काठमाडौँ। पुतलीसडक चोक र भृकुटीमण्डपको बीचमा अवस्थित करिब ८० वर्ष पुरानो पद्मोदय विद्यालय परिसरभित्र रहेका सटर हटाइएको छ।
स्थापना कालदेखि नै पद्मोदयसहितका धेरै सामुदायिक विद्यालयहरूमा हाताभित्र सटर निर्माण गरी पसल वा पार्टी प्यालेस सञ्चालन गर्ने प्रचलन रहँदै आएको थियो। कतिपय अवस्थामा विद्यालयले भाडा नै नपाउने, पाएको भाडा पनि बजार दरभन्दा निकै कम हुने जस्ता समस्या निरन्तर विवादको विषय बनेका थिए।
यसरी व्यावसायिक क्रियाकलाप सञ्चालन हुँदा विद्यालयको मूल उद्देश्य – अध्ययन–अध्यापन – प्रभावित हुनुका साथै विद्यार्थीलाई खेल्ने मैदान र सभा–सम्मेलनका लागि उपयुक्त स्थानसमेत नपर्ने अवस्था सिर्जना भएको थियो।
विद्यार्थीमै सबैभन्दा ठूलो अधिकार रहने भन्दै काठमाडौँ महानगरपालिकाले नेपाल सरकारको नीतिअनुरूप विद्यालयलाई व्यावसायिक केन्द्र होइन, शैक्षिक थलोका रूपमा विकास गर्ने निर्णय गरेको हो। त्यसैअनुसार पद्मोदय विद्यालयमा रहेका सटर हटाइएको महानगरले जनाएको छ।
हाल सो क्षेत्रमा विद्यार्थीका लागि खेलमैदान निर्माण गर्न टेन्डर आह्वान भइसकेको छ भने विद्यालयलाई महानगरबाट थप अनुदान समेत उपलब्ध गराइनेछ।
महानगरका अनुसार अन्य सामुदायिक विद्यालयहरूमा पनि पद्मोदयको उदाहरणलाई अघि बढाइनेछ। गुणस्तरीय शिक्षा र अतिरिक्त गतिविधिको अवसरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता महानगरले दोहोर्याएको छ।
विद्यालय केवल विद्यार्थीको भविष्यका लागि मात्र नभई मुलुक, सभ्यता र संस्कृतिको आधार भएकाले यसलाई शुद्ध शैक्षिक केन्द्रका रूपमा अघि बढाउन निरन्तर पहल गरिने महानगरको भनाइ छ।
न्यूजपोलार
१० आश्विन २०८२, शुक्रबार १८:२६
न्यूजपोलार
१० आश्विन २०८२, शुक्रबार १८:२६
१० आश्विन २०८२, शुक्रबार १८:२६










