२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनावमा हुनुहुन्छ ? यसरी घटाउनुहोस्



अ+ अ-

काठमाडौँ । तनावले मन र शरीर दुवैलाई हानि पुर्‍याउने भएकाले यसलाई समयमै नियन्त्रण गर्नु आवश्यक छ । स्वास्थ्य विज्ञहरूका अनुसार निरन्तर तनाव लिनु धेरै रोग लाग्ने जोखिम बढाउने कारण बन्छ। त्यसैले दैनिक जीवनशैलीमै सन्तुलन ल्याएर तनावलाई नियन्त्रण गर्न सकिन्छ ।

विश्राम आवश्यक
काममा अत्यधिक व्यस्त हुँदा विश्राम लिन छुट्ने गरेको पाइन्छ। तर, पर्याप्त विश्राम नलिए तनाव बढ्ने विज्ञहरूको भनाइ छ ।

सामाजिक घुलमिल तनाव घटाउने
साथीभाइसँग भेटघाट गर्नु पनि तनाव कम गर्ने प्रभावकारी उपाय हो। रमाइलो कुराकानी र हाँसोखेलले मानसिक दबाब घटाउने चिकित्सकहरूको सुझाव छ ।

अनावश्यक विवादबाट टाढा
सरोकार नभएका विवादमा मुछिनु तनाव बढाउने कारण बन्ने भएकाले यसबाट टाढा रहनु उपयुक्त हुन्छ ।

विगत बिर्सन प्रयास गर्नुपर्ने
पुराना पीडादायी घटनामा रमाउनुभन्दा वर्तमान र भविष्यप्रति ध्यान केन्द्रित गर्दा तनाव कम हुने बताइन्छ ।

खुलेर हाँस्न सक्नुपर्छ
लाफ्टर थेरापी अर्थात् खुलेर हाँस्नु तनाव घटाउने प्रभावकारी माध्यम मानिन्छ। यसरी हाँस्दा शरीरमा ‘ह्यापी हर्मोन’ को स्राव हुने गर्दछ ।

मद्यपान र क्याफिन कम गर्न सुझाव
तनाव भुल्न मदिराको सहारा लिने धेरै भए पनि यसले समस्या थप्ने चिकित्सकहरूको भनाइ छ । अत्यधिक मदिरा सेवनले स्वास्थ्य र पारिवारिक सम्बन्धमा नकारात्मक असर पुर्‍याउने देखिन्छ। त्यस्तै, कफी वा चियाजस्ता क्याफिनयुक्त पेयको अत्यधिक सेवनले पनि शरीर डिहाइड्रेट हुने र निद्रामा असर पुग्ने हुँदा तनाव झन् बढ्छ ।

भावुकतामा नियन्त्रण
सानासाना विषयमा अति भावुक बन्नु तनाव बढाउने कारक हुने भएकाले यसलाई नियन्त्रण गर्न सुझाव दिइन्छ ।

डाक्टरको सल्लाह लिनुपर्ने अवस्था
तनाव अत्यधिक बढ्दै गएको र निद्रामा असर परेको खण्डमा चिकित्सकसँग परामर्श लिनु आवश्यक हुन्छ । समयमै उपचार नभए डिप्रेसन हुने जोखिम रहन्छ ।

पर्याप्त निद्रा र व्यायामको महत्त्व
स्वस्थ मानसिक अवस्थाका लागि दिनमा कम्तीमा छदेखि आठ घण्टासम्म सुत्नुपर्ने विशेषज्ञको सुझाव छ । त्यस्तै, योग र व्यायामले शरीरमा अक्सिजनको मात्रा बढाइ चिन्ता र तनाव हटाउन सहयोग गर्छ ।