रामायण कालको घटना हो । त्यो समयमा माता सीताको हरण भइसकेको थियो र भगवान् श्रीराम सीताको खोजीमा वन–वन भौँतारिरहेका थिए । उनको पीडा यति गहिरो थियो कि उनी बारम्बार पुकारिरहेका थिए– “हा सीते, हा सीते” ।
त्यो समयमा एक दिन शिवजी र माता सती पनि त्यही वन हुँदै गइरहेका थिए । शिव–सती श्रीरामको कथा सुन्न गएका थिए । जब उनले श्रीरामलाई देखे, शिवजीले टाढैबाटै प्रणाम गरे ।
माता सतीलाई अचम्म लाग्यो । यदि श्रीराम साक्षात् भगवान् विष्णुको अवतार हुन् भने, उनी यसरी किन विलाप गरिरहेका छन् ? के ईश्वरलाई मोह हुन्छ ? के उनलाई पीडा हुन्छ ?
सतीले यो कुरा शिवजीलाई भनिन् । शिवजीले सम्झाए कि यो सबै भगवानको लीला हो । श्रीराम साधारण मनुष्य होइनन्, उनी साक्षात् नारायण हुन् । उनका प्रत्येक कार्यको पछाडि कुनै न कुनै दैवी उद्देश्य हुन्छ ।
शिवजीको कुरा सुनेपछि पनि सतीको संशय टरेन । उनले सोँचिन्– “म स्वयं श्रीरामको परीक्षा लिन्छु ।”
सतीले सीताको रूप धारण गरेर भगवान् रामको सामु प्रकट भइन् । श्रीराम मुस्कुराए, उनलाई प्रणाम गरे र भने– “देवी, तपाईँ वनमा एक्लै के गर्दै हुनुहुन्छ ? महादेव कहाँ हुनुहुन्छ ?”
यो वाक्यले प्रमाणित गरिदियो कि श्रीरामलाई सबै कुरा थाहा छ—को, कुन रूपमा, कहाँ उपस्थित छ ।
सतीलाई तुरुन्तै आफ्नो गल्तीको बोध भयो र मौन भएर शिवजीकहाँ फर्किइन् । शिवजी ध्यानमा थिए । आँखा खोल्दा सोधे– “के तिमिले भगवान् श्रीरामको परीक्षा लिएउ ?”
सतीले असत्य बोलिन्– “होइन प्रभु, म पनि तपाईँझैँ टाढैबाट प्रणाम गरेर फर्किएकी हुँ ।”
शिवजी त्रिकालदर्शी हुन् । उनले ध्यानमा सम्पूर्ण सत्य देखे । अनि भने– “देवी, तिमिले मेरी माता सीताको रूप धारण गर्यौ । यस देहले जुन कार्य गर्यो, त्यस कारण अब म यस रूपको मानसिक त्याग गर्छु ।” त्यसपछि शिवजी र सतीको वैवाहिक जीवन पहिले जस्तो रहन सकेन ।
जीवन व्यवस्थापनका पाँच महत्वपूर्ण पाठ:
झूटले विश्वास भत्काउँछ
पति–पत्नीको सम्बन्ध विश्वासको आधारमा टिको हुन्छ । जब सतीले शिवजीलाई झूट भनिन्, सम्बन्धमा दरार पर्न गयो । सम्बन्धमा कहिल्यै झूट नबोलौँ, विशेष गरी जब अर्को पक्षलाई सत्य थाहा पाउने स्थिति हुन्छ ।
ईश्वरको परीक्षा लिनु हुँदैन
सतीले भगवान् श्रीरामको परीक्षा लिने विचार गरिन्, जसले उनको अहंकारलाई देखाउँछ । जब हामीलाई कुनै शक्ति वा सत्यबारे शंका हुन्छ, तब अहंकारले होइन, श्रद्धा र शान्तिले बुझ्ने प्रयास गर्नुपर्छ ।
ध्यान र विवेकले सत्य चिन्न सकिन्छ
शिवजीले ध्यान गरेर सम्पूर्ण सत्य जाने । उहाँले बाहिरी प्रमाण खोज्नु परेन । जीवनका निर्णय बाहिरी कुरा होइन, आन्तरिक विवेक र मानसिक शान्तिबाट गर्नुपर्छ । ध्यानले राम्रो–नराम्रो सबै कुरा प्रस्ट देखिन्छ ।
सम्बन्ध दूध–पानीझैँ नाजुक हुन्छन्
दूध र पानी मिसिँदा छुट्याउन सकिँदैन, तर एक थोपा कागती परेपछि दूध फाट्छ । सम्बन्धमा शंका, झूट वा धोखाको एक थोपा पनि सब थोक बिगार्न सक्छ । त्यसैले सम्बन्धलाई सावधानीपूर्वक ईमानदारीले सम्हाल्नुपर्छ ।
संवादको शक्ति बुझौँ
यदि सतीले आफ्नो मनको कुरा खुलेर शिवजीसँग साझा गरेको भए, गल्ती स्वीकारेको भए, सम्भवतः सम्बन्ध बिग्रँदैनथ्यो । सम्बन्धमा संवाद अत्यन्तै जरुरी हुन्छ । गल्ती भएको छ भने लुकाउने होइन, स्वीकार गर्नुपर्छ । स्वीकार गरेपछि सम्बन्ध सुध्रने सम्भावना रहन्छ ।
साँचो सम्बन्ध झूटले होइन, ईमानदारी, संवाद र विश्वासले टिक्छ । जीवनमा जति कठिन परिस्थिति आए पनि संयम, सत्य र श्रद्धाले नै समस्या समाधान गर्न सकिन्छ ।










