सार्ने माध्यम पनि बन्न सक्छ । पटके, फित्ते जुका, खाद्य विषाक्त केही उदाहरण हुन् । मासु खाँदा सर्नसक्ने रोगहरुमा फित्ते कीराहरु–टिनिया सोलियस, टिनिया साजीनाटा, ट्राकिनेल्ला स्पाइरलिस र फ्यासकीओला हेपाटीका ब्याक्टेरियल सङ्क्रमणमा एन्थ्राकस, एकटिनोमाइकोसिस, क्षयरोग (टिबी) र खाद्य विषाक्तता पर्दछन् ।

ससेज, सलामी, क्यान वा बट्टामा बन्द ‘टुना फिस’ जस्तो प्याकिङ गरेको मासुमा स्वास्थ्यलाई हानी गर्ने ‘प्रिजरभेटिभ’ राखिने भएकोले ताजा मासु प्रयोग गर्नु नै राम्रो हुन्छ । साथै, कचिलाजस्तो काँचो मासुभन्दा ठिक्कको आगोमा पकाएको मासु राम्रो हुन्छ र कडा आगोमा पकाउँदा मासु खुम्ची ज्यादै कडा बन्छ र पचाउन गाह्रो हुन्छ । त्यसैगरी ज्यादै कडा तापमा तारेको, ओभनमा पकाएको, सेकेको र भुटेको मासु कडा हुने भएकाले पचाउन धेरै गाह्रो बन्ने भएकाले प्रेसर कुकरमा पकाएको अलि झोलिलो मासु स्वास्थ्यका लागि राम्रो हुन्छ ।

चिनी तथा मिठाइ खान नमिल्ने, मीठो मसिनो खान एकपटक सोंच्न पर्ने मधुमेहका रोगीले एक दुई टुक्रा मासु खान सक्छन् । रोगीले एउटै समयमा औषधि तथा खानाको मात्रा, समय फरकको तालमेल चाडबाडमा नमिल्दा सामान्य असन्तुलनले पनि खतरनाक सावित हुन सक्छ । मधुमेहका रोगीलाई मुटुको रोगको खतरा बढी हुने भएकाले खसीको भन्दा कुखुराको मासु खानु राम्रो हुन्छ, हल्का पेय पदार्थ पिउन सक्छन् तर धुम्रपान, मद्यपान गर्नु हँुदैन । रगतमा युरिक एसीड बढेर भएको एक किसिमको जोर्नीको पीडा हो बाथ । पुरुषमा बढी देखिने बाथ रोगमा सामान्यतया प्युरीनमुक्त खानेकुरा पूर्ण रुपले खान मिल्दछ । त्यसैले रोगीले मासु खान मिल्दैन । यस्ता रोगीले चाडबाडमा हरिया सागपात, केरा, कोक तथा कफी लिन सक्छन्, दूध खान सक्छन् ।

मोटो शरीर, रगतमा कोलेष्ट्रोल बढी, उच्च रक्तचाप तथा मुटुका रोगीका लागि मासु अनुकूल हुँदैन । यस्ता मानिसहरुले मासु खानै नहुने होइन, तर बढी बोसोयुक्त रातो मासु खानु हुँदैन । स्वास्थ्यका दृष्टिले हेर्ने हो भने राँगा, खसी, बंगुर आदिको रातो मासुभन्दा कुखुरा, माछा आदिको सेतो मासु राम्रो हुन्छ किन भने कोलेष्ट्रोलको मात्रा सेतो मासुमा कम हुन्छ । माछाका परिकार खानाले शरीरको तौल घट्नुको साथै कोलेष्ट्रोलको मात्रा घटाउन सहयोग मिल्छ । कुखुराको मासुमा क्याल्सीयम तथा पोटासियम बढी पाइने भएकाले यो अन्य मासुभन्दा राम्रो मानिन्छ ।

धेरै चिल्लो तथा मसला हालेको मासुले अपच गराउने तथा मुखमा अमिलो पानी आउने, डकार आउने, पेट पोल्ने समस्या ल्याउँदछ । त्यसैले धेरै चिल्लो हालेर भुटेको, पिरो मसलादार मासुभन्दा सामान्य चिल्लो भएको तथा राम्रोसँग पकाएको मासु नै स्वस्थकर हुन्छ । काँचो मासुले विभिन्न किसिमका जुका तथा रोगका जीवाणुहरु सार्ने सम्भावना हुन्छ । त्यसैले मासुका परिकारहरु राम्रोसँग पकाउनु पर्दछ । मासु मात्र खाँदा कब्जियत हुनसक्ने भएकाले मासुसँग फलफूल तथा सलाद पनि सेवन गर्नुपर्दछ ।

अन्तमा, मानसिक उल्लास र सामाजिक सु–सम्बन्धका साथ मनाइने चाडपर्वको श्रृङ्खलामा खानपिनमा गुलियो, अमिलो, पिरो, नुनीलो र चिल्लोको मात्रा बढी भएको आहार, विहार र निद्रामा असन्तुलन हुन गई स्वास्थ्यमा गडबड भएको प्रायः देखिन्छ । प्रशस्त रक्सी नभए, मनग्गे खान नपाए, धूमपानको फूिर्तफार्ती र बासीत्यासी अचार नभए तथा नाचगान, देउसीभैँलो, गफगाफ र जुवा तास नखेले चाड मानेजस्तो नहुने सोचाइ पनि धेरैमा पाइन्छ ।

खानपानको असंयम, अनिद्रा आदिले नियमित गर्ने गरेको शारीरिक श्रम, व्यायाम पनि कम हुन्छ । यसले गर्दा अपच, अमिलो, झुसिलो डकार, वायुले पेट ढुस्स आउने, फुल्ने, आउँ, पखाला, रिँगटा लाग्ने, आँखा पोल्ने बिझाउने, रातो हुने, बान्ता हुने, खानामा अरुचि हुने, चिडचिडाहट, ज्वरो, हैजा, कमलपित्त, ग्याष्ट्रिक, आमाशय र आन्द्राको घाउ (अल्सर), उच्च रक्तचाप, मुटुसम्बन्धी, मिर्गाैलासम्बन्धी, कलेजोसम्बन्धी, मधुमेह इत्यादिको खतरा बढ्ने हुन्छ । त्यसैले चाडपर्व, भोजभतेर आदिमा स्वास्थ्यमा बढी ध्यान दिनु आवश्यक छ ।रासस

(लेखक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव एवं प्रवक्ता हुनुहुन्छ)